बि.सं. २०८० जेठ १५ गते सोमबार ई.सं.२०२३ मे २९ नेपाल सम्बत ११४३ तछलाथ्व नवमी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल नवमी , चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, वज्र योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ५: ०९ बजे, सूर्यास्त साँझ ६: ५३ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ०९ मिनेट देखि ०६ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गणतन्त्र दिवस रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम रोकिएला। उपलब्धिविहीन काममा अल्झनुपर्दा योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। सफलता भने न्यून मात्र हातलागी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– अरूका काममा धेरै समय खर्चनुपर्ला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बोली-व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ।
तपाईको दिन शुभ रहोस् ।
२०८० जेठ १४ गते आइतबारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया साफा रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
सोमबार दिउँसो : – कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार राती :– सुदूरपश्चिम प्रदेशका साथै कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।