बि.सं. २०८० असोज १२ गते शुक्रबार ई.सं.२०२३ सेप्टेम्बर २९ नेपाल सम्बत ११४३ ञंलाथ्व पुन्हि, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ शुक्ल पूर्णिमा, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वृद्घि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५: ५५ बजे, सूर्यास्त साँझ ५: ५२ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २५ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन्। तापनि नियमित काम सम्पादन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– अवसर आए पनि बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। तर स्वास्थ्य कमजोर हुनाले काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। काम मुस्किलले सम्पादन हुनेछन्। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पनि पछि परिनेछ। कामकाे उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ। कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। नयाँ काममा जग बसाउने मौका छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। तर, आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
तपाईको दिन शुभ रहोस् ।
यस्तो छ आजको मौसम ?
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।