• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सहि बिचार निर्माणको सवाल

बिनोद दाहाल

लेखक : बिनोद दाहाल

 

सहि बिचार के हो ? सहि बिचार कोसँग हुन्छ ? र, सहि बिचार कहाँबाट प्राप्त हुन्छ ? सहि बिचार कसरी पत्ता लगाउने ? यो बिषयमा धेरै भन्दा धेरै बहस हुनु जरुरि छ । माक्र्स र एङ्गेल्सको बिचार निर्माण हुनु अगाडि ककस्का र के कस्ता बिचार अग्रस्थानमा थिए भनेर जानकारी लिनु जरुरी छ । माक्र्स र एङ्गेल्सको बिचार निर्माण कसरि र केमा आधारित भएर भयो ? अर्थात माक्र्सवादको उत्पति कसरि भयो ? उक्त बिचारका श्रोतहरु केके हुन् र निर्माण भएको बिचारलाई कसरि बुझ्ने, बिश्लेषण गर्ने र निश्कर्ष निकाल्ने ? अनि प्रयोग गर्ने ? यो बिषयले कम्युनिस्ट आन्दोलनमा मुख्य स्थान पाउनु पर्छ ।

चीनको कम्युनिस्ट पार्टीले बिचारमा आएको यो समस्या भोग्यो । बिचारका कारण कम्युनिस्ट आन्दोलनमा समस्याहरु आउने गर्दछ । चीनीयाँ कम्युनिस्ट पार्टीमा १० वटा भयंकर समस्याहरु आएको माओले एक प्रशिक्षणमा बताउनुभएको थियो । यसको समाधानको लागि कमरेड माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अभियान थाल्नुभयो । यसैक्रममा निरन्तर क्रान्तिको कार्यक्रम पनि अगाडि सारियो । यसमा अवशरवादी कित्ताबाट धेरै नै व्यवधानहरु खडा गरिए । प्रतिक्रियावादीले त्यहीं टेकेर कम्युनिस्ट पार्टी र आन्दोलनबिरुद्ध निक्कै नै बिष बमन गरे । अन्ततः अहिलेसम्म कम्युनिस्टले त्यही नै सहि नीति मानेका छन् भने अवशरवादी र प्रतिक्रियावादीले त्यसको बिरुद्ध आफूलाई खडा गरेका छन् । सकैले कम्युनिस्ट कै नाममा अवशरवादीहरु माओद्वारा अघि सारिएको उक्त नीतिको बिरुद्ध उत्रिए भने प्रतिक्रियावादी वर्गले त आफ्नो काल वा अन्त्य त्यही नीतिमा देख्न पुगे र भीषण आक्रमण गर्न पुगेका छन् । कम्युनिस्ट क्रान्तिकारीहरुले अर्थात सर्वहारा वर्गको अग्रदस्ताले उक्त नीति, सिद्धान्त र बिचारलाई नै सबैभन्दा सहि मानिआएका छन् ।

कम्युनिस्ट आन्दोलनमा ५० औं वर्ष बिताउँदा पनि रुपान्तरण वा बिचार निर्माणमा समस्या देखिइनैं रह्यो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको समस्या भनेको पनि रुपान्तरणको समस्या नै हो । यसो हुनुमा बिचार निर्माणको विकासको बिषयको अभाव खडकिएको स्पष्ट छ । आन्दोलनको नेतृत्व गर्न पुग्ने र पछि सामन्ती नायक वा राजाको दरवारमा पाले हुन पुग्ने, कोही चाहिँँ वर्गदुस्मनले किन्ने हैसियतको बन्ने, कोही चाहिं अध्यात्मिक तथा रहस्यमय कृयाकलापमा लाग्ने, समस्याको जड कुरा यही बुझाइमा रहेको समस्याको कारणले हो । बुझाइको समस्या बहसको अभावमा हुन पुगेको स्पष्ट छ । यो बिचारमा आएको समस्या हो ।

एकजना लेखकले माक्र्सवादको आलोचनाको लागि निक्कै लामो लेख तयार गरेर बजारमा छोडेका छन् । सर्वहारा वर्गसँग केही हुँदैन, यसले केही दिन सक्दैन, जोसँग छ उस्ले गर्ने हो, अहिलेको जमानामा पुँजीपतिले जे पनि गर्नसक्छ, उसैलाई सबै कुरा गर्न दिनुपर्छ भन्ने आशय उनको लेखमा छ । उनका अनुसार सर्वहारा वर्गको राजनीति गर्नेले समाजलाई केही पनि दिन सक्दैन । उनको बिचारले समाजको एउटा वर्गको बिचारको प्रतिनिधित्व गरेको छ । यो समयको प्रतिनिधिमूलक लेखकका धारणाहरुमा यही कमि छ । नियतबस र आर्थिक लाभको प्रयोजनको लागि तयार भएको उनको लेखले माक्र्सवादप्रति बितृष्णा जगाउने नियत राखेको छ ।

माक्र्सवादले भन्छ— हरेक कुरामा शंका गर । त्यही अनुसार माक्र्सवादमा पनि शंका गर्ने, आलोचना गर्ने उनको प्रयासलाई सम्मान गर्न सकिन्छ तर माक्र्सवादले तथ्यमा आधारित भएर शंका गर्ने र वैज्ञानिकताको आधारमा आलोचना गर्ने छुट दिएको छ । वैज्ञानिक सिद्धान्त र बिचारले व्यवहारको कसिमा जाँच गरिने माग गर्दछ । सबै आदर्शवादी बिचार र सिद्धान्त यही व्वयवहारमा जाने बिन्दुमा आएर अन्त्य हुन्छन् । माक्र्सवादले द्वन्दात्मक भौतिकवादी दृष्टिकोणबाट जीवन र वगतलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने, विश्लेषण गर्ने र निश्कर्षमा पुग्ने माग गर्दछ । यही स्थानमा आएपछि सम्पूर्ण बुर्जुवा वर्गको बिचार र राजनीति सकिन्छ र सामरिक र षड्यन्त्र उनीहरुलाई मुख्य आवश्यकता बन्न पुग्दछ । अरु पनि यस्तै धेरै छन् लेखकहरु, लेखक सौरवको लेख पनि त्यही षड्यन्त्रको एउटा हतियार हो ।

