शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० असार २७ गते बुधबारको राशिफल र मौसम

बुधवार , आषाढ २७, २०८०

बि.सं. २०८० असार २७ गते बुधबार ई.सं.२०२३ जुलाई १२ नेपाल सम्बत ११४३ दिल्लागा दशमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण दशमी ,चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: १६ बजे, सूर्यास्त साँझ ७: ०२ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १६ मिनेट देखि ०६ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर समेत दिलाउनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– तारिफयाेग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। गरेका काम सम्पादन हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। तर बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।

तपाईको दिन शुभ रहोस् ।

२०८० असार २७ गते बुधबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ। हाल कोशी तथा मधेश प्रदेशां सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। कोशी तथा मधेश प्रदेशका ‍थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो : – देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती :– देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया