शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० भदौ ०७ गते बिहिबारको राशिफल र मौसम

बिहिवार , भाद्र ७, २०८०

बि.सं. २०८० भदौ ०७ गते बिहिबार ई.सं.२०२३ अगस्त २४ नेपाल सम्बत ११४३ गुंलाथ्व अष्टमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, श्रावण शुक्ल अष्टमी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, एन्द्र योग, विष्टि-भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६: ३३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३८ मिनेट देखि ०७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गौरा पर्व रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अस्वस्थताका बाबजुद काममा जुट्नैपर्ने बाध्यता रहनेछ। आम्दानी र खर्चकाे विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रन सक्छ। समस्या दर्साउँदा सहयाेगीले साथ दिनेछन् र मुस्किलले काम बन्नेछ। शुभचिन्तकहरूकाे सहयाेगले केही फाइदा उठाउन सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै हुनाले उपभाेग्य सामग्री खरिद गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। प्रयत्न गर्दा रचनात्मक काम प्रारम्भ हुनेछ। यात्राकाे साइत जुर्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउनेछ। नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। परिवारमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– चिताएकाे काम बन्नाले उत्साह जाग्नेछ। नयाँँ काम सुरु हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ। चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आम्दानी र खर्चकाे विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रने सम्भावना छ। किनमेलमा अधिक खर्च गर्दा खल्ती रित्तिन सक्छ। कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-आयआर्जनका स्रोत देखिए पनि साेचेकाे आम्दानी नहुन सक्छ। किनमेलमा अधिक खर्च गर्दा खल्ती रित्तिने सम्भावना छ। दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ। तर थालेकाे काममा लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :–नयाँ तथा लाेकप्रिय काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूवाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ad

प्रतिक्रिया