• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

कसरी गर्ने डेंगु नियन्त्रण? सरकार र नागरिकको भूमिका के?

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

डा यदुचन्द्र घिमिरे

लेखक : डा यदुचन्द्र घिमिरे

 

डेंगुको बारेमा पहिलो पटक सन् १७८० मा वर्णन भएको पाइन्छ। यो रोग दोस्रो विश्वयुद्घको समयदेखि विश्वमा समस्याका रुपमा आएको हो। सन् १९५० मा फिलिपिन्स र थाइल्यान्डमा यसको माहामारी भएको थियो। यसको भाइरस सविन भन्ने व्यक्तिले १९४४ मा पत्ता लगाएका हुन्। हाल विश्वभरि अर्थोपोडाबाट सर्ने रोगहरुमा डेंगु भाइरसको संक्रमण सबैभन्दा बढी देखिन्छ।

वर्तमान समयमा डेंगुले विश्वका १ सय २५ भन्दा बढी देशमा रहेका मानिसमा संक्रमण गरेको देखिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालका दशकमा विश्वमा यसको विस्तार नाटकीय रुपमा भएको छ। संसारभरका आधा जति जनसंख्या डेंगुको जोखिममा रहेका छन्। यो रोगबाट संक्रमितहरुमध्ये ठूलो संख्यामा लक्षण नदेखिई निको हुने हुँदा वास्तविक संक्रमण भएका मानिसको कम मात्र प्रतिवेदन हुन्छ।

एउटा अध्यययले प्रतिवर्ष ३९ करोडलाई संक्रमण हुने अनुमान गरेको छ। जसमध्ये १० हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ। यो रोगले समुदायलाई संक्रमण गर्ने कुरा उक्त स्थानमा हुने वर्षात्, तापक्रम, सापेक्षित आर्द्रता, अव्यवस्थित एवं दु्रत सहरीकरणको अवस्था र लामखुट्टेको नियन्त्रणको गुणस्तर आदि जस्ता कुराहरुले प्रभावित गर्छ।

सन् १९७० भन्दा अगाडि केवल ९ वटा देशहरुले मात्र डेंगु माहामारीको सामना गर्नु परको थियो भने हाल धेरै मुलुकले नियमित वा केही वर्षको अन्तरालमा उक्त रोगको माहामारी झेल्नु परिरहेको छ।

नेपालका सबै छिमेकी राष्ट्रहरु पनि डेंगु रोगबाट प्रभावित भएका छन् र यसका विरुद्घ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन्। हाम्रो देशमा पहिलो पटक सन् २००४ मा डेंगुको बिमारी पत्ता लागेको अभिलेख छ। त्यसपछि २००६, २००९ हुँदै अहिलेसम्म आइपुग्दा धेरै वर्षहरुमा यस रोगको माहामारी भई ठूलो धनजनको क्षति भइसकेको छ।

डेंगु रोग नेपालमा एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा विकास भइसकेको छ। यस वर्षको हालसम्म ७ वटै प्रदेशका ५० भन्दा बढी जिल्लामा यो रोग विस्तार भएको देखिन्छ। २०७६ सालको वैशाख महिनादेखि हालसम्म ७ हजार भन्दा बढी र साउन महिनापछि पनि करिब ४ हजार जनालाई संक्रमण भइसकेको तथ्यांकले देखाउँछ। तर योभन्दा धेरै मानिसमा यो रोगको संक्रमण भएको छ भनेर वैज्ञानिक रुपले अनुमान लगाउन सकिन्छ। नेपालको प्रदेश नम्बर ३ सबैभन्दा बढी प्रभावित भए पनि देशका सात वटै प्रदेशमा यसले संक्रमण गरिसकेको छ।

यो रोग लगाउने भाइरस संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एवं संक्रमित मान्छे (डेंगु रोगी) बाट संक्रमित नभएको उक्त जातको पोथी लामखुट्टे पनि संक्रमित हन्छ। संक्रमित पोथी लामखुट्टेले पार्ने फूलबाट विकास हुने वयस्क लामखुट्टे समेत संक्रमित हुने र सबै प्रदेशमा डेंगुका रोगी भएका तथा यस रोगको बाहक एडिस लामखुट्टे पनि पाइएकाले संक्रमण चक्र नष्ट गर्न ठूलो प्रयासको जरुरत पर्छ। नेपालका अधिकांस जिल्लामा यसले फूल पार्ने उपयुक्त ठाँउहरु रहेका छन्। त्यसैले यस रोगको नियन्त्रणका लागि आम जनसमुदायको सहभागिता अत्यावश्यक हुन्छ।

