बि.सं. २०८० भदौ १९ गते मंगलवार ई.सं.२०२३ सेप्टेम्बर ०५ नेपाल सम्बत ११४३ गुंलागा षष्ठी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ कृष्ण षष्ठी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्याघात योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: ४४ बजे, सूर्यास्त साँझ ६: २० बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि १२ बजेर ०२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ। खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। खर्चको जोहो गर्न आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यजनको सहयोगले तत्काललाई अन्योल टर्न सक्छ। रोकिएका काम भने दोहोर्याउनुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ। तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउनेछ र दिन उत्साहवर्द्धक रहनेछ।
तपाईको दिन शुभ रहोस् ।
यस्तो छ आजको मौसम ?
हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, बंगालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू तथा देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ।
यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्टयाङ्गको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।