• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा

पत्रपत्रिकाबाट

 

पेरिस — एकाबिहानै भाले बासेका कारण छिमेकीहरूलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छन् ।

 

फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेकोआरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् । त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् ।

 

मुद्दाको सुनुवाइ गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसफोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन् ।

 

दुवैतर्फको बयान, प्रहरीको अनुसन्धान, मारिनी ले कपियनका मेयरले भालेका पक्षमा दिएको समर्थन र जीवजन्तुको अधिकारका पक्षमा आएका दस्तावेजहरूको अध्ययनपछि अदालतले बिहीबार उजुरीकर्तालाई नै एक हजार युरो जरिवाना गरेको हो ।

 

त्यसका साथै अदालतले भाले बिहानै बास्न पाउने फैसलासमेत गरेको छ । आदालतले अनाहकमा बुसेलाई अदालत जानु  परेकोले क्षतिपूर्तिबापत् उजुरीकर्तालाई नै एक हजार युरो तिर्न आदेश दिएको हो ।

 

अदालतको फैसलापछि बुसेले प्रतिक्रिया दिइन्, ‘अब मेरो भाले बास्न पाउने भयो । फैसलाले हाँस, कुखुरा, चरा, भ्यागुतालगायत प्राकृतिक जीवजन्तुको अधिकारको सुरक्षा भएको छ र प्रकृतिविरुद्ध लाग्नेलाई पाठ सिकाएको छ ।’

 

भाले बासेर ‘डिस्टर्भ’ गरेको भन्दै अदालतमा मुद्दा दायर भएपछि प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूले हस्ताक्षर अभियान सुरु गरेका थिए । अभियानको पहिलो सातामा नैएक लाखभन्दा बढीले समर्थन जनाएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ।

 

प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६