शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० असोज०५ गते शुक्रबारको राशिफल र मौसम

शुक्रवार , आश्विन ५, २०८०

बि.सं. २०८० असोज ०५ गते शुक्रबार ई.सं.२०२३ सेप्टेम्बर २२ नेपाल सम्बत ११४३ ञंलाथ्व सप्तमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ शुक्ल सप्तमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, आयुष्मान योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: ५२ बजे, सूर्यास्त साँझ ६: ०० बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २३ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज महालक्ष्मी व्रत आरम्भ हुने दिन रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसाेतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। दिउँसाेदेखि व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। पशुपालन तथा कृषि क्षेत्रबाट पनि फाइदा उठाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। रोकिएका काम बन्नाले दिउँसाेदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थद्वारा शत्रुको मनोबल कमजोर बन्नेछ। पेसा–व्यवसायतर्फ मनग्य फाइदा उठाउन सकिने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अरूलाई दिएको वचन पूरा गर्न नसक्दा मन खिन्न रहला। बिहान घरेलु काममा अलमलिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। अध्ययनको नतिजा राम्रो आउनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। काममा शुभचिन्तकहरूको सहयोग जुट्नेछ। आम्दानीका स्रोत बढ्नेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– नयाँ काम र व्यापारमा बिहानको समय अनुकूल रहनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। छोटो समयमै राम्रो प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने समय छ। अरूकाे विवाद मिलाउन अघि नसर्नुहाेला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– अध्ययनमा प्रगति हुनेछ। लेखन कला र अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। दिउँसाेतिर वादविवादमा परिने सम्भावना देखिएकाले कम बाेल्नु राम्राे हुनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दुःख दिनेछन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि केही अवसर प्राप्त हुनेछन् तर काम राेकिन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर दिउँसाेदेखि आर्थिक समस्याले अलि दु:ख पाइनेछ। खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सानाे काममा बढी रकम बाहिरिन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :–पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। दिउँसाेदेखि अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। अवसर आए पनि जिम्मेवारी सम्हाल्न बाधा पर्नेछ। उठ्नुपर्ने रकम पनि अड्किन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– भाग्योन्नतिको समय छ। पहिलेकाे उपलब्धिले उत्साह जगाउनेछ। एउटै कामबाट दोहोरो फाइदा उठाउन सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। विशेष कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चटयाङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरुमा सामान्य बदली र बांकी भू-भागहरुमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भु-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

मधेश र कोशी प्रदेशको तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्टयाङ र तराईमा हावाहुरीको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया