बि.सं. २०८० साउन ई.सं.२०२३ जुलाई २५ नेपाल सम्बत ११४३ अनालाथ्व सप्तमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, अधिक श्रावण शुक्ल सप्तमी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्घ योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: २२ बजे, सूर्यास्त साँझ ६: ५७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २८ मिनेट देखि १२ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– साथीभाइसँग रमाइलाे भेट हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिनेछ। नयाँ कामकाे याेजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। यात्राका क्रममा अतिथिका रूपमा सत्कार पाइनेछ। दिन रमाइलाे रहनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– प्रतिस्पर्धामा उत्रनुपर्ने समय छ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। प्रतिस्पर्धी बढ्नाले काममा चुनौती थपिनेछ। बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। राेकिएकाे कामले गति लिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ। बेसुरमा दिइएको वचनले आफैंलाई अप्ठ्यारो पर्न सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। आफन्तकाे भरपर्दा काम बिग्रन सक्छ, दिगो योजनामा सहयाेगी चयन गर्न राम्ररी साेचविचार गर्नुहाेला। नयाँ काम थाल्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। बोलीको समेत गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यमा पेटकाे समस्याले सताउन सक्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम भने फिर्ता हुनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम थाल्न समयले साथ दिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपिरिचित व्यक्तिले समेत साथ दिनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरका लागि आफन्त र परिवारबाट टाढिनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– मिहिनेत परे पनि कामकाे जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वत: पछि हट्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना पनि राेकिन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।
तपाईको दिन शुभ रहोस् ।
२०८० साउन ९ गते मंगलवारको मौसम
सम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो : – देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती :– देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।