बि.सं. २०८० भदौ १४ गते बिहिबार ई.सं.२०२३ अगस्त ३१ नेपाल सम्बत ११४३ गुंलाथ्व पुन्हि, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, श्रावण शुक्ल पूर्णिमा, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५: ४२ बजे, सूर्यास्त साँझ ६: २५ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४२ मिनेट देखि ०७ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज जनै पूर्णिमा, रक्षा बन्धन तथा गाई जात्रा रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम गर्न सकिनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा आंशिक लाभ भए पनि केही समस्या बढ्नेछन्। विवादास्पद कामले समस्या निम्त्याउने देखिन्छ। आम्दानी भइरहे पनि फजुल खर्च बढ्न सक्छ। विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– तारिफयाेग्य काम गर्दै लाेकप्रियता हासिल गर्न सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– खर्च लागे पनि दिगाे काम गर्न सकिनेछ। खर्चिलाे याेजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। साँवा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ला। पछिका लागि लगानी गर्ने समय छ।
तपाईको दिन शुभ रहोस् ।
यस्तो छ आजको मौसम ?
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।