शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० असार २२ गते शुक्रबारको राशिफल र मौसम

शुक्रवार , आषाढ २२, २०८०

आजको राशिफल बि.सं. २०८० असार २२ गते शुक्रबार ई.सं.२०२३ जुलाई ०७ नेपाल सम्बत ११४३ दिल्लागा पञ्चमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण चतुर्थी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, आयुष्मान योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ५ः१३ बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५७ मिनेट देखि ०८ बजेर ४१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्। सानातिना काममै अल्झनुपर्दा उद्देश्य प्राप्त गर्न मुस्किल पर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– फाइदा कम भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो कामको जग बसाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अस्वस्थ शरीर लिएर पनि काममा जुट्नुपर्ने समय छ। अवसरका लागि केही त्याग गर्नुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट प्रतिस्पर्धीहरूले लाभ उठाउने कोसिस गर्नेछन्। स्वास्थ्य पनि कमजोर रहनेछ। शरीरमा आलस्य बढ्नेछ र समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मालमत्ता हराउने तथा बिग्रने र फजुल खर्च बढ्ने सम्भावना छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। आफन्तजनले पनि उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका आफन्त र साथीभाइ नजिकिनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– अवसर प्राप्त भए पनि बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। गोप्य सूचना बाहिरिन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

तपाईको दिन शुभ रहोस् ।

२०८० असार २२ गते शुक्रबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो : – देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

राती :– देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया