सिन्धुली, १९ फाल्गुन – माझी समुदायको महान पर्व ‘कोशी पुजा’को अवसरमा सिन्धुलीको मरिण गाउपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सोमवार एक सूचना निकालेर गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७५ को नियम ४ को उपनियम (१) बमोजिम माझी समुदायको महान पर्व ‘कोशी पुजा’को अवसरमा फाल्गुन २० गते मंगलवार (भोली) सार्वजनिक विदा दिएको जानकारी गराएको हो ।
गाउँपालिकाको सोमवार बसेको बैठकले ‘कोशी पुजा’को अवसरमा माझी समुदायलाई स्थानिय विदा दिने निर्णय गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद पोख्रेलले बताउनुभयो ।

भोली माझी समुदायका कर्मचारी, विद्यार्थी लगाएतलाई मात्र विदा दिइएको र गाउपालिकाको कार्यालय, वडा कार्यालय, विद्यालय, संघ÷संस्था भने खुल्ला रहने प्रमुख प्रशासकिय अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।
माझी जातिले भोली विशेष धुमधामका साथ ‘कोशी पुजा’ गर्दैछन् । माझी जातिले नदी (घाट)मा गएर डुंगा र नदीको पूजा गर्ने पर्वलाई कोशी वा घाटपूजा समेत भनिन्छ । सिन्धुलीका विभिन्न ठाउँमा रहेका माझी समुदायले भोली नदी, खोलामा परिवारका सवै सदस्यहरु भेला भएर नदी तथा खोला र स्थानिय देवी देवताको पुजा गर्ने माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।
मरिण गाउपालिकाका माझी समुदायले भोली मरिण खोलामा परिवारका सवै सदस्यहरु भेला भएर पुर्जा गर्ने र एक आपसमा शुभकामना आदान प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । कोशी पुजाको अवसरमा मरिण गाउँपालिकाले सबै माझी समुदायलाई शुभकामना दिएको छ ।