बि.सं. २०८० भदौ ३१ गते आइतबार ई.सं. २०२३ सेप्टेम्बर १७ नेपाल सम्बत ११४३ ञंलाथ्व द्वितीया, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ शुक्ल द्वितीया, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, ब्रम्हा योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ५: ४९ बजे, सूर्यास्त साँझ ६: ०६ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज दर खाने दिन रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– रोकिएका काम पुन: प्रारम्भ हुनेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। मिहिनेतले उपलब्धि दिलाउनेछ। योजना गोप्य राखेर अघि बढ्नुहोला, फाइदा हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका आउला। प्रतीक्षित नतिजा सबल नै रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- देखेकाे विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। अरूकाे आक्षेप सहनुपर्ने हुन सक्छ। घरेलु समस्याले निराश तुल्याउन सक्छ। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ। तत्काल समस्या देखिए पनि पछिलाई फाइदा हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– नयाँ काम प्रारम्भ गर्न सकिनेछ र सोचेजस्तै सफलता पनि मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। धनलाभ हुनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। केही समय लागे पनि लक्ष्यअनुसार काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। तर शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ। मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन्, होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले पनि दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोगले मात्र अप्ठ्यारा चुनौती पार लगाउन सकिनेछ। अध्यात्मभाव जागृत हुनेछ। परोपकार तथा सेवामूलक काममा मन जानेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउनेछ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ।
तपाईको दिन शुभ रहोस् ।
यस्तो छ आजको मौसम ?
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।