• बुधबार, अशोज १, २०७६
  • Wednesday 18th September 2019

सवारी चालकको स्वास्थ्य परीक्षण

सिन्धुली सौगात

जिल्ला ट्राफिक प्रहरी सिन्धुलीले सवारी दुर्घटना न्युनिकरणका लागि सडकमै सवारी चालक र सह चालकको स्वास्थ्य परीक्षण गरेको छ ।

 

कमलामाई नगरपालिका, सिन्धुली जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको सहकार्यमा शनिवार सिन्धुली माझीटारको ट्राफिक चेक पोइन्टमा चालक र सहचालकको आँखा, ब्लड प्रेसर तथा सवारीको यान्त्रिक अवस्थाका बारेमा जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

 

शिविरमा ९६ चालक र सहचालकको आँखा तथा ब्लडप्रेशर जाँच गरिएको थियो । जाँच गरिएका मध्ये एकजनाको आँखामा समस्या देखिएको, तीसजनामा उच्च रक्तचाप तथा दशजनामा रक्तचाप कम देखिएको ट्राफिक कार्यालय सिन्धुलीले जनाएको छ ।

 

चालक र सहचालकको स्वास्थ्यका कारण दुर्घटना हुने गरेकोमा स्वास्थ्य परीक्षणबाट दुर्घटनामा न्युनिकरण आउने ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णुबहादुर बस्नेतको भनाइ छ ।

 

स्वास्थ्य परीक्षणका क्रममा सिन्धुली कलाघरको सहकार्यमा सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक सडक नाटक पनि प्रदर्शन गरिएको थियो ।

 

ट्राफिक प्रहरीको जनचेतनामूलक अभियानले सिन्धुलीमा पर्ने राजमार्गमा पछिल्लो समय दुर्घटनामा न्युनिकरण भएको ट्राफिक प्रहरी सिन्धुलीको दाबी छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ११, २०७६