• बुधबार, अशोज १, २०७६
  • Wednesday 18th September 2019

हस्तकलाका सामान बिक्री गर्न बजारकै समस्या

सिन्धुली सौगात

झण्डै १० बर्षदेखि बाँसमा आधारित हस्तकलाको सामान व्यवसाय गरेर जीवन धान्दै आएका हस्तबहादुर कार्कीलाई अब के गरेर परिवार पाल्ने भन्ने पिरलो बढेको छ ।

 

कमलामाई नगरपालिका–९ कोरुमखोला निवासी हस्तबहादुर मात्र होईन, बाँसमा आधारित हस्तकलाका सामान बनाएर जीविकोपाजर्न गर्ने सयौ उद्यमी सुक्दै गएको व्यवसायबाट चिन्तित बनेका छन् । उत्पादित समान् बिक्री गरी आम्दानी लिन स्थानीयस्तरमा पर्याप्त बजारीकरण नहुदा समस्या आएको उद्यमीहरुको भनाई छ ।

 

झुँगा बेतबाँस उद्योगका सञ्चालक समेत रहेका उद्यमी हस्तबहादुरले भने, “जङगलमा बाँस पनि पाईन छाड्यो । झन त्यही माथि उत्पादन भएका सामानले सहज बजार नपाउदा पेशा नै छाड्नु पर्ने अवस्था आएको छ ।” झन जङगलमा जंगली हात्ति छिरेपछि समस्या थपिएको उनले बताए ।

 

उद्यमी हस्तबहादुरले तीन महिनाको तालिम लिएर सात बर्षअघि गाँउमै २० हजार रुपैया लगानी गरी झुँगा बेतबाँस उद्योग स्थापना गरी बाँसमा आधारित हस्तकलाको सामान उत्पादन गर्न सुरु गरेका थिए । अहिलेसम्म उद्योगमा लगानी एक लाख रुपैया नाघेको उनको भनाई छ ।

 

सुरु–सुरुका बर्षमा उत्पादन भएको सामान काठमाडौँ र बुटबल पुर्‍याई बिक्री गर्दै आएको चर्चा गर्दै उनले भने, “त्यतीखेर मासिक २०/२५ हजार रुपैया कमाइ हुन्थ्यो । परिवार पाल्न पनि सजिलो भएको थियो ।”

 

उद्यमीहरुले बाँसबाट मुढा, र्‍याक, चुरीस्टेण्ड, मोबाई स्टेण्ड, प्यान होल्डर, जोलारी बक्स, स्टे«, कपडा ह्याङगर, मान्द्रो, डालो, डोका लगायतका हस्तकलाका सामान उत्पादन गदै आएका छन् ।

 

तीनपाटन गाँउपालिका–२ भिमस्थानस्थित ‘खड्ग बाँस हस्तकला उद्योग’ का सञ्चालक खड्गबहादुर श्रेष्ठले पनि हस्तकलाका सामानलाई बजारकै समस्या रहेको बताए । उनका अनुसार घरायसी बाँसभन्दा जंगली बाँसबाट निर्माण गरिएको समान बढी टिक्ने हुनाले ग्राहकले पनि त्यस्तै सामान रुचाउछन् । अर्को तिर घरायसी बाँसबाट उत्पादन गरिएका सामान महँगासमेत हुन्छन् ।

 

“तसर्थ पनि यो पेसाबाट जीवन धान्न गाह्रो हुदै गएको छ,” उनले भने । २०६४ सालदेखि नै १५ हजार रुपैया लगानी गरी गाँउमै उद्योग खोलेर हस्तकलाको समान उत्पादन गर्दै आएको पनि उद्यमी श्रेष्ठको भनाई छ ।

 

यता उपभोक्ता पनि दैनिक जीवनमा प्रयोग हुने बाँसका घरायसी सामान बिगतको तुलनामा धान्नै नसकिने गरी महँगा भएको बताउछन् । कमलामाई नगरपालिका–४ मल्लागाँउ निवासी गृहणी तुलसा दाहाल हस्तकलाका सामानको सट्टामा प्रयोग हुने बजारमा किन्न पाईने सामान् सस्तो भएकाले पनि समस्या आएको बताउछिन ।

 

घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले जिल्लामा एक दर्जनको हाराहारीमा बाँसमा आधारित हस्तकलाका उद्योग दर्ता भई सञ्चालनमा रहेको जनाएको छ । समितिका बरिष्ठ उद्योग अधिकृत माधव काफ्ले हस्तकलाका उद्योगलाई प्रबद्र्धन गर्न उत्पादित सामानलाई बेलाबेलामा प्रदर्शनीमा पठाई सहयोग गर्दै आएको बताए ।

 

तालिममा प्रयोग भएका मेसिनहरु उद्यमीहरुलाई ८० प्रतिशत मूल्यमा छुट दिई कार्यालयले सहयोग गर्दै आएको चर्चा गर्दै उनले भने, “एउटा उद्योगमा तीन लाख रुपियासम्म लगानी पूजी रहेको छ ।”

 

प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६