बि.सं. २०८० भदौ ०८ गते शुक्रबार ई.सं.२०२३ अगस्त २५ नेपाल सम्बत ११४३ गुंलाथ्व नवमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, श्रावण शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वैधृति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ५: ३९ बजे, सूर्यास्त साँझ ६: ३२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १५ मिनेट देखि ०८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– सामान्य समस्या सुल्झाउन अलमल हुनेछ। शरीरमा पनि कमजोरी महसुस हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। अरूका नजरमा व्यस्तता बढे पनि कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। समय लागे पनि केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूकाे सहयाेगले आंशिक लाभ मिल्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। वादविवादमा अघि नसर्नुहोला। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। मनग्य आम्दानी हुनेछ र सुविधाका वस्तु प्राप्त हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- कामकाे चाप बढ्ने समय छ। केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो काम प्रारम्भ हुन सक्छ। पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनकाे साथ–सहयाेग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषिकर्म र व्यावसायिक काममा मनग्य लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउला। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिएला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफ्नाबाट भने टाढिनुपर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनग्गे रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ। सरसापटमा केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। समस्या र चुनौती समाप्त हुनेछन्। नाम र दाम हातलागी हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ।
तपाईको दिन शुभ रहोस् ।
यस्तो छ आजको मौसम ?
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र कोशी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी , लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षयजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।