रास्वपाभित्र उम्मेदवार बन्ने होडमा नयाँ नियम! आवेदन दिँदैमा टिकट पक्का नहुने, सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गर्न पनि नपाइने! पार्टीको सातबुँदे निर्देशन
सिन्धुली,२१ कात्तिक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र हुने निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन सातबुँदे निर्देशन जारी गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको निर्देशनमा व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब तथा धम्कीको प्रयोग गरेर निर्वाचन प्रक्रिया प्रभावित पार्न नपाइने स्पष्ट पारेको छ ।
निर्देशनअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न आवेदन दिँदैमा टिकट सुनिश्चित हुने छैन। उम्मेदवारको योग्यता परीक्षण, मूल्यांकन, नेतृत्व विकास कार्यक्रम र प्रारम्भिक निर्वाचनलगायतका प्रक्रिया पूरा भएपछि मात्रै पार्टीले अन्तिम उम्मेदवारको निर्णय गर्नेछ ।
त्यस्तै, पार्टीको आधिकारिक निर्णय र कार्यतालिका सार्वजनिक नहुँदै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आफूलाई उम्मेदवार घोषणा गर्ने तथा प्रचारप्रसार गर्ने कार्यलाई पनि निषेध गरिएको छ ।
पार्टीको निर्देशन उल्लंघन गर्ने व्यक्तिमाथि उल्लंघनको प्रकृतिअनुसार उम्मेदवारी रद्द गर्ने, जिम्मेवारीबाट हटाउनेदेखि पार्टी सदस्यतासम्बन्धी कारबाहीसमेत हुन सक्ने उल्लेख छ ।
यस निर्देशनले रास्वपाभित्र उम्मेदवार छनोटलाई व्यक्तिगत प्रभावभन्दा संस्थागत विधिमा आधारित बनाउने प्रयास गरेको देखिन्छ ।
तर राजनीतिक दलका लागि चुनौती निर्देशन जारी गर्नु मात्रै होइन, त्यसलाई व्यवहारमा समान रूपमा लागू गर्नु पनि हो ।
किनकि लोकतन्त्रको सुन्दरता चुनाव गराउनुमा मात्रै होइन, चुनावअघि अवसरको ढोका सबैका लागि समान रूपमा खुला राख्नुमा पनि हुन्छ ।