• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

झापामा अज्ञात समूहद्धारा बम विष्फोट

सिन्धुली साैगात संवाददाता

झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ ।

विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२स्३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो ।

कार्यालयभित्र समेत अन्य शङ्कास्पद वस्तु हुनसक्ने भन्दै चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली बोलाएको बताइएको छ ।

यता बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ ।

सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले बताए ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्लव)का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ तर घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।

यसअघि विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत बम विष्फोट भएको थियो । रासस

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६