• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

कोदोको मुल्य बढ्यो

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

राधिका बुढाथोकी

सिन्धुली – सिन्धुलीमा कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्न थालेको छ । स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै एक सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको हो ।

गोलञ्जोर गाँउपालिका, सुनकोसी गाँउपालिका, तीनपाटन गाँउपालिका, घ्यालेख गाँउपालिका, हरिहरपुरगढी गाउँपालिका लगायतका माथिल्लो भुभागमा फल्ने कोदोले बजार पाउन थालेको किसानले बताएका छन् । कोदोको रक्सी धेरैको रोजाइमा पर्न थालेपछि ग्रामीण क्षेत्रको कोदोले भाउ पाउन थालेको किसान हरिहरपुरगढी गाउँपालिकाका स्थानीय चेतराम राईले बताए । धान ६० रुपैया पाथीमा कारोबार हुँदा कोदोको एक सय रुपैया पाथिमा सहजै कारोबार भएको उनको भनाई छ । उनले दश वर्ष अगाडीसम्म कोदोको भाउ थिएन । होटलमा घरेलु मदिराको कारोबार बढेसँगै कोदोको मुल्य बढेको बताए ।

गोलञ्जोर गाँउपालिका–४, तिनकन्याका अर्का स्थानीय प्रेम ठकुरीले कोदोको मुल्य बढ्दा किसानलाई फाइदा पुगेको बताए । उनका अनुसार कोदो चामलकै भाउमा बिक्रि हुन्छ, एक सयदेखि एकसय पचास रुपैयाँ पाथिले घरमै आएर कोदो किन्नेको लर्कोनै लाग्ने गरेको उनले बताए । कोदोको रक्सीको माग उच्च हुदै गएपछि विगत केहि वर्ष अगाडी सम्म मान्छेले खाइनसक्दा गाइबस्तुलाई खुवाउनुपर्ने कोदोले हाल मुल्य पाउन थालेको छ ।