सिन्धुली,१२ कात्तिक — सिन्धुलीको सुनकोशी गाउँपालिका–१, आपघारीमा क्रसर उद्योगले खनेको पानी भरिएको खाल्डोमा परेर आमाछोरीको मृत्यु भएको घटनाले उद्योग सञ्चालनमा अपनाउनुपर्ने सुरक्षा सावधानी र प्रहरी प्रशासनको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । दुई जनाको ज्यान जाने गरी भएको घटनामा सम्भावित लापरबाहीको निष्पक्ष छानबिन हुन नसकेको, पीडित पक्षको जाहेरी नलिइएको र अनुसन्धानको सट्टा मिलापत्रमा जोड दिइएको आरोप सार्वजनिक भएपछि घटनाको न्यायिक निरूपणबारे चासो बढेको छ ।
स्थानीयवासीले वर्षौंदेखि प्रयोग गर्दै आएको कुवाको छेउमै क्रसर उद्योगले पानी तान्ने प्रयोजनका लागि ठूलो खाल्डो खनेको थियो । कुवाबाट करिब १० मिटरको दूरीमा रहेको उक्त खाल्डो वरिपरि सुरक्षा घेरा लगाइएको थिएन । खाल्डोबाट निस्किएको गेग्रान व्यवस्थित रूपमा थुपारेर जोखिम न्यूनीकरण गर्ने कामसमेत गरिएको थिएन । सम्भावित दुर्घटनाबारे सचेत गराउने कुनै चेतावनीमूलक सूचना पाटी पनि राखिएको थिएन ।
यही असुरक्षित संरचनामा पानी भरिएर रहेको खाल्डोमा छोरी चिप्लिएर खसेपछि उनलाई बचाउने प्रयासमा आमा पनि खाल्डोमा परेकी थिइन् । अन्ततः दुवैको मृत्यु भयो। घटनाको यो विवरणले दुर्घटना रोक्न सकिने पर्याप्त सावधानी अपनाइएको थियो कि थिएन भन्ने प्रश्न स्वाभाविक रूपमा उठाउँछ । सार्वजनिक प्रयोगमा रहेको पानीको स्रोत नजिकै जोखिमपूर्ण खाल्डो खनेर असुरक्षित छाडिएको हो भने त्यसको जिम्मेवारी र सम्भावित लापरबाहीको वस्तुनिष्ठ परीक्षण आवश्यक हुन्छ । घटनालाई सामान्य भवितव्यका रूपमा मात्र व्याख्या गरेर सम्भावित जिम्मेवारीबाट सम्बन्धित पक्षलाई उन्मुक्ति दिन मिल्दैन ।
घटनापछि निष्पक्ष छानबिनका लागि समिति गठन गरिएको छैन । पीडित परिवारको जाहेरीसमेत प्रहरीले नलिएको आरोप छ । परिवारको आग्रहअनुसार क्रसर सञ्चालकलाई सहभागी गराएर छलफल गराउने प्रयाससमेत नभएको बताइएको छ । बरु प्रहरीको नियमित अनुसन्धान प्रक्रियाअन्तर्गत घटनाको तथ्य पत्ता लगाउनुको सट्टा मिलापत्रको व्यवस्था गरिएको दाबी गरिएको छ । उक्त मिलापत्रमा प्रशासनको औपचारिक सहभागिता नरहेको विवरणसमेत सार्वजनिक भएको छ ।
दुई नागरिकको ज्यान गएको घटनामा मृत्युको कारण, खाल्डो निर्माण गर्दा अपनाइएका सुरक्षा उपाय र सम्भावित लापरबाहीको जिम्मेवारीबारे प्रमाणका आधारमा निष्कर्षमा पुग्नु राज्यका सम्बन्धित निकायको दायित्व हो। त्यसका लागि घटनास्थलको अवस्था, स्थानीयको भनाइ र उपलब्ध प्रमाण संकलन गरी अनुसन्धान अघि बढाउनुपर्ने देखिन्छ । यस्ता घटनाको निष्पक्ष छानबिनले पीडित परिवारलाई न्याय दिलाउनुका साथै भविष्यमा यस्तै दुर्घटना दोहोरिन नदिन पनि सहयोग पु¥याउँछ ।
घटनासम्बन्धी विवरण संकलनका क्रममा प्रहरीले पीडित पक्षबाट क्रसर उद्योगको नामसमेत सुन्न नचाहेको आरोपसमेत उठेको छ । यो आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी रहे पनि यसले प्रहरीको निष्पक्षता र कार्यसम्पादनबारे जवाफ माग्ने ठाउँ दिएको छ । क्रसर सञ्चालकप्रतिको सम्भावित नरम व्यवहार, जाहेरी नलिइएको विषय र अनुसन्धान समितिको अभावबारे प्रहरीले स्पष्ट पार्न आवश्यक छ ।
आमाछोरीको मृत्युजस्तो गम्भीर घटनामा प्रहरी प्रशासनको भूमिका शंकामुक्त, पारदर्शी र कानुनी प्रक्रियाअनुरूप हुनुपर्छ । उद्योगको प्रभाव वा अन्य कुनै दबाबका कारण अनुसन्धान प्रभावित भएको हो कि होइन भन्ने प्रश्नको निरूपण पनि प्रमाण र तथ्यकै आधारमा हुनुपर्छ । पीडित परिवारले न्याय पाउने सुनिश्चितता गर्नु र घटनाको वास्तविक कारण सार्वजनिक गर्नु सम्बन्धित निकायको प्राथमिक दायित्व हो। अन्यथा, क्रसर उद्योगको नाम जोडिएको घटनामा प्रहरी प्रशासनको निष्पक्षतामाथि उठेको प्रश्न अनुत्तरित नै रहनेछ । स्रोत : सिन्धुली मंसिर चार ।