• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सत्य बोलौं, इमानदार बनौं

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

बिनोद दाहाल

लेखक : बिनोद दाहाल

आदर्शवादले मानिसलाई सत्य बुझ्न दिंदैन । हेगेल इमानदार हुँदाहुँदै पनि आदर्शवादी भएका कारण सत्यको पक्षपाती हुन पाएनन् । त्यस्तै अवशरवादले पनि कहिल्यै सत्य बोल्दैन । यसमा ठिक्क उल्टोपाटो हुन्छ । अवशरवादीले पनि कहिल्यै सत्य बोल्दैनन् र इमानदार पनि हुँदैनन् । त्यसैले यस्ता मानिसहरु अवैज्ञानिक र रहस्यलाई प्रधान मान्ने गर्दछन् । उनीहरु सारमा अस्तित्वदेखि अहिलेसम्म समाज जस्ताको तस्तै, मानिस र मानिसका सोचाइहरु जस्ताको तस्तै र मानिसका मनोबृत्ति अनि व्यवहारहरु पनि जस्ताको तस्तै रहने बुझाइ पेश गर्ने गरेका छन् । मानिस यस्ता हुन्छन् उस्ता हुन्छन, मानिसका व्यवहारहरु यस्ता र उस्ता हुन्छन् भनेर बुझ्ने र व्याख्या गर्ने गर्दछन् जबकि मानिस, मानिसका सोचाई, व्यवहारहरु समाज विकास क्रमसँगै बदलिएका छन, पछि पनि बदलिने छन् । उत्पति र अस्तीत्व सम्बन्धि अवैज्ञानिक र कुतर्कसँग द्वन्दात्मक भौतिकवादीहरुको पछिल्लो पौने २ सय वर्षदेखि घनिभुत संघर्ष हुँदै आएको छ । द्वन्दात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादले हरेक सच्चाइलाई पुष्टि गर्नसक्छ ।

मानिसको सोचाई र व्यवहार पहिले जस्तो अहिले छैन, अहिले जस्तो पछि हुँदैन र पछिको कुरा अहिले सामान्य अनुमान लगाउन मात्र सकिन्छ । पहिला जस्तो थियो अहिले पनि उस्तै छ भन्ने जस्ता कुरा सहि हुँदैहैन । यही कारण धर्म असत्य प्रमाणित भएको छ र त्यो भ्रमबाहेक केही हैन भन्ने स्पष्ट भैसकेको छ । बुद्धलगायतका धर्मगुरुहरु र महात्माहरु आदर्शवादमै अन्त्य भए, कोही रहस्यवादमै अस्ताए । इतिहासको भौतिकवादी व्याख्या गर्न उनीहरु चुकेका छन् । कैयौं राजनीतिक नेतृत्व सत्तामा पुग्ने र ऐश्वर्य प्राप्त गर्ने नियतले कुतर्क, अवैज्ञानिक र रहस्यमय कुरा गरेर थयार्थलाई ढकछोप गर्ने स्थितिमा देखिएका छन् । यिनीहरुले आफ्नो वर्गमाथि घात गर्दै शक्ति आर्जन गरिरहेका हुन्छन् ।

माक्र्सवादले द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोण पेश गरेपछि मानिस सत्य पहिल्याउन सफल भएको छ । मानिसमा भएको विश्वदृष्टिकोणले इतिहासको भौतिकवादी व्याख्या शुरुभयो, वर्गीय समाज वर्गसंघर्षबाट अन्त्य हुने घोषणा भयो, वर्गीय समाजमा मानिसमा वर्गीयता हुन्छ अनि मानवता गुमेको हुन्छ भन्ने सच्चाइ प्रभावकारि बन्नपुग्यो । हरेक बस्तु, समाज, मानिसको चेतना एकअर्कोमा आश्रित छन, विकासको गतिमा छन, जीवन र जगत बोधगम्य छ, हरेक बस्तु पुरानोको गर्भबाट उत्पत्ति भएको हुन्छ, बस्तुमा रहेको अन्तरबिरोधको प्रक्रिया वा द्वन्दात्मक सम्बन्ध हुन्छ भन्ने सच्चाइ मानिससामु आएपछि मानिसको सोचाइ र बुझाई नै बदलिएको छ ।

