शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० साउन ३१ गते बुधबारको राशिफल र मौसम

बुधवार , श्रावण ३१, २०८०

बि.सं. २०८० साउन ३१ गते बुधबार ई.सं.२०२३ अगस्त १६ नेपाल सम्बत ११४३ अनालागा आमै, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, अधिक श्रावण कृष्ण औँसी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वरियान योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ५: ३४ बजे, सूर्यास्त साँझ ६: ४१ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। हल्लाको विश्वास गर्दा धोका पाइनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहाेला। पछिका लागि काम गर्न सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर कामको मेसो नमिल्दा पछि परिनेछ। सहयाेगीले साथ दिन छाड्नेछन् र काम बिग्रने भयले सताउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- आफ्नै वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्। बोलीको गलत अर्थ लाग्न सक्छ। सञ्चित रकम खर्च हुनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले धनलाभ हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर सहयोगीहरूकाे भरपर्दा पछि परिएला। आगन्तुकहरूले अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। साँझतिर प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :–आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– सञ्चित धनको उपयोग गर्नुपर्ने हुन सक्छ। तत्काल सोचेको लाभ भने नउठ्न सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा लगानीकाे जाेहाे गर्नुपर्ने समय छ। प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ। पेसा–व्यवसायमा कम फाइदा हुनेछ। साँझतिर धनमाल हराउने तथा आर्थिक हानि हुने समय रहेकाले सतर्कता अपनाउनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाट उपलब्धिमूलक रहनेछ। अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिनेछ। मिहनेतले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर व्यापार बढ्नेछ, आयस्राेत सबल बन्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनेछ। राेकिएका काम बन्नेछन् र पेसा–व्यवसायमा फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :–स्वास्थ्य कमजोर रहनेछ भने काममा साेचेको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि मिहिनेत गर्दा केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। किनमेलमा अधिक खर्च हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ला। गाेप्य सूचना बाहिरिनाले समस्या पर्नेछ, सजग रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :–प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। राेकिएकाे काम सम्पादन हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रु र राेग परास्त हुनेछन्। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा जुट्न नसकिएला। अरूका लागि धन र बुद्धि खर्चनुपर्ला। आवश्यकता पहिचान गर्न नसक्दा काममा पछि परिनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले लक्ष्य प्राप्त हुनेछ।

तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको मौसम ?

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू भागको केहि स्थानहरुमा र बाँकी भू भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत देशको पहाडी भू भागको केहि स्थानहरुमा र बाँकी भू भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया