• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

हामी माओवादी थियौं, अहिले नि ?

बिनोद दहाल

लेखक :बिनोद दहाल

सहिद वासु र भिमसेन पोखरेललाई संझिंदै गर्दा हामी आफू संम्झिन लायकका छौं कि छैनौं भनेर एकक्षण गमखाने हो कि ! सहिदहरुलाई सलाम !

हेर्दाहेर्दै जनयुद्धका एकहुल मानिसहरु अर्को ध्रुवमा पुगिसकेका छन् । कोही निर्वगीय धरतलमा टेकेर अडिने दुस्प्रयास गरिरहेका छन् । कोही दिग्भ्रमित भएर देखेका बिचित्रका बर्णन सुनाइरहेका छन् । कोही रुपमा संशोधनवादी– कम्युनिस्ट नामको पार्टीमा नै आबद्ध भएका नवप्रतिक्रियावादी, समुहमा आबद्ध छन् । अर्काखाले पनि छन् जो एक नेतृत्वसहित नै प्रतिक्रियावादी क्षेत्रीय सोच चिन्तनको अवस्थाको राजनीतिक समुह (फोरम)मा आबद्ध भएका छन् ।

कोही चाहिं चल्तीको बाटोमा हिंडन पनि एक्लिने डरमा छन् भने कोही बेचल्तीको बाटोहिंडने भन्दै लाल क्षितिजको अर्को दिशातिर हिंडिरहेका छन् । आएको बाटो र लाल भञ्ज्याङको समानान्तर रेखामा कहाँनेर बाङ्गो आकृति बनेको छ भनेर बाटो सोझ्याउने समस्यामा छन् कोही । जेहोस, पुराना माओवादी क्रान्तिकारिहरु समस्यामा छन् ।

हो, अहिले हामी अर्को अवस्थामा छौं, बिभाजित अवस्थामा छौं र एकअर्काको बिरुद्ध खडासमेत हुन पुगेकाछौं । प्रतित्रियावादी सत्तामा जाने र नजानेमा बाँडिएका मात्रै छैनौं, कोहि चाहिं दर्दनाक ढंगले मार्ने र कोही मारिनेसम्म भएका छौं । हाम्रा व्यवहार हेरेर दुस्मन वर्ग हाँसिमजाक गरिरहेका छन् । केही क्रान्तिकारि बिशेष दिनहरु आउँदा होसहवास गुमाउने दुष्टहरुले यतिखेर हामी बिरुद्ध गम्भीर खालका षड्यन्त्रका योजनाहरु पनि बनाइरहेका छन् । हामी चाहिं दुस्मनहरु चुपचाप छन् भन्ने भ्रममा परेर कोही प्रतिक्रियावादीका रछ्यान खोसलेर त्यहींको जुठोपुरोमा रमाइरहेका छौं भने कोही जनयुद्धको बाटो हैन अर्कै र नयाँ जनवाद हैन अर्कै क्रान्तिका कुरा गरिरहेको अवस्थामा पनि प्रतिबन्धित र जनयुद्धको झैं कठोर अवस्थामा जीवन गुजार्न वाध्य भएका छौं । कोही चाहिं माओवादी आन्दोलनको पुनर्गठन गर्ने भनेर बिसर्जनवादी भैसकेकाहरुसँग छुट्टिएर आइको अवस्थामा सचेतपहल लिन चुकेकाले अहिले दुर्दशा भोगिरहेका छौं, केवल बिगतको गौरवशाली बिरासतको नाममा परिचित हुने दयनीय अवस्थामा गुज्रिरहेका छौं ।

अहिले हामी कोही क्रान्तिकारि नै छौं– बलपुर्वक सत्ता कायापटको नीति छोडेकै छैनौं । हो, हामी पुरानै ठाउँ अर्थात जड सोच र चिन्तनमा कोही छैनौं र यो पनि सहि हो कि माओवादी सिद्धान्तलाई आत्मसात गरेर नयाँ जनवादको न्युनतम् कार्यक्रममा रहेर त्यसको वैज्ञानिकतालाई अपनाउने माओवादी पनि पार्टीको रुपमा कोही छैनौं– जुन हुनुको बिकल्प हामीसित छँदा पनि छैन । यो निर्बिकल्प बाटोमा आफैंबाट जन्मिएको अवशरवादी कित्ताबाट भयंकर अबरोध खडागरिएका छन् । प्रतिक्रियावादी वर्गसँग लड्दा ती अवशरवादीहरु पनि घुन झैं पिसिने कुरा निश्चित भैसकेको छ ।

यद्यपी अहिले हामी पार्टीको रुपमा माओवादी छैनौं, फेरि हामी मात्र माओवादी भएर पुग्दैन, जनता पनि हुनुपर्छ । जनता कसरि माओवादीमा आबद्ध हुने ? जनतानैं माओवादी हुनु आवश्यक छ । हामी नै जनता, हामी नै माओवादी हुनु आवश्यक छ । हामी माओवादी नभै जनता माओवादी हुने कुरै हुन्न । अहिले कोही जनता पनि माओवादी बनिरहेका छैनन, कारण के छ भने यहाँ माओवादी देखिएका छैनन् । प्रष्ट छ, हामी माओवादी हैनौं, जाँच्नका लागि के कुरा काफि छ भने हामीबाट जनताले माओवादी हुन सिकेका छैनन् । पहिले हामीबाट अर्थात हाम्रो व्यवहारबाट सिकेर माओवादी हुन गर्थे, अहिले त्यस्तो छैन किनकि हाम्रा बोली र व्यवहारहरु माओवादी छैनन् । यसको अर्थ अहिले हामी माओवादी हैनौं वा छैनौं ।

उसोभए माओवादी हैनौं भने हामी को हौं त ? स्पष्ट छ— हामी केहीले माओवादी हुन कोशिस गरेका मात्र छौं, माओवादी भैसकेका छैनौं । यत्तिले हामीलाई पुग्दैन, समयले हामीलाई माओवादी नै हुनुपर्ने दायित्व सुम्पिएको छ । सवाल के छ भने, हामीले के बुझ्यौं भने र के गर्‍यौं भने माओवादी हुन सक्छौं भनेर हामी गम्भीर हुनु आवश्यक छ । अहिलेको खाँचो के हो भने माओवादको सारभुत कुराहरुलाई अपनाउने अर्थात आत्मसात गर्ने कुरा नै अहिलेका सचेत क्रान्तिकारिको आवश्यकता हो । विडम्बना समाजमा यस्तो स्थिति कहिं कतै देखिएको छैन ।

हामीले देखि रहेकाछौं, कोहीले केवल शक्ति आर्जन गर्नको लागि जानयुद्धको नेतृत्व गरिहेका थिए । त्यस्ता नेतृत्वले जसरि वा जस्लाई भिœयाएर भएपनि बहुमतमा रहने नीयत राखेका थिए । यो नीयत वर्गप्रति इमानदार भएर व्यक्त भएको थिएन । पार्टीमा सर्वहारा अधिनायकत्व लागु गर्ने नियतले उनीहरुले यो कार्य गरिरहेका थिएनन्, सबैलाई आफ्नो काबुमा राख्ने नियतले यो कार्य हुँदैथ्यो भन्ने प्रष्ट छ ।

अर्को एउटा नीयतको मान्छे पनि साथै थिए जसलाई वर्गको कुनै मतलब नै थिएन, थियो त केबल बाह्य शक्ति केन्द्रको सहयोग जुटाएर पार्टी नेतृत्व हुँदै राष्ट्रकै नेतृत्व लिने । आखिर पार्टीका यी दुबै प्रबृत्ति फोरम र एमालेमा पुगे अर्थात बिसर्जनवादमा पुगेर सकिए । उनीहरुको वर्गप्रतिको घात अहिले हत्या र दमनमा पुगेर अन्त्य भएको छ । प्रतिक्रियावादी सत्ता सम्हाल्न पुगेका अवशरवादी दलालहरुले आखिर भोजपुर र सर्ला्हिमा जनघन्य हत्या मात्र गरेका छैनन् क्रान्तिकारि गतिबिधि नियन्त्रण गर्ने कसम खाँदै सैयौं क्रान्तिकारिलाई जेलमा राखेर वर्ग दुस्मनका जुठोपुरोमा रमाइरहेका छन् ।

अर्को एउटा प्रबृत्ति छ जुन पहलकदमी गुमाएर वर्गलाई मिहिपाराले धोका दिने । सर्वहारा वर्गलाई सँधै संसद वा प्रतिक्रियावादीको राजनीतिक प्रक्रियालाई उपयोग गराउने नाममा अल्मल्याउने र घात गर्ने । कहिले बिशेष परिस्थितिका नाममा त कहिले बहिस्कार अनि उपयोगका नाममा अलमल्याउने कार्यले अन्ततः वर्गलाई घात भैरहेको छ । पार्टीले ७ तयारि गरेर निर्णायक संघर्षमा उत्रिएपछि मात्र हामी अवशरवादीसँसँग छुट्टिएको अर्थ हुन्छ भनेको बेलामा पनि त्यसका लागि हिम्मत नगर्ने नियत मिहिपाराको अवशरवाद नै हो भन्न अहिले कुनै अप्ठ्यारो लाग्दैन । पार्टीका निर्णयहरुप्रति इमानदार नहुने र छलछाम तथा अनेक बाहानामा टार्ने नियत हामीले भोगेकै कुरा हो । यो मिहिंखालको संशोधनवाद हो । किरणले यसको सायद उचित जवाफ दिने हैसियत नै गुमाइसकेका छन् । पार्टीभित्र जनयुद्धको बेला अन्तरसंघर्षमा अक्ष्यम् बनेका उनी त्यसभन्दा माथि कहिल्यै उठनै सकेनन् । सारमा भन्दा किरणसँग रहेको पार्टीले माओवादलाई आत्मसात गर्न नसकेको स्पष्ट छ ।

अर्को एउटा प्रबृत्ति विप्लवमा केन्द्रित छ जुन विकासको वैज्ञानिक नियमलाई पछ्उन अक्ष्यम् छ । माओवादलाई आत्मसात गर्न अव आवश्य छैन, यो त बदनाम भैसक्यो भन्ने बुझाइ पेश गरिरहेको छ । यसो भन्दै पार्टीको मार्गनिर्देशक नामसँगै जोड्नेगरि पहिलाको व्यवस्थानै हटाएर सारसंग्रहको अर्थलाग्ने नेकपा नाममा ऊ रमाउन पुगेको छ । किरण सशस्त्र हुन उदासिन भएको भन्ने आरोप लगाउँदै फुटेर गठन भएको अर्को साल अर्कै बाटो तय गर्नपुगे जुन विज्ञानको कसिमा कतैबाट जाँच्दा पनि नीयममा छैन । बस्तुगत आधारबिनाको अर्थात अव्यवहारिक सिद्धान्त र अर्कै वर्गीय धरातलमा टेकेर सर्वहारा वर्गले केही पाउनेवाला छैनन् भन्ने निश्चित छ । सबैले सहज अनुमान लगाउन सक्छन् कि यो प्रबृत्ति पनि अरु झैं एक समयको चर्चित हुनपुगेका र पछि नामनिसाना नै नभएका अरु पार्टी भन्दा फरक हुने छैन ।

हाम्रो दायित्व सबै अवशरवादमा पतन भएपनि माओवादी आदर्शलाई व्यवहारिक रुप दिने नै हो । माओवादलाई आत्मसात गर्नेको संख्या नगन्य भएपनि सर्वहारा श्रमजिवी तथा न्यायप्रेमी जनसमुदायलाई ध्रुबिकृत गर्नुको कुनै अर्थमा बिकल्प हुन सक्दैन । अव हामीले पुनः देशलाई स्वाधिन बनाउने नीति सर्वजनिक गर्नुपर्नेछ । शोषणकारि वर्गीय सत्ता ध्वस्त पार्ने र जनतालाई मुक्त गर्ने मालेमावादको नीति स्पष्टसँग जनतालाई पुनः राख्नुपर्नेछ र जनतालाई नै अग्रणि भुमिकामा राखेर भोगिरहेको सम्पूर्ण समस्याको समाधान गर्नुपर्नेछ । हामी माओवादीहरु आफू स्पष्ट छौं भने र इमानदारि पुर्वक आफ्नो बाटोमा यात्रा गर्न हिंड्यौंभने दुनीयाँको जनबिरोधि कुनै पनि तागतले हामीलाई हराउन वा बाटो छेक्ने छैन । यहाँको समस्या भनेको हामी संगठित र केन्द्रिकृत हुने सवाल नै हो । यो कार्यमा हामी जति ढीला गर्छौं उति देश, जनता र मुख्यतः वर्गमाथि घात भैरहेको हुन्छ । हामीले यो कुरालाई राम्ररी हेक्का राख्नु आवश्यक छ ।

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६