• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

टि–२० सिरिज जित्दै नेपालद्वारा इतिहास कायम, उपराष्ट्रपति देखि प्रचण्डसम्मको बधाई

प्रकाशित मिति : आइतवार, माघ २०, २०७५

सिन्धुली सौगात
Nepali_Cricket

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

 

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो । एकसय पाँच रनको लक्ष्य पछ्याउने क्रममा युएइले १० ओभरमा आठ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो । युएइलाई ९० रनमै समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले दुई÷दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए । ब्याटिङर्त युएईका लागि गुलाम शब्बीरले २५, साइमन अनवरले ३० र मोहमद बोताले १० रन बनाएका थिए ।

 

यसअघि टस हारेर ब्याटिङ गर्दै नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाएका थिए । बलिङतर्फ युएईका मोहमद नाभिद र सुल्तान अहमदले दुई÷दुई तथा अमीर हयात, जोहर खान र मोहमद बोताले एक÷एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच करन केसी तथा प्लेयर अफ द सिरिज नेपालकै अविनाश बोहरा भए । यसअघि नेपालले युएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले जित्दै इतिहास बनाएको थियो ।

 

उपराष्ट्रपतिको बधाई

 

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली क्रिकेटमा नयाँ इतिहास रचेर नेपालीलाई खुशी दिएकामा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विशेष धन्यवादसहित बधाई दिएका छन् ।

 

उपराष्ट्रपतिले आज एक शुभकामना सन्देश दिनुहुँदै नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का तथा टिमका सदस्यप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गरेका हुन् । उनले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेर इतिहास बनाएकामा खुशी व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले प्रतियोगिताका क्रममा अन्तर्रा्ष्ट्रियस्तरमा नै कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने रोहितकुमार पौडेल र ट्वान्टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने सन्दीप जोरालगायत खेलाडीलाई बधाई तथा धन्यवादसमेत दिएका छन् ।

 

उनले सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको उल्लेख गर्दै नेपालले छिट्टै एकदिवसीय र टि–२० विश्वकप खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले ले क्रिकेटलगायत खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण गराएका छन् । क्रिकेटमा प्राप्त उपलब्धि र यसबाट प्राप्त खुशीलाई नेपाली क्रिकेट र समग्र खेलकूदको विकासमा रुपान्तरण गर्न सबैलाई अपिल गर्नुभएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

 

प्रचण्डको बधाई

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेपाली क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।

 

अध्यक्ष दाहालले खेलाडीलाई बधाई ज्ञापन गर्दे विश्वस्तरीय प्रतिष्पर्धामा नेपाली खेलाडीको एकपछि अर्को जितले सम्पूर्ण नेपालीमा उत्साह र उमङ्ग छाएको उल्लेख गरेका छन् ।

 

अध्यक्ष दाहालले आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरेका छन् ।