शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आफू खुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

मंगलवार , आषाढ ९, २०७७

 

काठमाडौं ,९ असार -निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न,नगराउन निर्देश गरेको छ।

निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आज सार्वजनिक आग्रह गरेका थिए। शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान विषम स्थितिमा निजी लगानीका विद्यालयले भोग्नुपरेका समस्याका बारेमा विधिसम्मत निरुपणका लागि सम्बन्धित पक्षसँग परामर्श जारी रहेकाले हाल कुनै शुल्क लिन नमिल्ने स्पष्ट गरेको हो।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति निकालेर शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराउनु भएको हो । शर्माद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार सेवा र कार्यबाहेकका विद्यालय सम्बद्ध गतिविधि स्थगितको आदेश कायम रहेको अवस्थामा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ को वि परीत हुने क्रियाकलाप सञ्चालन नगर्न, नगराउन सम्बन्धित सबैमा जानकारी गराइएको छ।

प्याब्सन र एनप्याब्सनले आइतबार गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अभिभावकहरुमा अपिल गरेका थिए । निजी विद्यालयले शुल्क उठाउन गरेको सर्कुलरमा विद्यार्थी र अभिभावकले असन्तुष्टि जनाएका थिए ।

असार १ गतेदेखि सरकारले वैकल्पिक विधिका माध्यमबाट सिकाई क्रियाकलापका गतिवधि सञ्चालन गरेको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशका २०७७ विपरित हुने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले जेठ १८ गते निर्देशिका जारी गरेको थियो । प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले गरेको अपिलप्रति मन्त्रालयको ध्यानार्कषण भएको उल्लेख छ । लकडाउनका कारण चैतदेखिनै शिक्षण संस्था बन्द रहेका छन् ।

प्रतिक्रिया