सिन्धुली – भगवती बाल क्लब तथा कक्षा १०मा अध्ययनरत छात्रछात्राहरुले संयुक्त रुपमा गुरुहरुको सम्मान गरेका छन् । प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ । प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको हो । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
गुरु ब्रह्मा गुरुविष्णु गुरुर्देवो महेश्वरः ।
गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । यसरी वैदिक कालदेखि नै जीवन्त रहँदै आएको गुरुचेलाको पवित्र संस्कृतिलाई जोगाउने पवित्र उद्धेश्यका साथ यस वर्षको गुरु पूर्णिमा भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा भव्यताका साथ मनाइएको छ ।

भगवती बाल क्लबका अध्यक्ष सरिष्मा अधिकारी, विद्यालयका छात्र प्रमुख सुप्रिम मोक्तान, छात्रा प्रमुख नुना गजुरेल र पुर्व छात्रा प्रमुख तथा वडा नं ६ बाल क्लब उपाध्यक्ष छात्रा अनिशा मोक्तानको सक्रियतामा विद्यालयमा सोमवार एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक, वित्त निर्देशक एवम् सम्पुर्ण अध्यापन गराउनुहुने गुरुजनलाई अविर, खादा र उपहारसहित सम्मान गरिएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक कृष्ण कुमार उप्रेतीले आजको समयमा संस्कारयुक्त शिक्षाको अभाव खट्किँदै गएको र विद्यार्थी भाइबहिनीहरुले स्वस्पूmर्तरुपमा आयोजना गरेको यस कार्यक्रमले आफु प्रफुल्लित भएको बताउँदै संस्कारयुक्त शिक्षाबिना सभ्य र समृद्ध समाजको विकास हुन कदापि नसक्ने धारणा राख्नुभयो ।
भगवती मा.वि.ले आफ्नो स्थापनाकालदेखि नै संस्कारयुक्त शिक्षामा जोड दिएको र आफु कति असल गुरु बन्न सकेँ त्यसको प्रवाह नगरी अनवरत रुपमा संस्कार र शिक्षा जोडेर सिक्ने सिकाउने कार्यमा लागेको र सट्टामा कुनै लालच वा आशा नराखेको विचार व्यक्त गर्दै आजको कार्यक्रमले गुरु र शिष्यको सदियौँदेखिको संस्कारयुक्त प्रचलनलाई जीवन्त राख्न थप टेवा पुगेको छ भन्ने कुरामा जोड दिनुभयो ।
साथै गुरु पूर्णिमाकै अवसरमा विद्यालयले सम्पुर्ण विद्यार्थीहरुलाई मिठाइ वितरण गरेर उत्सव मनाएको थियो ।