यो रोगको कारक तत्व के हो?
डेंगु एडिज एजिप्टाई र एडिज एल्बोपेक्टस नामका लामखुुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो। चार प्रकारका डेंगु भाइरसहरु (डेंगु–१, डेंगु–२, डेंगु–३, डेंगु–३, डेंगु–४) ले यो रोग गराउँछन्। एउटा भाइरस (एउटा सेरो–टाइप) बाट संक्रमण भइसकेपछि शरीरमा सो सेरो–टाइप विरुद्घ जीवनभरलाई जोगाउने प्रतिरक्षा पैदा हुन्छ तर बाँकी अन्य ३ थरीका भाइरस सेरो–टाइपहरुबाट डेंगु हुन सक्छ। दोस्रो पटकको संक्रमणले (अर्को सेरो टाइपले) कडा डेंगु गराउने सम्भावना बढी हुन्छ।

डेंगु कसरी सर्छ ?

– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ। डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ।
– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन।
– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ।

डेंगु सार्ने एडिस जातको लामखुट्टे काहाँ पाइन्छ?

यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्छ। यसले स–साना पानी जमेका स्थानमा फूल पार्छ। विशेषतः टिनका डब्बा, थोत्रा टायर, खाली ड्रम, फूलदानी, गमला, पानीको ट्यांङ्की, दहीका बट्टा आदि जस्ता वर्षात्को पानी जम्ने भाडाकुँडाहरुमा यसले फूल पार्छ। सहरी क्षत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने हुँदा पनि यो लामखुट्टे सहरी क्षेत्रमा बढी पाइन्छ। एडिस कालो रङमा सेता थोप्ला रहेको तथा टाटे–पाटे हुन्छ। यसले खासगरी दिउँसो टोक्ने गर्छ। धेरै दिनसम्म स्थिर रहेको सफा पानीमा फूल पार्छ।

डेंगुका लक्षण केके हुन्छन्

– उच्च ज्वरो
– कडा खालको टाउको दुखाइ हुने
– आँखाको गेडी पछाडि दुख्ने
– मांसपेसीको दुखाइ
– वाकवाक लाग्ने र वान्ता हुने
– शरीरमा राता खालका बिमिरा देखिने
– कडा खालको डेंगुमा विभिन्न जटिलताका लक्षण देखिन्छन् र उपचार नभएमा बेहोस भई मृत्यु समेत हुन सक्छ।

धेरै संक्रमित व्यक्तिहरुमा लक्षणहरु नदेखिई रोग आफैं निको भएर जान्छ तथा अन्य केहीलाई सामान्य रुघा लागेको जस्तो ज्वरोका लक्षणहरु मात्र देखिन्छन्। सामान्यतया लामखुट्टेले टोकेको ३ देखि १४ दिनभित्र रोगका लक्षणहरु देखा पर्छन्।

डेंगुको व्यवस्थापन कसरी गरिन्छ?

– डेंगु विशेषको कुनै पनि खास औषधि छैन, तर चाँडो पत्ता लगाउने र उपयुक्त व्यवस्थापनको भएमा मृत्युदरमा न्यून हुन्छ।

– डेंगु ज्वरो धरैजसो आफैं निको हुन्छ। स्वास्थ्य संस्थाहरुमा लक्षणका आधारमा उपचार गरिन्छ। यस्तोमा ज्वरो र दुखाइ कम गर्ने सिटामोल प्रयोग गनुपर्र्छ तर एस्पिरिन, बु्रफेनका जस्ता औषधिहरुको प्रयोग गर्नु हुँदैन। प्रशस्त झोल खाद्य पदार्थ खाने र आराम गर्नाले सन्चो हुन सजिलो हुन्छ। तर रोगको जटिलता बढेमा अस्पतालमा भर्ना भई चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनु पर्छ।

– कडा डेंगुको सावधानीका उपचारका र उपयुक्त व्यवस्थापन आवश्यक हुन्छ। समयमै उपचार हुनसके रोग निको हुन सक्छ र मृत्यूदर १ प्रतिशतभन्दा कम हुन्छ।

डेंगुको रोकथामका उपाय केके छन्?

