• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

आजका पत्रपत्रिकामा के–के छापिए ?

प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६

पत्रपत्रिकाबाट

राजधानी काठमाडौंबाट २०७६ साल भदौ २८ गते शनिवार प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषयलाई आफ्नो प्राथमिकतामा राखेर समचार प्रकाशन गरेका छन ।

गृहमन्त्रीका भाइले किन भेटे कैदी ?, प्रतिस्पर्धाबिनै सेनाका सामान खरिद, संसदीय उपसमिति मेडिकल माफियाको प्रभावमा, ६० हजार कर्मचारी व्यवस्थापनमा अन्योल आजका पत्रिकामा छापिएका समाचारका प्रमुख हेडलाइन हुन् ।

कान्तिपुर दैनिकले फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएको समाचार छापेको ।

केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन् ।

ब्युरोसँगको बयानमा नरेशले फिरौती संलग्न धन्दाका आठ आरोपीमध्ये तीन जनालाई चिनेको बताएका छन् ।

बस्नेत गत वर्ष असोज २३ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई राजधानीको शान्तिनगरमा गाडीभित्रै गोलीप्रहार गरी हत्या गरेको घटनाका मुख्य आरोपी हुन् । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

कान्तिपुरमै माओवादी लडाकु समायोजन पूरा भएको पाँच वर्ष बितिसक्दा पनि नेपाली सेनाको बिनाप्रतिस्पर्धा खरिद भइरहेको समाचार छ । लडाकु समायोजन प्रक्रिया सुरु भएपछि जारी कार्यविधिलाई नै अहिलेसम्म निरन्तता दिँदा समान आपूर्तिमा खुला प्रतिस्पर्धा हुन नसकेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकमा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमिति मेडिकल माफियाको प्रभावमा परेको समाचार छ । मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनबाट मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न सिफारिस गर्ने प्रस्ताव नै हटाइएको छ । संसदीय उपसमिति माफियाको प्रभाव परेर कारबाहीको अंश हटाइएको समाचारको निष्कर्ष छ ।

राजधानी दैनिकले कर्मचारी व्यवस्थापनको आधार र मापदण्ड नबन्दा ६० हजार कर्मचारी व्यवस्थापनमा अन्योल भइरहेको समाचार छापेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले ट्रिपर र ट्रकका कारण भएका दुर्घटनाको तथ्यांक प्रस्तुत गर्दै साँझ परेसँगै सडक टिपरको कब्जामा पर्ने गरेको समाचार लेखेको छ ।

गोरखापत्र दैनिकले सैनिक गठबन्धनमा सामेल नहुने नेपालको नीतिबारे प्रमुख समाचार छापेको छ ।

 

के-के छापिए आजका पत्रपत्रिकाको  फ्रन्टपेजमा ?