• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

कोशीको पानी खान बाध्य सुनकोशीबासी

सिन्धुली सौगात

सुनकोशी गाँउपालिकाको खाल्टेमा विहान वेलुका मात्रै धारामा पानि आउने गरेको छ । जहाको स्थानियले एक घरको लागी विहान २ गाग्री र बेलुका २ गाग्री धारामा पानि पाउने व्यवस्था मिलाईएको छ । यहाँका १४ घरधुरीले विहान २८ गाग्री र बेलुका २८ गाग्री पानि पाउछन् । साझको पानि धारामा थाप्नको लागी गाग्रीको लाईन मिलाउदै गरेकी स्थानिय ।

 

 

सुनकोशी गाउँपालिका –५ रामटारकी कमला घिमिरेलाई बिहानबेलुका एक किलोमिटर टाडाबाट पानी बोक्नुपर्ने चिन्ताले दिनहुँ सताउँछ । उनको साँझ र बिहानको समय पानीबोक्नमै बित्ने गरेको छ । उनि दैनिक एक घण्टा हिँडेर सुनकोशीको किनारमा रहेको कुवाबाट पानी ल्याउँछिन । मुहान सुकेर सधै आउने धारामा पनि पानी आउन छोडेपछि एक घण्टा हिडेर पानी लिन जानुपर्ने बाध्यता रहेको उनले बताइन ।

 

“खानेपानीको समस्याले आफुहरुको दैनिक उपभोगमा मात्रै नभई गाईबस्तुलाई खुवाउन, खेतबारीमा लगाएको अन्न, फुलफुल तरकारीमा समेत पानी लगाउन समेत पाइएको छैन”, घिमिरेले भनिन् ।

 

लामो समयको खडेरी, भुकम्पका कारण पानीका मुहान सुक्नु, विकासको नाममा वनजंगलमा स्काभेटर प्रयोग गरि सडक संजाल अस्तव्यस्त बनाउनु जस्ता कारणले यहाँका स्थानिय खानेपानीको चरम समस्यामा छन् ।

 

 

सुनकोशी गाउँपालिकाको वडा नं. ५ को रामटार, साइटार, वडा नम्बर ३ को बोहोरेटार लगायतका क्षेत्रमा पनि खानेपानीको यस्तै समस्या छ । करिब चार सय घरधुरी रहेको यस क्षेत्रमा खानेपानीको समस्या भएपछि स्थानियबासिन्दा दुई घन्टासम्म पैदल हिँडेर सुनकोशी नदीको पानी ल्याएर खान बाध्यछन् ।

 

सुनकोशीनदिमा बगेको पानी भरेर ल्याएर घरमा खाने गर्नाले स्वास्थ्यमा समेत समस्या पर्ने गरेको स्थानिय कुलमाया आले बताउँछिन् । नदिको पानी खानाले पेट दुख्ने, पखालालाग्ने जस्ता स्वास्थ्य समस्याहरु देखा पर्ने गरेको उनले सुनाईन् ।

 

पहिला पानी आईरहेको धारामा पानी आउन छोडेपछि आफुहरूको दैनिकी निकै नै कष्टकर बनेको सुनकोशी गाउँपालिका –५, रामटारका स्थानिय भिष्म प्याकुरेलको गुनासो छ । “पहिला नियमित आउने पानीको मुहानपनि सबै सुकेपछि धारामा पानी आउन छोडेको हो”,उनले भने । प्याकुरेलका अनुसार यहाँ रहेका सरकारी कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा पनि खानेपानीको अभाव छ ।

 

सबैतिर उस्तै समस्या

 

सुनकोशी गाउँपालिकाको यस क्षेत्रमा मात्रै होईन जिल्लाको कमलामाई नगरपालिका, सुनकोशी, गोलन्जोर, फिक्कल लगायत गढतिर क्षेत्रमा खानेपानीको उस्तै समस्या छ । लामो समय खडेरी तथा भुकम्पका कारण पानीका मुहान सुक्नु र सरोकार राख्ने निकायबाट समस्या निराकरणका लागी कुनै पहल नहुनुले समस्या झनै थपिएको सुनकोशी गाउँपालिका –५ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश थापा बताउँछन् । “हरेकवर्ष यहि समस्याबाट गुज्रिनु परिरहेको छ”,थापा भन्छन् ‘यहाँको यो समस्याबारे सबै राजनितिक दल, सरोकार निकाय, स्थानिय सरकार सबैलाई थाहा छ तर समस्याको समाधान कहिले पनि हुँदैन ।’

 

 

प्रअ थापा चुनावि एजेण्डा तथा घोषणापत्रमा पानी नै पानीभएको यस क्षेत्र अहिले सुख्खा मरुभुमि जस्तो भएको र सरोकार निकायलाई कुनै चासो नदिएको गुनासो गर्छन ।