मानिस आदिम युगमा कोही शक्तिशाली हुन सक्दैनथे वा व्यक्तिबिशेषको शक्तिको कुनै काम थिएन, अर्थात केही गर्न सक्दैनथ्यो । कुनै यस्तोबेला आयो कि व्यक्तिले बचत सम्पत्ति हत्याएपछि आर्जन भएको शक्तिले मानव शक्तिलाई आफ्नो नियन्त्रणमा पार्न सक्यो र आफू मालिक हुन सक्यो । समाज बदलिएर मानिस दास र मालिकमा बदलिए । मालिकले सम्पत्तिकै लागि मानिसको श्रमशीक्तलाई नियन्त्रणमा लिएर सकेसम्मको शोषण र दोहन गरेको स्पष्ट छ । सम्पत्ति नै समाज बदल्ने मुख्य शक्ति रहेको स्पष्ट छ ।

मानिसको सकेसम्मको श्रमशक्तिलाई भूमिमा उपयोग गरि सम्पत्ति थुपार्ने नियत मालिकमा देखिनु स्वभाविक हुनपुग्यो । अधिकतम् मानिसलाई आफ्नो सम्पत्ति थुपार्ने साधनको रुपमा प्रयोग गरिंदा मानिस दास अर्थात मानिस नभएर पुँजी अर्थात थप सम्पत्ति आर्जन गर्ने औजारको रुपमा प्रयोगमा आए । एक अवस्थामा आइपुग्दा मालिक जमिनको स्वामी हुनपुगे र दासहरु भुदास हुँदै किसान बन्न पुगे । यो कार्य केही हजार वर्षसम्म चल्यो र यो नयाँ अवस्थामा पुग्यो । यसले शासक र शासितको रुपमा एकातिर ठगिखाने मानिस राजा, महाराजा, सम्राट र उनीहरुका आशेपासे, आउरे, भाउरे, धुपौरे बन्नपुगे भने अर्का्तिर सम्पुर्ण आर्थिक आधारको रुपमा तर भूमिहिन तथा ठगिएकाहरु गरिब किसानहरु हुनपुगे । यो केही हजारवर्ष अगाडि मानिसले भोगेको र देखेको प्रामाणिक स्थिति हो ।

समाज विकासको क्रम व्यापारको विकासले बदलिन थाल्यो । व्यापारिक पुँजीले आफ्नो अस्तीत्व देखाउन थाल्यो । यहीक्रममा यन्त्र र उपकरणको विकासले औद्योगिक उत्पादन बढाउन थाल्यो । व्यापार र औद्योगिक विकासले पुँजीवाद अस्तीत्वमा आएर सामन्तवादसित संघर्षमा उत्रियो । यहीक्रममा राजा, महाराजाहरुसमेत मारिने ििस्थति देखापर्‍यो । यो केही सय वर्ष अगाडि हामी नजिकैका पितापुर्खाले भोगेको इतिहास हो ।

पुँजीवाद : यो जमिनको मालिक कमजोर भएर सम्पत्तिको मालिक बलियो भएको अवस्था हो । राज्यको नीति नै सम्पत्तिको स्वामीहरुले उनीहरुको हितमा मिलाउने अधिकार पाएको अवस्था पुँजीवादी राज्यव्यवस्था हो । पुँजीवादीहरु शक्तिशाली भएको अवस्थामा पुँजीवाद फस्टाउँछ । ४–५ सयवर्ष पहिला औद्योगिक क्रान्ति, कृषि क्रान्ति, पुनर्जगरणको समयतिर युरोपमा विकसित भएको पुँजीवादको विकास यही अवस्था हो ।

दलाल पुँजीवादः देश बिशेषमा पुँजीवादीहरु कमजोर रह्योभने पुँजीवाद नै कमजोर हुन्छ र पुँजीवादी व्यवस्था नै कमजोर हुन्छ । यस्तो बेला वाह्यपुँजीवादी शक्तिले संझौतामा झुकाएर प्रवेश पाउँछ । देशको पुँजीमाथि वाह्य पुँजीवादले नियन्त्रण जमाएको अवस्थामा उत्पादनमा लागेको सम्पत्ति अर्थात पुँजी कित निस्कृय हुन्छ कित वाह्यपुँजीसँग मिलेर वाह्य पुँजीपतिको स्वार्थका लागि काम गर्न थाल्छ, देशमाथि धोका हुन पुग्दछ । आफ्नै देशको पुँजी आफ्नै देशलाई धोकादिन थालेपछि त्यो दलाल पुँजीवाद हुन्छ । देशले नै त्यही अनुसार नीति तयगर्न थालेपछि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा प्रभाव देखिन थाल्छ । यस्तो राज्यव्यवस्था नै दलाल पुँजीवादी राज्यव्यवस्था हो । अहिले हाम्रो देशमा मात्र हैन प्रायजसो तेश्रो विश्वका मुलुकहरुमा दलाल पुँजीवादी राज्यव्यवस्था छ ।

साम्राज्यवाद : पुँजीवादको विकासले देशको सीमा नागेर अर्को देशमा प्रभाव जमाउने अवस्था पुँजीवादको अतिक्रमण हो । यो अतिक्रमणले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि नियन्त्रण जमाउने आवस्यकता ठानेको र पुँजीवादको चरित्र गुमाएको अवस्था साम्राज्यवाद हो । पहिला युरोपका पुँजीवादी देशहरुले साम्राज्यवादी रुप लिन पुगेका थिए, पछि अन्यत्र पनि विस्तार भयो । पुँजीको शक्ति र होडबाजीले गर्दा युद्धको रुपलिन पुगेको अवस्था नै सारमा साम्राज्यवाद हो । शक्तिशाली हुने होडबाजीसँगै केहीवर्ष अघिसम्म अमेरिका एकल विश्व साम्राज्यवादी हुन पुग्यो । अहिले साम्राज्यवादी देशहरु बिकेन्द्रित हुन पुगेका छन् ।

अहिलेको साम्राज्यवाद : अहिलेको विश्व केही साम्राज्यवादी देशहरुको होडबाजीले शक्तिसन्तुलन कायम गरेको अवस्था हो । एउटा साम्राज्यवादी शक्ति अर्को शक्तिसँग युद्ध गर्न डराइरहेको अवस्थामा छन् । शक्ति र युद्वले साम्राज्यवादी हुने चरित्र बदलेर अमेरिका बिनायुद्ध शक्तिशाली भएपछि र केही पिछडिएको देश (भियतनामलगायतका देशहरुसँग वर्गयुद्ध गर्न नसकेपछि) साम्राज्यवादी शक्तिले प्रत्यक्ष युद्ध लड्न छोडेर र आफ्नो शक्तिलाई अन्यत्र फैलाउने नीति लिंदै अरुलाई युद्धमा फसाएर आफू शक्तिशाली हुने नीति लिन पुगेको देखिन्छ । आफू सामरिक हिसावले बलियो बन्ने, अरु देशलाई गृहयुद्धमा फसाउने, कमजोर पार्ने, त्यहाँ हतियार सप्लाई गर्ने, आफ्नो पहुँच र प्रभाव बढाउने नीति साम्राज्यवादको छ । जुनजुन देश साम्राज्यवादमा पतन भएका छन् उनीहरु सबैले यही नीति नै अख्तियार गरेका छन् । आफू शक्तिशाली हुने क्रममा देश बिशेषका कम्पनिले बहुराष्ट्रिय रुप लिन पुगे । त्यसले स्वभाविक रुपमा बहुराष्ट्रिय वित्तीय संस्थाहरुको माग गर्‍यो । साम्राज्यवादले पनि बहुराष्ट्रिय हुँदै बित्तीय साम्राज्यवादी रुप लिन पुग्यो । राष्ट्रसंघ हुँदै नेटो र संयुक्त राष्ट्रसंघसम्म अनि अन्तराष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंक, विश्व बैंक हुँदै सबैथोक कब्जामा लिएर एकल साम्राज्यवादी बनेको अमेरिका अहिले अन्य उसैगरि अस्तीत्वमा रहेका साम्राज्यवादीशक्ति देशहरुसँग डराइरहेको छ । बिनाकारण युद्धको घोषणा गरेर आइलाग्ने अमेरिका अहिले धम्कीको भाषा मात्र बोल्ने गरेको छ । आर्थिक हिसाबले चीन, सामरिक हिसाबले उत्तरकोरिया, अन्तरिक्ष प्रक्षेपण र प्राबिधिक हिसाबले पुर्वप्रतिस्पर्धी रुसलगायतको अन्तराष्ट्रिय प्रभावपछि र देश भित्रै मन्दी, बिद्रोह, अव्यवस्थाले अहिले अमेरिकाको अन्तराष्ट्रिय शाख घटेको छ ।

अहिले अमेरिकी साम्राज्यवादी व्यवस्थापन अत्यन्तै कमजोर र भद्दा देखिन्छ । आफ्नो व्यवस्थाको उपरिसंरचना टिकाउनको लागि वाह्य मुलुकबाट शोषण र दोहन नगरि सम्भावना नै छैन । अमेरिकाको जतिजति बाह्य प्रभाव घट्दै जान्छ अर्थात अरु साम्राज्यवादी शक्तिहरुले जति प्रभाव बढाउँदै जान्छन् उतिउति अमेरिकी साम्राज्यवाद संकटमा फस्दै जान्छ । यसको मतलव अमेरिकी साम्राज्यवाद कमजोर हुँदैमा तेश्रो विश्वका देशहरु मुक्त हुँदै जानेछन् भन्ने हैन, अर्को साम्राज्यवादको चपेटामा फस्दै जाने हुन् । चीनको वान रोड वान बेल्ट इनिसिएटिभ (बिआरआई)ले एसियादेखि युरोप र अफ्रिकासम्म चीनीयाँ साम्राज्यवादको हरेक क्षेत्रमा प्रभाव विस्तार हुनेछ । चीनीयाँ यो योजनादेखि अरु सबै साम्राज्यवादी शक्तिहरु हच्किएका छन् । चीन नयाँ साम्राज्यवादी शक्तिको रुपमा पुग्ने अनुमानहरु हुन थालेका छन् ।

के कुरा बुझ्नु जरुरि हुन्छ भने साम्राज्यवादी शक्तिहरुमा जुनसुकै पुगे पनि गरिब तथा तेश्रो विश्वका मुलुकहरुमा शोषण, दोहन र उत्पिडनको अवस्था घट्ने छैन । पुँजीको विकास र साम्राज्यवादी शक्तिको प्रभाव जस्तो भएपनि गरिब तथा अविकसित मुलुकका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मत भने जस्तै नै हो ।

गरिब तथा अविकसित देशको लागि वर्गयुद्ध सञ्चालन गर्नुको कुनै बिकल्प नै छैन । मालेमावादको सहि प्रयोगबाट देशलाई स्वाधिन बनाउनु र जनवादी सत्ता स्थापनागरि त्यसलाई समाजवादतिर डोहो¥याउनुको कुनै बिकल्प नै छैन र साम्राज्यवादी देशभित्र रहेका सर्वहारा, श्रमजीवि तथा ल्यायप्रेमी जनतालाई उक्त देशमा पनि वर्गयुद्ध सञ्चालनको लागि तयार गर्नुको कुनै बिकल्प नै छैन ।

अहिले केही देश त्यहाँका शासकहरुले साम्राज्यवादी देशबाट साथ र सहयोग लिएर समृद्ध र शक्तिशाली भएको प्रचारप्रसार गरिरहेका छन् । अझ व्यक्ति बिशेषको मनोगत योजनाबाट देश समृद्ध र शक्तिशाली बनेको प्रचार गरेर रमाइरहेका मात्र छैनन्, यहाँ र अन्यत्रपनि त्यही तरिकाले जानु पर्ने कुरा बताइरहेका छन् । साम्राज्यवादी तथा विस्तारवादीका पुँजी र प्रबिधि भित्रयाएर अरुजस्तै हुने वा नक्कल गर्ने दरिद्री शोच र चिन्तन गरिरहेका छन् । उनीहरुबाट जोगिएको देशलाई त यहाँ स्वतन्त्र अस्तित्व देखाउन गारो परेको स्थितिमा साम्राज्यवादीकै पुँजी र प्रबिधि संझौतामार्फत लिएर देश सञ्चालन गर्नु भनेको देश र जनामाथिको धोकाधडिसिबाय केही हुने छैन भन्ने कि त ती अल्पबुद्धिका मानिसहरुले बुझेका छैनन् कित उनीहरु साम्राज्यवाद वा शक्ति केन्द्रका एजेन्टको कोमा गरिरहेका छन् भन्ने बुझ्न कुनै कठिनाइ पर्दैन ।