• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

खोलागाउँको स्वास्थ्य चौकी नैै विरामी

सिन्धुली सौगात

घरको आडमै रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेण्टर नभए पछि सिन्धुलीको फिक्कल गाउँपालिका ३,खोलागाउँका महिलाहरुलाई सुत्केरी ब्यथा लागे २/३ घण्टाको बाटो दगुराउँनु पर्छ । फिक्कल गाउँपालिकाले अवको २ बर्ष भित्र शुन्य होम डोलिभरी (घरमा सुत्केरी नहुने) अवधारण ल्याएको छ । तर खोलागाउँका महिलाहरु बच्चा जन्माउन अस्पताल पग्दैनन् । गाउँगाउँमा स्वास्थ्य चौकी भए पनि बर्थिङ सेण्टर र दक्ष प्राविधिकहरु छैनन् । फिक्कल गाउँपालिका ३–खोलागाउँकी एकता थापाले स्वास्थ्य चौकी नाम मात्रैको भएको बताईन् । नेपाल सरकारले दिने केही निशुल्क औषधी बाहेक स्वास्थ्य चौकीमा अरु सुविधा नपाएको उनको गुनासो छ ।

 

यस गाउँकी एकता थापा त एक प्रतिनिधि पात्र मात्रै हुन् । उनको जस्तै समस्या खोलागाउँको १ सय ३८ घरधुरीका करिव एक हजार जनसंख्याको छ । अझ दुःखको कुरा त विरामीलाई उपचार गरेर निको बनाउने स्वास्थ्य चौकी आँफै विरामी छ । २०७२ सालको विनाशकारी भुकम्पले स्वास्थ्य चौकीको पूरानो भवन अति जीर्ण बनाएको छ ।

 

 

स्वास्थ्य चौकीको भवन एक पाखो पुरै भत्किएको छ । अर्को पाखोको बाँकी एउटा कोटामा स्वास्थ्य चौकीको भएभरको सम्पुर्ण सामान,औषधीहरु एकै ठाउँमा खादिखुदी राखिएको छ । सानो पानी पदैँमा जस्तापाताले छाएको छानोबाट पानी चुहिन्छ । माटोले बनेको भवनको भित्ताबाट पानीले रुझाउँने हुँदा औषधी समेत बिग्रने हुने रहेको खोलागाउँ स्वास्थ्य चौकी सिन्धुलीका एचए सुदिप कुमार यादवले बताए ।

 

भुकम्प पछि स्वास्थ्य चौकीको पुनःनिर्माण हुन नसक्दा असुरक्षा बढेको र स्वास्थ्य चौकीका सेवाग्राहीहरुलाई समेत समस्या पर्ने गरेको उनको भनाई छ । यसै त सानो सानो कोठा ती माथि भुकम्पले पुर्ण क्षेती गर्‍यो । झनै गत असार २५ गते परेको पानी सँगै आएको बाढी पहिरोले त बस्नै नमिल्ने गरी भवन ध्वस्त बनाएको छ,उनले भने,“विरामी आउँदा खुल्ला चौरमा राखेर सेवा दिनुपर्छ ।” खुल्ला चौरमा राखेर स्वास्थ्य सेवा दिईरहँदा चिकित्सक सँगै विरामीले समेत अफ्ट्यारो मान्ने गरेको उनले बताए ।

 

स्वाथ्य चौकीको सबै औषधी तथा सामानहरु एउटा कुचरुक्क परेको बत्ति विनाको अध्याँरो कोठामा राखिएको छ । पानी परेर यि औषधिहरु तथा स्वास्थ्य चौकीका महत्वपुर्ण कागजातहरु समेत विग्रीएर कामै नलाग्ने भएको उनले बताए । एउटा औषधि खोज्न पर्‍यो भने दिनै वित्छ,दरवन्दी अनुसार कर्मचारी पूरा पनि पुरा छैनन्, यादवले भने,“सरकारले तोकेको सेवा जसोतसो दिईरहेको छु ।” उनका अनुसार अहिले उनि वाहेकको दरबन्दी खाली छ ।

 

वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ग्रामीण महिला चेतना केन्द्र (भिडव्लुसिसि) सिन्धुलीले मातृशिशु स्वास्थ्य तथा पोषण परियोजना लागु गरेसँगै पहिले घरमै सुत्केरी हने खोलागाउँका महिलाहरुले अहिले स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनु पर्छ भन्ने बुझेका छन् । स्थानीय सरकार तथा विभिन्न सँघसंस्था र सरोकारवालाहरुले सुत्केरी गराउन स्वाथ्य संस्थामा नै जान अनुरोध पनि गरिरहेका हुन्छन् । तर खोलागाउँका महिलालाई घरको आडैमा रहेको स्वास्थ्य संस्थाबाट सेवा पाउन नसकेपछि अयन्त्र जान समस्या छ । ६ महिना अगाडी सुत्केरी भएकी खोलागाउँकी निर्मला कार्कीले भनिन,“ गाउँमा बर्थिङ सेण्टर नहुदा सुत्केरी गराउन महिलालाई दुई देखि तीन घण्टा सम्मको बाटो दौउडाएर लैजानु पर्ने बाध्यता अझै हट्न सकेको छैन् ।”

 

फिक्कल गाउँपालिकाका स्वास्थ्य संयोजक तथा वडा नम्बर–३ का वडा अध्यक्ष टेक बहादुर रजनमगरले खोलागाउँ स्वास्थ्य चौकीका सेवाग्राहीले गरेको गुनासो जायज भएको बताए । यस क्षेत्रका लागी बर्थिङ्ग सेन्टर सहित १५ सैयाको अस्पताल निर्माण गर्ने योजना छ । त्यसैले यो स्वास्थ्य चौकी यस्तै भग्नावेस अवस्थामा छोडेका थियौँ । तर अस्पताल निर्माण हुन अझै केही समय लाग्ने भयो,उनले भने,“अव तत्कालकालै खोलागाउँ स्वास्थ्य चौकीको पुनःनिमाण प्रक्रिया अगाडी बढाउने छु ।”

 

 

प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६