 

यता कमलामाई नगरपालिका –४ का मोहनकुमार देवकोटाको गुनासो पनि उस्तै छ । “स्थानीयतहको निर्वाचनमा ‘एकघर एक धारा’को सपना बाडेर जितेका जनप्रतिनिधी दूई वर्ष बितिसक्दा पनि समस्या के छ भनेर एकपटक पनि सोध्न आएका छैनन् ।” देबकोटा भन्छन्, “गाउँगाउँमा सिंहदरबारको त कुरै छाडौँ, घरमा एक अम्खोरा पनि शुद्ध पिउने पानीको व्यवस्था छैन ।” उनले घर नजिकै रहेको ग्वाङ्गखोलाको पानी खानुपर्ने बाध्यता रहेको गुनासो गरे ।

 

 

 

“खोलाको पानी अत्यन्त फोहोर हुन्छ खानु हँुदैन भन्ने थाहा छ त्यसैमाथी म पुर्व स्वास्थकर्मी पनि हुँ, खोलाको पानी खानु हुँदैन भनेर गाँउगाउमा चेतना जगाउदै पनि हिँडियो तर भुकम्पले घर भत्काईदिएपछी बसाँई सरेर यहाँ आए, यहाँ आफैले खोलाको पानी खानुपरेको छ”,उनले भने ।

 

मोहन देबकोटा संगै कमलामाई नगरपालिकाको वडा नं. –४ को कुलाबाँधका १५ घरपरिवार अहिले पनिखोलाको पानी खान बाध्य छन् ।

 

“व्यक्तिगत लगानिमा यहाँको कात्तिके मुहानबाट खानेपानी ल्याईएको छ तर खडेरिमा मुहान सुकेर पानी आउदैन भने बर्षात्को समयमा मुहानबगाएर लैजान्छ कहिल्यै शुद्ध खानेपानी पिउन नपाउने भयौं” कुलाबाँधका स्थानिय राजन राईले भने ।

 

जनप्रतिनिधीका आश्वासन

 

गाँउपालिका तथा नगरपालिकाको कार्यालय रहेकै क्षेत्रमा खानेपानीको अभाव देखिएपछी स्थानियलाई फेरिपनि सपना बाँड्न जनप्रतिनिधी सफल भए ।

 

समुदायमा खानेपानीको समस्या भई खोलाको पानी खानुपर्ने बाध्यता छ भनेर पटक–पटक गुनासो गर्न नगरपालिका तथा वडा कार्यालयमा पुगेको स्मरण गर्दै मोहनकुमार देवकोटाले भने, “समस्या समाधानका लागी जादैपिच्छे आश्वासन पाईयो, तर पानी पाईएन ।”

 

कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्री वडाको समस्या समाधान वडा कार्यालय बाटै हुने बताउँछन् । समृद्ध नगर निर्माणको अभियानमा नगरपालिका अगाडि बढेको उल्लेख गर्दै प्रमुख खत्रीले यस्ता समस्या विस्तारै न्युनिकरण हुदै जाने उल्लेख गरे ।

 

जनप्रतिनिधी प्रतिको विश्वास नागरिकमा चाहे अनुरुप विकास हुन नसकेको उल्लेख गर्दै प्रमुख खत्रिले भने,“नागरिकको चाहना धेरै छन्, तत्काल समस्या निराकरण खोज्ने नागरिकको काम स्थानिय तहबाट हुन सकेको छैन ।”

 

 

गाउँपालिकाको केन्द्रमै खानेपानीको हाहाकार भएपछि सुनकोशी गाउँपालिका भित्रको खानेपानी अपुग भएका सबै वडामा खानेपानीको पहुँच पु¥याउने लक्ष्य सहित लिफ्ट खानेपानी निर्माणको काम वडा नं. ५ मा सम्मन्न भईसकेको र वडा नं. १, ३, ४ र ६ नं. वडाको लागी लिप्mट खानेपानि आयोजनाको काम भईरहेको गाँउपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले बताइन ।

 

गाँउपालिका रहेको क्षेत्र रामटारमा गाँउपालिकाको ३५ लाख आर्थिक सहयोगमा लिफ्ट खानेपानी निर्माण सम्पन्न भईसकेको छ । अध्यक्ष दाहालका अनुसार यस आयोजनाबाट यस क्षेत्रका २०० घरधुरी प्रत्यक्ष लाभान्वित छन् ।

 

खानेपानिको चरम अभाव रहेको गाँउपालिकाको वडा नं. १, ३, ४, ५ र ६ मा गाँउपालिकाकै लगानिमा करिव ३ करोड बरावरको लिप्mट खानेपानि आयोजना निर्माण भईसकेको छ ।

