• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

फूल खेतीमा भविष्य खोज्दै युवा

सिन्धुली सौगात

सुनकोशी गाँउपालिका वडा नम्बर ३ सुन्दरबस्तिका ज्ञानप्रसाद भट्टराईले व्यवसायीक फूल खेती गर्दै आएका छन् । उनको बारीमा यतिबेला ठकमक्क सयपत्रि फूल फुलेको छ । वर्षभरीको छाक टार्ने जमिनमा उनले यसरी व्यवसायीकरुपमा नै फूल खेती सुरु गरेको ४ महिना भयो । वर्ष भरिमा ३ हजारको अन्नबालि उत्पादन हुने जमिनमा उनले फूल खेती गरेपछि राम्रो आम्दानी हुन थालेको बताउछन् ।

 

उनले खेती सुरु गरेको पहिलो लटमै ६० हजार रुपैयाँ बराबरको फूल र माला विक्री गरेको बताए । उनले भने, “आधा रोपनी जमिन पनि थिएन । त्यति जग्गामा मैले फूलबाट ६० हजार रुपैयाँ कमाउन सफल भए । त्यसमा धान रोप्दा ३ हजार रुपैयाँ जत्तिको उत्पादन हुन्थ्यो ।”

 

यसरी फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि अहिले उनले खेती बढाएका छन् । ४ महिना अघि आधा रोपनी जमिनबाट सुरु गरेको व्यवसायीक फूल खेती अहिले ६ रोपनी जमिनमा विस्तार गरेको ज्ञानप्रसादले बताए । उनले भने, “आफ्नै ठाँउमा केही गरौँ न भनेर यो पेशालाई अँगालेको म अहिले सन्तुष्ठ छु । अरु खेती गर्दा जस्तो दुःख छैन । छोटो समयमा नै उत्पादन लिन सकिन्छ ।”

 

भारतको कोलकत्ताबाट फूलको बिऊ ल्याएर खेती सुरु गरेको उनले बताए । गाँउमै व्यवसायीक फूल खेती गरेपछि ज्ञानप्रसादले उनकै उमेरका अरु युवाहरुलाई पनि रोजगारी दिएका छन् । वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाइसकेका ९ जना युवाहरुलाई विदेश जानबाट रोकेको बताउदै अहिले उनिहरु फूल खेतीमा नै रमाइरहेको उनले बताए ।

 

बैदेशिक रोजगारीबाट फर्किएका उनिसँगै अहिले सुनकोशी ३ र ५ वडा युवाहरु पनि उनलाई साथ दिएका छन् । उनिहरुले उत्पादन गरेका फूल दैनिकरुपमा राजधानी काठमाण्डौँमा निकासी हुने गरेको छ । अहिले दैनिक १४ हजार रुपैयाँको फूल तथा माला विक्रि भइरहेको उनले बताए । “कार्यक्रमहरुमा मालाको माग बढ्दो छ । उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार अनुसार उत्पादन गर्न सकिएको छैन ।” उनले भने, “विदेशमा गर्ने मेहनत आफ्नै ठाँउमा गर्न सके विदेशकोभन्दा दोब्बर आम्दानी गर्न सकिन्छ । तर कुनै पनि पेशालाई ठुलो वा सानो चाँही भन्नु भएन ।” विभिन्न स्थानको फूल खेतीको अवलोकन गरेपछि सम्भावना देखेरै लगानी गरेको बताउदै उनले अहिले यसैबाट नाम र दाम दुबै दिइरहेको बताए ।

 

खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएकाले रोजगारीका लागि फूल खेती भरपर्दाे माध्याम बनेको उनले बताए । व्यावसायिकरुपमा फूलखेती गर्नका लागि प्राविधिक ज्ञान, सीप भए आफ्नै ठाँउमा सजिलैसँग आम्दानी गर्न सकिने उनको भनाई रहेको छ ।

 

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६