बि.सं. २०८० भदौ २५ गते सोमबार ई.सं.२०२३ सेप्टेम्बर ११ नेपाल सम्बत ११४३ गुंलागा द्वादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ कृष्ण द्वादशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, परिधि योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ५: ४७ बजे, सूर्यास्त साँझ ६: १३ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४७ मिनेट देखि ०७ बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। समयमा अल्छी गर्ने प्रवृत्तिले पनि व्यवहारमा समस्या निम्त्याउनेछ। यात्रा र किनमेलमा अधिक खर्च हुनेछ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। अरूकै काममा समय बित्नेछ। तत्काल नयाँ काममा हातहाल्न नसकिएला। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।
तपाईको दिन शुभ रहोस् ।
यस्तो छ आजको मौसम ?
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरुमा साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै लुम्बिनी र सुदूर पश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुंदाँ सोबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।