• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

बेलायती प्रधानमन्त्रीलाई झड्कै झड्का, आम चुनावको प्रस्ताव समेत अस्वीकृत

सिन्धुली साैगात संवाददाता

केही समय अघि सत्तामा आएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा लगातार असफल भएका छन ।

बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा असफल भएकापछि उनले गरेको आम चुनावको प्रस्ताव पनि असफल हुन पुगेको छ । बेलायत युरोपियन युनियन (इयु) बाट बाहिरिने हालको समय सीमा अक्टोबर ३१ हो । सो अवधिमा बिना सम्झौता नै भए पनि बेलायत इयुबाट अलग हुने सम्बन्धी कानून बनाउनका लागि ल्याइएको विधेयकको पक्षमा ३०१ तथा विपक्षमा ३२८ मत परेको थियो ।

सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले उनले ल्याएको विधेयक पारित गर्न नदिएपछि प्रधानमन्त्री जोन्सनले आम चुनावको प्रस्ताव संसद (हाउस अफ कमन्स) मा पेश गरेका थिए , त्यो प्रस्ताव पनि असफल भयो ।

संसदमा उनले लगेको विधेयक असफल भएपछि प्रधानमन्त्री जोन्सनले आम चुनाव नै उत्तम विकल्प रहेको भन्दै त्यसको प्रस्ताव गरेका हुन् तर लेबर पार्टीका नेता तथा संसदमा विपक्षी दलका नेता जेरोमी कोर्बिनले बिना सम्झौताको ब्रेक्सिटका लागि बाध्य पार्न प्रधानमन्त्री जोन्सनले कपटी खेल खेलिरहेको आरोप लगाइदिएका छन ।

उनले आउँदो अक्टोबर १५ मै आम चुनाव होस् भन्ने चाहेका छन् । चुनाव सम्बन्धी प्रस्ताव पारित हुन दुई तिहाई सांसदको मत अर्थात ४३४ मत चाहिन्छ । तर उक्त प्रस्तावको पक्षमा २९८, विपक्षमा ५६ र मत नदिने सांसदको संख्या २८८ पुगेको छ ।

आफ्नो पार्टी चुनावको पक्षमा रहेको तर त्यो ब्रेक्सिट सम्बन्धी विधेयक पारित भएपछि मात्रै हुनु पर्ने उनले बताए । ब्रेक्सिट सम्बन्धी विधेयक सबैको सहमतिमा हुनु पर्ने उनको भनाई छ । नो डिल ब्रेक्सिटका लागि बाध्य पार्ने मनसायले आउने कुनै पनि विधेयक वा राजनीतिक खेलको पक्षमा आफ्नो पार्टी नरहेको उनले स्पष्ट पारे ।

एसएनपी तथा लिबरल डेमोक्र्या्टिक पार्टीले पनि नो डिल ब्रेक्सिटका लागि बाध्य पार्न प्रधानमन्त्री जोन्सनले गरिरहेको प्रयासको विरोध गरे ।

जोन्सनका समर्थकले भने पछिल्लो दुई वर्षदेखि आम चुनावको माग गरिरहेका विपक्षीहरुले त्यसको वास्तविक प्रस्ताव आउँदा विरोध गरेको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६