बि.सं. २०८० साउन २९ गते सोमबार ई.सं.२०२३ अगस्त १४ नेपाल सम्बत ११४३ अनालागा त्रयोदशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, अधिक श्रावण कृष्ण त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, सिद्घि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: ३३ बजे, सूर्यास्त साँझ ६: ४३ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३३ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– भौभैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया राेकिन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– प्रप्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। समाजमा आलाेचित बन्नुपर्ला। शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। चिताएकाे काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। लगानीमा जोखिम बढ्ने समय छ। गोपनीयता बाहिरिन सक्छ। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला। राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ। सहयोगीहरू पछि हट्नेछन् र कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
तपाईको दिन शुभ रहोस् ।
यस्तो छ आजको मौसम ?
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भू भागको नजिक) अवस्थित रहेको छ। यसका साथै बंगालको खाडीबाट आइरहेको जल बास्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।