बि.सं. २०८० साउन १९ गते शुक्रबार ई.सं.२०२३ अगस्त ०४ नेपाल सम्बत ११४३ अनालागा तृतिया, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, अधिक श्रावण कृष्ण तृतिया, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शोभान योग, विष्टि-भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ५: २८ बजे, सूर्यास्त साँझ ६: ५१ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ०८ मिनेट देखि ०८ बजेर ४९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। तर, काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आँटेको काम सम्पादन हुनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम प्रारम्भ होला। दिन उत्साहपूर्ण रहला। अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ। पशुपालन तथा कृषि क्षेत्रमा कम लाभ मिल्नेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। चिताएको काम समयमा सम्पादन नहोला। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा दिएको वचनले आफैँलाई अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :–हिम्मतले काम लिँदा फाइदा हुनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। तर, समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। सहयोगीरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले बल्झिन सक्छ। फजुल खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। तापनि, आंशिक लाभ भने मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :–मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :–समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।
तपाईको दिन शुभ रहोस् ।
यस्तो छ आजको मौसम ?
नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।