• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

पार्टीकोे चिन्तन गरेर अगाडी नबढे काँग्रेस ठेकेदारको पार्टी बन्छ : नेता केसी

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

राधिका बुढाथोकी

सिन्धुली २५ भदौ–– नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले काँग्रेसले पार्टीको चिन्ता नभई चिन्तन गर्नु पर्ने बताएका छन् । काँग्रेस पार्टी कार्यालय सिन्धुलीमा बुधवार कार्यकर्ताहरुसँग भेटघाट गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

काँग्रेस अव पनि नसुध्रिए धनाड्य र ठेकेदारको पार्टी बन्ने उनले बताए । काँग्रेसले पार्टीको चिन्ता होईन् चिन्तन गर्नु पर्छ,नेता केसीले भने,“पार्टीकोे चिन्तन गरेर अगाडी नबढे काँग्रेस ठेकेदारको पार्टी बन्छ ।”

उनले काँग्रेस पार्टी कसैको गुण अवगुण तथा हरियो रातो केहि नदेखेर पहेँलो मात्रै देखिने अवस्थामा पुगेको बताए । काँग्रेसलाई जण्डिस मात्रै भएको हो, क्यान्सर भएको छैन, उनले भने, “क्यान्सर भएपछि निको हुन्छ नै भन्ने हुदैन ।”

काँग्रेस पार्टी हाल चुनौतीपुर्ण अवस्थामा रहेको उनले बताए । उनले अब इतिहासको बखान गरेर मात्रै पार्टी नचल्ने जिकिरी समेत गरे । काँग्रेसमा हिङ नभए पनि हिङ बाँधेको टालो छ,भन्ने प्रबृत्ति धेरै रहेको छ । उनले भने,“अब हिङ बाँधेको टालोले पार्टी चल्न सक्दैन् ।”

नेपाली काँग्रेसको जागरण कार्यक्रम जनस्तरबाटै गर्नु पर्ने बताउँदै नेता केसीले जागरणको अर्थलाई बुझेर काम गर्न काँग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन दिए । भाषणले मात्रै जागरण नआउने भएकाले कार्यकर्ताहरुको घरदैलोमै पुगेर सुःख दुःख बुझ्न सक्नु पर्ने उनको धारण थियो । भागवन्डाकै आधारमा अब पार्टी अगाडी बढन् नसक्ने उनको तर्क छ ।

नेता केसीले कम्युनिष्ट सरकारले जनताको करबाट मोजमस्तीलाई मात्रै ध्यान दिएको भन्दै जनताको कार, मोटसाइकल र आइफोन किन्न प्रयोग भएको दावी गरे । देशमा भ्रष्ट्राचार मौलाएको तर्क गर्दै उनले सडक आँगन बढार्ने तथा बादर धपाउने काम गरेर सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा अर्बौ रकम आफ्ना कार्यकर्तालाई बाँडेको आरोप लगाए ।

सोही कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले काँग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालको दुरुपयोगमा समय खेर फालेको बताए ।

सामाजिक सञ्जाललाई सही सदुपयोग गर्न सके चुनाव जित्ने आधार बन्ने तर्क गदँै अब पम्पेल्ट,पोष्टरबाट नभएर सामाजिक संजालको सही सदुपयोग गरे चुनाव जित्न सकिन्छ । सेल्फी खिचेर फेसबुकमा राख्दैमा चुनाव जितिदैन,उनले भने, “व्यवहार सुधारेर मात्रै काँग्रेस बन्न सकिन्छ ।” राम्रो र सुकिलो लगाउदैमा काँग्रेस बचाउन नसकिने भन्दै विचार र एजेण्डाका आधारमा मात्रै काँग्रेस बच्ने नेता गुरुङले बताए ।