बि.सं. २०८० असोज १३ गते शनिबार ई.सं.२०२३ सेप्टेम्बर ३० नेपाल सम्बत ११४३ ञंलागा पारु, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, असोज कृष्ण प्रतिपदा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, धु्रव योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ५: ५५ बजे, सूर्यास्त साँझ ५: ५१ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २५ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज देखी सोह्र श्राद्घ आरम्भ भएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनेछन् र मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। योजना अधुरै रहने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आकर्षक पहिरन र तारिफयाेग्य कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। कामको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भरपर्दा दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– कामको चापले जीवनशैली व्यस्त रहनेछ, स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। परिस्थितिवश अध्ययनमा पछि परिनेछ। पेसा र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयाेजनका विशेष सामान जुटाउन सकिनेछ। पशुधन र कृषि–व्यवसायतर्फ मनग्य लाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– अध्ययनमा त्यति समय दिन नसकिएला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। खर्च लागे पनि साेखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
तपाईको दिन शुभ रहोस् ।
यस्तो छ आजको मौसम ?
यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने भएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ रहेता पनि यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएको छ । यसले आगामी ३/४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जन-जीवन तथा सडक, हवाई यातायात समेत केही प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।
बाली भित्र्याउने बेला पनि भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।