• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

जनशक्तिको अभावमा जति प्रयास गर्दा पनि जनअपेक्षा अनुसार शान्ति सुरक्षा दिन नकिएको प्रहरीको भनाई

सिन्धुली सौगात

 

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित ढुंग्रेवास बजार क्षेत्र असुरक्षित हुन थालेको छ । दिनहुँ जसो चोरीका घटना बढ्न थालेपछि बजार क्षेत्र असुरक्षित भएको हो ।

 

गएराती मात्र ढुंग्रेवासचोकैमा रहेको शिलाकुण्ड किराना तथा तरकारी पसलको ताला फोरी चिसो र किराना सामान चोरी भएको छ । पसलको ताला फोरी डिउ, फेन्टा, पेप्सी, रेडबुल लगायतका चिसो र केही चाउचाउ, बिस्कुट लगायतका किराना सामान गरी एक हजार पाँच सय भन्दा बढीको चोरी भएको पाइएको पसल सञ्चालक मनिषा गौतम (चौलागाँई) ले बताईन् ।

 

नगद तथा रिचार्ज लगायतका सामान भने घरमा नै लैजाने गरेकाले ठूलो क्षती हुनबाट जोगिएको उनको भनाई छ । ढुंग्रेबास बजार क्षेत्रमा रहेको चिसोको डिलर, हार्डवयर पसल, होलसेल पसल तथा खुद्रा किराना तथा तरकारी पसल तथा घरमा राखिएको नगद समेत चोरी हुने क्रम बढेपछि व्यापारी तथा स्थानिय सर्वसाधरणले असुरक्षित महशुस गरेका छन् ।

 

कमलामाई नगरपालिकाले बजार क्षेत्रलाई सिसि क्यामराको निगरानीमा राख्न लगानी गरे पनि ढुंग्रेबास बजार क्षेत्रलाई वेवास्ता गर्दा र प्रहरी प्रशासनले सुरक्षा मजबुद नबनाउदा ढुंग्रेबासमा चोरीका घटना बढेको स्थानियको भनाई छ ।

 

ढुंग्रेवास चोकमा रातभरी प्रहरीको डिउटी हुदै आएकोमा अहिले प्रहरीको डिउटी हिरापानी चोकमा केन्द्रीत भएपछि ढुंग्रेवास बजार क्षेत्र असुरक्षित भएको ढुंग्रेवास चोकका स्थानिय तथा व्यापारीले बताए ।

 

यस अघि पनि यस्ता चोरीका घटनाहरु ढुंग्रेवास चोकमा थुप्रै घटिसकेका छन् ।

 

कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग बहादुर खत्रीले बजार क्षेत्रलाई सिसि क्यामराको निगरानीमा राख्न २८ वटा सिसि क्यामेरा जडान गरिएको बताए । सबै ठाउँमा एकै चोटी सिसि क्यामेरा जडान गर्नका लागी बजेट अपुग भएकाले ढुंग्रेबास बजार क्षेत्र लगाएत अन्य ठाउँमा आगामी बर्षको बजेटले विस्तार गर्ने योजना रहेको उनले बताए ।

 

चोरी तथा अपराधजन्य घटनाहरु न्यूनिकरणका लागी स्वंय स्थानीवासी,टोल सुधार समिती लगाएत नागरिक समाज स्तरबाट पनि पहल गरिनु पर्ने उनको भनाई छ । सिन्धुलीमाढी बजार क्षेत्रमा विभिन्न प्रकृतीका घटनाहरु बढ्दै गएकाले आफ्नो ठाउँबाट सबैलाई सचेत र सजकता अपनाउन पनि उनले आग्रह गरे ।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता लोकदर्शन थापाले जनताको अपेक्षा ठुलो भएका तर प्रहरी कार्यालय सिन्धुलीमा जनशक्ति कम हुँदा जनअपेक्षा अनुसार शान्ति सुरक्षा दिन नसकिएको बताए ।

 

कार्यालयमा ५ सय १४ जना कर्मचारीको दरवन्दी भएता पनि ३ सय ३० जना मात्र कर्मचारी रहेको र १ सय ८४ दरबन्दी खाँली छ । जनशक्तिको अभावमा पनि जिल्लामा शान्ती,शुव्यवस्था कायम गर्न दिनरात प्रयास गर्दा पनी प्रहरी प्रशासनले सुरक्षा मजबुद बनाउन नसकेको गुनासो आउनु दुःखद भएको उनको भनाई छ ।

 

सिमित जनशक्ति भएकाले सबै ठाउँमा नियमीत गस्ती परिचालन गर्न समस्या भएको बताउँदै उनले चोरी तथा अपराधजन्य घटना न्युनिकरण गरी सुरक्षाको प्रत्याभुति दिलाउन बुधबारबाट अन्य नयाँ योजनाहरु अघि सारिने बताए ।

 

जिल्लामा ३ बर्ष यता ३० वटा चोरीका घटनाहरु प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएका छन् ।

 

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६