शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० असार १२ गते मंगलवारको राशिफल र मौसम

मंगलवार , आषाढ १२, २०८०

बि.सं. २०८० असार १२ गते मंगलवार ई.सं.२०२३ जुन २७ नेपाल सम्बत ११४३ दिल्लाथ्व नवमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, असार शुक्ल नवमी चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वरियान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ५: १० बजे, सूर्यास्त साँझ ७: ०३ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २२ मिनेट देखि १२ बजेर ०६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ । प्रेमी वा प्रेमिकाको अहङ्कार, घमण्ड र जिद्दीपना बढ्नेछ । आफ्ना कुरा राख्न खोज्दा विवादको सम्भावना भएकाले आज नबोलेकै जाती हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। तर मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– खर्च लागे पनि लगानी बढाउने अवसर आउला। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। उपलब्धि प्राप्त गर्न काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउनेछ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ।

तपाईको दिन शुभ रहोस् ।

२०८० असार १२ गते मंगलवारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार

दिउँसो : – देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती :– देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया