आज कृष्ण अष्टमी। भगवान् श्रीकृष्णको जन्मदिनका रूपमा मनाइने यो पर्व नेपाली समाजमा श्रद्धा, भक्ति र उल्लासका साथ मनाइन्छ । मन्दिरहरूमा भक्तजनको भीड लाग्छ, भजन–कीर्तन गुन्जिन्छन् र मध्यरातमा श्रीकृष्ण जन्मको उत्सव मनाइन्छ । तर कृष्ण अष्टमी केवल पूजा, व्रत र उत्सवको दिन मात्र होइन; यो हाम्रो जीवन र समाजलाई सही बाटोमा डो¥याउने गहिरो सन्देश बोकेको पर्व पनि हो ।
श्रीकृष्णले अन्याय, अत्याचार र अहंकारका विरुद्ध सत्य र धर्मको पक्षमा उभिन सिकाउनुभयो। उहाँको जीवनले कठिन परिस्थितिमा पनि धैर्य, विवेक र साहस नछोड्न प्रेरणा दिन्छ । महाभारतको युद्धभूमिमा अर्जुनलाई दिएको गीता उपदेश आज पनि मानव जीवनको मार्गदर्शक बनेको छ । कर्म गर, फलको चिन्ता नगर भन्ने सन्देशले प्रत्येक व्यक्तिलाई आफ्नो कर्तव्यप्रति इमानदार बन्न आग्रह गर्छ ।
आज समाजमा लोभ, हिंसा, असहिष्णुता, भ्रष्टाचार र विभाजन बढ्दै गएको देखिन्छ । यस्तो अवस्थामा कृष्णका शिक्षाहरू अझ बढी सान्दर्भिक बनेका छन्। धर्म भन्नाले केवल धार्मिक अनुष्ठान होइन, सत्य बोल्नु, कमजोरलाई सहयोग गर्नु, अन्यायको विरोध गर्नु र सबैप्रति माया तथा सम्मान राख्नु हो । कृष्णको ममता र करुणालाई सम्झँदै हामीले परिवार, समाज र राष्ट्रप्रति आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।
कृष्ण अष्टमीले बालबालिकादेखि वृद्धसम्म सबैमा प्रेम र सद्भाव जगाओस् । जात, धर्म, भाषा र विचारका नाममा फैलिएका दूरीहरू घटून् । हरेक घरमा शान्ति, हरेक मनमा करुणा र हरेक कर्ममा निष्ठा पलाओस् । श्रीकृष्णको बाँसुरीले जस्तै हाम्रो जीवनमा पनि प्रेम, मेलमिलाप र आशाको मधुर धुन बजिरहोस् । यही नै आजको कृष्ण अष्टमीको सच्चा मर्म र सबैप्रतिको हार्दिक शुभकामना ।