बि.सं. २०८० भदौ १० गते आइतबार ई.सं.२०२३ अगस्त २७ नेपाल सम्बत ११४३ गुंलाथ्व एकादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, श्रावण शुक्ल एकादशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: ४० बजे, सूर्यास्त साँझ ६: ३० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५२ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज पुत्रदा एकादशी व्रत रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: पछि पर्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काम पनि बन्नेछन्। सानो प्रयत्नले धेरैको भलाइ हुने काम गर्न सकिनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले समस्या पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, अप्ठ्यारो परिस्थितिसँग जुध्नुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ। कमजोरीका बाबजुद कष्टसाध्य काममा जुट्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। आफ्नैले धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग सम्झौता गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– प्रयत्न गर्दा राम्रै अवसर पाइनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। बेलैमा योजना बनाएर काम प्रारम्भ गर्दा दिगो फाइदा हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि पनि केही खर्च हुन सक्छ। विदेश यात्रा, व्यापार तथा दान-दातव्यमा खर्च बढ्नेछ। आफन्तजन टाढा हुनेछन्। खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला।
तपाईको दिन शुभ रहोस् ।
यस्तो छ आजको मौसम ?
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी प्रदेशको केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।