– डेंगु विरुद्घको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो।
– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्नेे
– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने
– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने
– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्नेे
– डेंगुका बारेमा जनचेतना अभिवृद्घि गरी सक्रिय जनसहभागिता र संलग्नतामा लामखुट्टेको बासस्थान र ब्रिडिंग स्थान नष्ट गर्ने र दिगो नियन्त्रणका उपायहरु अवलम्बन गर्र्ने
– लामखुट्टेको टोकाइबाट बच्ने
– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने
– झुलको प्रयोग गर्ने
– झ्याल–ढोका जस्ता प्रवेशद्वारमा लामखुट्टे भगाउने उपकरणहरु राख्ने
– शरीरका अंग ढाक्ने खुकुला कपडा लगाउने
– शरीरमा लामखुट्टे भगाउने मल्हमहरुको प्रयोग गर्ने
– डेंगु प्रभावित क्षेत्रमा भ्रमण गर्दा लामखुट्टेको टोकाइबाट बच्न विषेश ध्यान दिनु पर्छ।
– स्कुल, अस्पताल र कार्यक्षेत्र जस्ता मानिस र लामखुट्टेको बढी सम्पर्क हुने स्थानहरुमा नियन्त्रणका उपायहरु प्राथमिकता दिने।

पानी जम्मा हुने भाडामा एक प्रकारको माछा पालेमा लामखुट्टेका लार्भा खाइदिन्छ। यसको प्रभावकारी प्रयोग नेपालमा हुन सकेको छैन। किटनासक विषादीको प्रयोग गर्दा धेरै विचार गर्नुपर्ने र ध्यान दिनुपर्ने हुन्छ। डेंगु विरुद्घ खोपको विभिन्न देशहरुमा अध्ययन भइरहेको भए तापनि यसको प्रभावकारिता एकिन भएको छैन। चार किसिमका सेरो–टाइपबाट डेंगु लाग्ने भएकाले तत्कालै प्रभावकारी खोप पत्ता लागेर प्रयोगमा आउन सक्ने सम्भावना समेत धेरै कम छ। लामखुट्टेलाई निर्मुल गर्न असम्भव जस्तै हुन्छ र भाइरस नियन्त्रण गर्न औषधिका बारेमा अध्यायन भइरहेको छ। त्यसकारण डेंगुको रोकथाम लामखुट्टेको प्रभावकारी व्यवस्थापनमा भर पर्छ।

हालै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले, हेटौंडामा गरेको अध्यायनमा ६२.८ प्रतिशत पानी जम्मा हुने भाँडामा एडिस जातका लामखुट्टेका लार्भा तथा प्यूपा पाइएको थियो। पानी जम्मा भएका जम्मा १४ प्रकारका भाँडाहरुमध्ये सबैभन्दा बढी (२० प्रतिशत) प्लास्टिकका ड्रममा एडिस जातका लामखुट्टेका लार्भा तथा प्यूपा पाइएको थियो। त्यस्तै १४.६ प्रतिशत अटोमोबाइल टायरहरु, ६.८ प्रतिशत प्लाष्टिक तथा मेटलका बाटा÷मग, ३.४ प्रतिशत सादा प्लास्टिक/मेटलका भाँडा, ३.१ प्रतिशत प्लास्टिक कप, २.६ प्रतिशत मेटलका ड्रम, २ प्रतिशत प्लास्टिक/ग्लासका बोतल,२ प्रतिशत प्लास्टिक/मेटलका कप, १.२ प्लास्टिक÷फ्रिजका भाँडा, १.२ प्रतिशत फूलदानी र ३.३ प्रतिशत अन्य पानी जम्मा हुने भाँडाहरुमा सो लामखुट्टेका लार्भा तथा प्यूपा पाइयो।

१४ प्रकारका भाँडाहरुमध्ये १३ वटा भाँडाहरुमा लामखुट्टेका लार्भा तथा प्यूपा पाइएको थियो। केही अगाडि मात्र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले नै पोखरा र धरानमा गरेको अध्यायनमा समेत यस्तै नतिजाहरु प्राप्त भएको थियो। यस्ता लामखुट्टेका लार्भा तथा प्यूपा बढी हुने स्थानमा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्दा लामखुट्टे नियन्त्रण अभियानको प्रभावकारिता धेरै हुन्छ।

डेंगु नियन्त्रणमा कठिनाइहरु केके छन्?

