शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज नवरात्रको सातौँ दिन, का लरात्री देवीको पूजा गरिँदै

शुक्रवार , कार्तिक ७, २०७७

काठमाडौं,७ कार्तिक-। सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई का लरात्री भनिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन् उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ ।

घाँटीमा बिजुली सरह चम्कीने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । देवी कालरात्री दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ ।

यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि विजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । माता कालरात्रीको आराधनाको समयमा भक्तलाई आफ्नो मनको भानु चक्र अर्थात् शिर मध्य स्थित गर्नुपर्छ ।

यो आराधानाको फलस्वरुप भानु चक्रको शक्ति जागृत भएर आउछ । माता कालरात्रीको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता छ । जीवनका हर समस्याको पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्री आफ्ना भक्तलाई हर परिस्थितीमा विजय दिलाउछिन् भन्ने विश्वास छ ।

सप्तमीको दिन माता कालरात्रीलाई गुडको वस्तुको भोग दिइन्छ । त्यसै गरि गरिबलाई दान पनि गरिन्छ । यसो गर्नाले दरिद्रता भाग्दछ । कृत्यतत्वार्णमा नौ प्रकारका अर्थात फूलपातीको उल्लेख गरिएकोछ । रम्भा अर्थात केरा, कच्ची अर्थात कचूर, हलेदो, जयन्ती, बिल्व अर्थात बेल,दाडिम अर्थात अनार, अशोक अर्थात अशोकको बृक्ष, मानबृक्ष अर्थात अमलताश अथवा मानेकर्कलो, धान्य अर्थात धान यी नौ पत्रिका मानिएका छन् ।

यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ । यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स–साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

महासप्तमीका दिन विद्याकी अधिष्ठात्री महासरस्वतीको विशेष पूजा गरिन्छ। यस्तै भद्रकालीको आराधना पनि गरिन्छ। विभिन्न शक्तिपीठहरूमा पशुबलिसहितको पूजा पनि चल्छ।

शक्तिपीठ तथा जमरा राखिएका दशैँघरमा महासप्तमीको बिहान वा दिउँसोको शुभसाइतमा नवपत्रिका भित्र्याइन्छ। यसलाई बोलीचालीमा फूलपाती भनिन्छ।

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिका पातलाई नवपत्रिका भनिन्छ। यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराउने र प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गर्ने विधान छ।

यो अवसरमा काठमाडौँको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याइन्छ।

प्रतिक्रिया