• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

हुरीबाट विस्थापितलाई घर हस्तान्तरण गरिदै

प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

सिन्धुली साैगात संवाददाता

बारा र पर्सामा गत चैत्र १७ गते आएको हुरी बतासका कारण विस्थापितलाई आज घर हस्तान्तरण गर्न लागिएको छ ।

उक्त हरीको कारण २९ जनाको मृत्यु भएको थियो भने १ हजार भन्दा बढि घर क्षती भएका थिए । घर निर्माणको जिम्मा नेपालि सेनाले पाएको थियो ।

नेपाली सेनाको जनता आवास कार्यदलले बारामा निर्माण गरेको ८ सय ७ र पर्सामा निर्माण गरेको ६२ वटा घर हुरीपीडितलाई पाँच महिनापछि हस्तान्तरण गर्न पाइने भएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले घरको स्थलगत निरीक्षण गरी साचो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सेनाका अनुसार मन्त्री पोखरेलले हुरीपीडितका लागि बनेका घरको निरीक्षण गरी वीरगन्जमा आयोजना हुने कार्यक्रममा साचो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

बारा र पर्सामा आएका नेपाली सेनाले बैशाख २१ गते शिलान्यास भएपछि घर निर्माणको काम सुरु भएको हो । घर निर्माणका लागि बारामा मात्रै झण्डै तीन हजार सेना खटिएका थिए । सेना १२ समूह बनाएर घर निर्माणमा जुटेका थिए ।

सामान्य क्षति भन्दापनि पूर्णरुपमा घरबिहीन बनेका पीडितको तथ्यांक संकलन गरी घर निर्माणको कामलाई दोस्रो चरणमा अघि बढाइने बताइएको छ । घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेको नेपाली सेनाले जनाएको छ ।

क्षति संकलनमा नाम छुटेकाको घर निर्माण हुन सकेको छैन् । नाम छुटेका कारण घर पाउनबाट बञ्चित पीडित अझै टेन्टमा बस्न बाध्य छन् । बारामा मात्रै ५५६ जनाको नाम छुटेको भन्दै विरोध प्रदर्शनसमेत भएको थियो ।