बझाङमा अटो भिरमा खस्दा तीन जनाको मृत्यु

सोमवार , कार्तिक ३०, २०८३

बझाङ,३० कात्तिक – बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको एक बालक बेपत्ता छन् ।केन्द्रयि प्रहरी समाचार कक्षले जनाएको छ । भित्री कच्ची सडकखण्डमा गुडिरहेको अटो अनियन्त्रित भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको हो ।

प्रहरीका अनुसार सोमवार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेको बुझिएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट घटनास्थलमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर खोज तथा उद्धार कार्य सुरु गरेको थियो ।

प्रहरी टोलीले खोजी गर्ने क्रममा घटनास्थलको बीच भिरमा तीन जनाको शव फेला पारेको जनाएको छ । मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० निवासी अन्दाजी ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र पाँचदेखि छ वर्षीया डल्ली महरा रहेका छन् ।अटोमा सवार बेपत्ताबालकको खोजी भइरहेको छ । 

दुर्घटनामा परेको अटो तथा त्यसमा सवार अन्य व्यक्तिहरूको अवस्था यकिन हुन बाँकी रहेको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया