• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

कमलामाईमा मात्रै २२ जना एच.आई.भि संक्रमित

सिन्धुली सौगात

एच.आई.भी. बाट हुने लाञ्छना न्यूनिकरण सम्बन्धिको एक दिने अभिमुखिकरण कार्यक्रम बिहिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

 

स्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा एच.आई.भी एड्सका लक्षण, कारण र त्यसको व्यवस्थापनकाबारेमा जानकारी गराइएको थियो । स्वास्थ्य संस्था, समुदाय, परिवार र कार्यस्थलमा गरिने विभेद तथा लाञ्छनाका कारण एच.आई.भी.संक्रमितहरुको मनोवल घट्ने भएकाले उनिहरुलाई अरु व्यक्तिहरुलाई झैँ समान व्यवहार गरी सहयोग गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो । अधिकांश एच.आई. भि संक्रमितहरुमा टिभि रोग देखिने गरेकोसमेत कार्यक्रम जानकारी गराउदै टिभि रोग लागेका तथा लक्षण देखा परेकाहरुलाई अनिर्वायरुपमा स्वास्थ्य चेकजाँच गराउन सुझाव दिनुपर्ने बताइएको थियो ।

 

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख शेरबहादुर कालिकोटेले अझै पनि समाजमा एच.आई.भी सम्बन्धि गलत धारणा रहेको भन्दै यसबारेमा प्रभावकारी सुचना दिन सञ्चार माध्यामले महत्वपुर्ण भूमिका खेल्ने बताए । समाजले गर्ने विभेद तथा लगाउने लाञ्छनाका डरले कत्तिपय संक्रमितहरु खुल्न नसेको बताउदै उनले एच.आई.भी. लाई सरलरुपमा बुझाउनु पर्ने आवश्यकता औलाए ।

 

अहिले पनि गाँउघरमा एच.आई.भी भन्ने वित्तिकै अनैतीक यौन व्यवहारका कारणले मात्र हुन्छ भन्ने बुझाई छ । उनले भने, “यो यौन क्रियाकलापले मात्र होइन, अन्य रोग तथा समस्या र स–साना गल्ति पनि हुनसक्छ ।” कालिकोटेले यस सम्बन्धिको गलत बुझाई तथा व्यवहारलाई चिर्नुपर्नेमा जोड दिए ।

 

त्यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका एच.आई.भी. तथा टिभि रोग शाखाका प्रमुख रामदुलाल यादवले जिल्लामा एच.आई.भी. संक्रमीतको संख्या बढदै गएको बताए । हाल कमलामाई नगरपालिकामा मात्रै २२ जना एच.आई.भी. संक्रमित रहेको भन्दै उनले त्यस्ता संक्रमितहरुले परिवारदेखि स्वास्थ्य संस्थामा समेत विभेद सहन बाध्य भएको बताए । समाजले अहिलेसम्म पनि यसलाई जटिल रोगका रुपमा बुझेको भन्दै उनले यो रोगको पनि व्यवस्थापन गर्न सकिने बताए । चिकित्सको सल्लाह अनुसार समयमै औषधी सेवन गर्नले केही हदसम्म भएपनि व्यवस्थापन गर्न सकिने उनको भनाई रहेको थियो ।

 

त्यस्तै कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य कार्यालय भिमानका श्याम यादवले जिल्लामा हालसम्म एच.आई.भी. संक्रमितको संख्या ४६ जना रहेको जानकारी दिए । जसमा ३ जनाको मुत्यू भइसकेको छ भने ६ जनाले अन्य जिल्लाबाट औषधी सेवन गरिरहेका छन् ।

 

कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्याममा आवद्ध सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६