डेंगु रोगका बहुपक्षीय आयामहरु छन् र रोकथामका लागि स्वास्थ्य क्षेत्रको अलावा अन्य जनसरोकारवाला र आम समुदायको सक्रिय सहभागिता अपरिहार्य हुन्छ। त्यसैले विश्वका विकसित मुलुकहरुमा समेत यो प्रमुख जनस्वास्थ्य समस्याको रुपमा विद्यमान छ। हाम्रो जस्तो सीमित स्रोत–साधन भएका देशमा यसको रोकथाम र नियन्त्रण निकै चुनौतीको विषय छ।

यो रोगको लाग्ने प्रक्रियाको अतिरिक्त स्वास्थ्यको परिवर्तित संरचना एक किसिमले अन्तरिम नै रहनु, कर्मचारी समायोजनमा ढिलाइ हुनु, किटजन्य रोगसँग सम्बन्धित स्वास्थ्य संस्थाको कुनै पनि प्रदेशमा प्रभावकारी सञ्जाल नहुनु एवं भएका संस्थहरुमा दरबन्दी कम स्वीकृत हुनु, भएका ती दरबन्दी पनि रिक्त रहनु जस्ता कारणले रोग नियन्त्रण गर्न कठिनाइ भएको छ।

यस्तै किटजन्य रोगसँग सम्बन्धित फोकल पर्सनहरुको दरबन्दी कटौती÷फाजिलमा पर्नु, आरआरटीको प्रभावकारी परिचालन हुन नसक्नु, स्थानीय तहमा कार्यरत स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिमा कमी हुनु र स्वास्थ्य कार्यक्रम सन्चालनका क्रममा विभिन्न निकायहरुबीच देखिने गरेका दोहोरोपन तथा अस्पष्टता, तीन तहका सरकार बीचको अधिकार, कर्तव्य र जिम्मेवारीबारे समझदारी, समन्वय तथा सहकार्यको कमी आदि कारणले हाम्रो देशमा अन्य स्वास्थ्य समस्या समाधान समस्या भए जस्तै यो रोग नियन्त्रण गर्न थप कठिनाइ भएको छ।

यसका अतिरिक्त तीनै तहका सरकारको स्पष्ट नीतिगत व्यवस्थाको अभावमा संस्था, समाज र व्यक्तिले आफ्नो हेलचेक्र्याईं र अव्यवस्थाले अरु समुदायलाई डेंगु लाग्न सक्ने आनी–बानी र व्यवहार हुँदा समेत त्यस्ता संस्था, समाज र व्यक्तिलाई दन्डित गर्न नसक्ने विद्यमान अवस्था पनि डेंगु नियन्त्रणका ठूलो समस्या हो।

निष्कर्ष

प्रमुख जनस्वास्थ्य समस्याको रुपमा संसारका अधिकांश देशमा व्याप्त रहेको डेंगुको निवारण छोटो समयमा हुने सम्भावना देखिँदैन। यसको नियन्त्रणका लागि लार्भा, प्यूपा र वयस्क लामखुट्टेको प्रभावकारी व्यवस्थापनका साथै संक्रमित व्यक्तिको यथासम्भव चाँडो उपचार तथा व्यवस्थापन गर्नुपर्छ ताकि संक्रमित व्यक्तिबाट संक्रमण नभएको पोथी लामखुट्टे संक्रमण हुन नसकोस्। सरकारको डेंगु नियन्त्रणसम्बन्धी प्रभावकारी नीति हुनुपर्छ।

समुदाय स्तरका स्वास्थ्य संस्थाहरुले जनताको प्रत्यक्ष सहभागितामा सरसफाई, नागरिकका स्वस्थ्य जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रबर्धनका कार्यक्रममा बढी समय र प्राथमिकता दिने व्यवस्था गर्नुपर्छ। यो रोगको नियन्त्रणका प्रभावकारी उपायहरुका लागि उपयुक्त खालका अध्ययन अनुसन्धान गर्नुपर्छ।

लामखुट्टे खोज्ने र नष्ट गर्ने कार्य सहित डेंगु नियन्त्रणको योजना बनाउने बेलादेखि कार्यान्वयन गर्ने सबै प्रक्रियाहरुमा सक्रिय जनसहभागिता जुटाउनुपर्छ। बहुपक्षीय सहकार्य, समन्वय र प्रशासनिक सुधार मार्फत आम जनताको अपनत्व र विश्वास वृद्घि गर्नुपर्छ। यसका लागि स्वास्थ्य सेवा प्रभावकारी बनाउनुका साथै सेवा प्रदायक निकायहरुका बीच अधिकार, कर्तव्य र दायित्वका बारेमा व्यावहारिक स्पष्टता जरुरी छ। राज्यका निकायहरु, नागरिक समाज र आम जनताले चासो लिई यो रोगको नियन्त्रणमा सहभागी भई योगदान गर्नु नै सबैको हितमा हुने छ।

-(डा घिमिरे किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाका निर्देशक हुन्)
स्वास्थ्य खवर पत्रिका बाट ।