 

निर्माणको चरणमा रहेको लिफ्ट आयोजनालाई निर्माण सम्पन्न गर्न अव १ करोड ५० लाख अनुमानित वजेट लाग्ने गाँउपालिकाका उपाध्यक्ष दिर्वशिंह मोक्तानले बताए । यस लिफ्ट खानेपानी आयोजना निर्माण सम्मन्न भईसकेपछी यस क्षेत्रका ८०० घरधुरी खानेपानिको पहुँचबाट प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ ।

 

जहाँ आयोजना, त्यहि समस्या

 

सिन्धुलीको गोलञ्जोर गाँउपालिका साविकको भुवनेश्वरी गाविसको वडा नं. ४, ५, ६ र ७ का २५० घरपरिवारले अझैपनि धाराको पानी पाएका छैनन् । वडा नं. ३ को ओख्लेमा खानेपानीको अभाव भएपछि ग्वाल्टार वसाई सरेर आएका सूर्यवहादुर वस्नेत भन्छन्– ‘गढतीरमा पानीका मुहान सुक्दै गएकाले ढुंगेधारा, इनार र पोखरीका पानी सुकेपछि त्यहाँ बस्न सकिएन बसाइँ सरियो । यता पनि उही हाल छ । अब कता जाने ?

 

गोलञ्जोर गाउँपालिका वडा नं –३ का वडा अध्यक्ष पुष्कर बरालले भने— ‘पानीका मुहान सुके । धारामा पानी आउँदैन । तल सुनकोशीमा पानी छ । लिफ्ट गरेर ल्याउन पर्याप्त स्रोत छैन । वडामा बजेट छैन । गाउँपालिका तथा जिल्लाबाटै काम हुनु प¥यो भनेर जोडबल गरिरहेका छौं ।

 

कमलामाई नगरपालिकाले मात्रै चालु आर्थिक वर्षमा खानेपानी आयोजनाको लागी भनेर १ करोड १४ लाख बजेट विनियोजन गरेको थियो । विनियोजित वजेट अन्र्तगत पर्ने नगरपालिकाको १४ वटा वडाका २६ खानेपानी आयोजना सम्पन्न भईसकेका छन् ।

 

नगरपालिकाद्धारा ९ नं. वडामा मात्रै खानेपानी आयोजनाको लागी ४० लाख रकम विनियोजन गरेको थियो । तर, उक्त वडाको इनारपानी लगायत क्षेत्रमाअहिले खानेपानीको चरम समस्या भएको स्थानियको गुनासो छ ।

 

नगरपालिकाको १३ नं. वडा अन्र्तगत पर्ने मडाहा, रुचानि, बयरवन लगाएतको क्षेत्रमा खानेपानीको समस्या भएको स्थानिय बालकृष्ण आलेमगरले वताए । सुनकोशी गाउँपालिका –३ मा सुनकोशी–गुठबजार लिफ्ट सिँचाई आयोजना भर्खरै सम्पन्न भयो । गाउँपालिकाको २८ लाख ५० हजार र उपभोक्ताको करिव १६ लाख ऋण सहयोग गरी करिव ४५ लाख ५० हजार लागतमा निर्माण सम्पन्न भएको लिफ्ट सिँचाई योजनाको सफल परिक्षण गरिएको छ ।

 

यस सिँचाई आयोजनाबाट गाँउपालिका–३ का करिव २ सय किसान सिंचाई सुविधाबाट लाभान्वित हुने जनाईएको छ । विद्युत लिफ्ट प्रविधिमार्फत सुनकोशी नदीबाट ९० मिटर माथीविपी राजमार्ग नजिक गुठबजारमा पानी झार्ने गरी लिफ्ट योजना निर्माण गरिएको हो ।

 

तर अहिले लिफ्ट योजना निर्माण भएको ठाउँमा पनि सिंचाईका लागी पानी नहुदाँ किसानले पर्याप्त अन्नबाली उत्पादन गर्न सकेका छैनन् । गाँउपालिकाको विभिन्न क्षेत्रमा पानीको अभाव भएपछि सुनकोशी गाँउपालिकाले लिफ्ट खानेपानी तथा लिफ्ट सिंचाईलाई जोड दिएको हो ।

 

गाँउपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७६÷०७७ को निति तथा कार्यक्रम र बजेटमा पनि लिफ्ट खानेपानी तथा लिफ्ट सिंचाईको २५ प्रतिशत महशुल अनुदानको व्यवस्था गरिएको गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले बताईन् ।

 

प्रकाशित मिति : आइतवार, भदौ १, २०७६