माक्र्सकालिन नेता तथा चिन्तक प्रुंदोको “आर्थिक अन्तरबिरोधहरुको प्रणाली अर्थात दरिद्रताको दर्शन” लेखे । माक्र्सले “दर्शनको दरिद्रता” मार्फत खण्डन गरिदिनुभयो । यसरि सन् १८४७ मा खण्डन भएको लेखबाट सर्वहारा वर्गको दर्शनको विकास हुँदै गएको स्पष्ट छ । कार्लमाक्र्स र एङ्गेल्सले मजदुर र सारा श्रमजीविको पक्षमा लागेर निक्कै संघर्षहरु गर्नुभयो । संघर्षकै दौरान समाजमा नयाँ वर्ग अर्थात सर्वहारा वर्ग अस्तीत्व आएर संघर्षको मोर्चा खोलेको र मानव जातीको लागि सबैभन्दा महान् बिचार र व्यवस्था खोजेको अर्थात साम्यवादको लागि संघर्ष गर्नथालेको उदघोष गर्नुभयो । उहाँहरुमार्फत आएको सर्वहारा वर्गको महान् बिचारले नयाँ युगको घोषणा गरेको छ ।

माक्र्सवाद सारमा सर्वहारा वर्गको बिचार हो । सर्वहारा वर्गको मुक्तिसँगै माक्र्सवादको उपादेयता पनि समाजमा हराउँदै जान्छ । सर्वहारा वर्गले समाजवादमा मुक्ति पाउँछ, पुर्णमुक्ति पाउने साम्यवादमा हो । सर्वहारा वर्गसँगै संसारका सबै श्रमजिवी र न्यायप्रेमी जनताको मुक्त हुनेछन् । यो अवस्था भनेको मानवद्वारा मानवको शोषण, दमन, उत्पिडन, अत्याचार, बिभेद, अन्याय आदि सबैखाले बिभेदको अन्त्य हुनेछ । यो भनेको मानवले मानवको लागि आवश्यक सबै अभाव हटाउनेछ, मानव जातीको हीतको लागि मानवले आवश्यकता ठानेका सबै चिज उपलब्ध गराउनेछन् । मानव समाज विकासको त्यही मार्गमा छ भन्ने विज्ञानसम्बत धारणा लेनिन, स्टालिन, माओ र त्यसपछिका संघर्षहरुले पुष्टि गरिसकेको छ ।

कमरेड माओले आफ्नो छोटो र महत्वपूर्ण निबन्धमा सहि बिचारको श्रोत मानिसको प्रकृतिसँगको संघर्ष, वर्ग संघर्ष, शोध अनुसन्धान र विज्ञान प्रबिधिको विकासबाट हुने कुरा बताउनु भएको छ । यीनै व्यवहारसँग जोडिएका मानिसको बिचार नै सबैभन्दा सहि हुन्छन् भनेर बुझ्दा सहि हुन्छ । मुख्यतः सहि बिचार भनेको वर्गसंघर्षद्वरा सबै समस्याको समाधान खोज्नुमा हुन्छ । अचेतन अवस्थामा भएका मानिसको जतिसुकै ठूलो भीड होस् सहि बिचारको अभावमा त्यो सबै बिलाएर जानेछ । इतिहासभरी यस्ता घटनाको चाङदेख्न सकिन्छ ।

आजसम्म माक्र्सवादसँगको संघर्षमा बुर्जुवा वर्गले यो समयको कुनै पनि समस्या समाधान गर्न सकेका छैन । यसको मतलब हुन्छ उनीहरुको बिचार सहि छैन वा हुँदैन । निश्चित रुपमा कम्युनिस्ट आन्दोलनले पनि बिजय हाँसिल गरेको छैन तर आफ्नो बिचारको सच्चाईलाई बारम्बार पुष्टि गरिनै रहेको छ । कम्युनिस्ट आन्दोलनको बिकास र पछिल्ला संस्करणहरुले नयाँनयाँ बाटाहरु तयगर्दै आइरहेको छ । पौने २ सयवर्षदेखि निरन्तर आन्दोलनको विकास गर्दै आएको कम्युनिस्ट आन्दोलनले उतारचढावहरु परगर्दै आइरहेको स्थितिमा छ । अहिले यो मालेमावादको प्रयोगको चरणमा छ । सहि ढंगले यसको प्रयोग गर्दा अवशरवादी र प्रतिक्रियावादी वर्ग सहजै पराजय हुने देखिन्छ ।

रुसी समाजमा सामाजिक अन्तरबिरोधले निम्त्याएको समाधानार्थ वर्गसंघर्ष सञ्चालन भएको बेला सच्चाइहरु सल्बलाउन थाले । सर्वहारा वर्गले आफ्नो हित त्यहीं पाएर उक्त सच्चाइलाई राम्रोसँग अँठ्यायो र अधिकतम् प्रयोगमा ल्याए । सच्चाइको पुष्टि हुँदै गयो । उक्त सच्चाई थियो— सर्वहारा वर्गको आफ्नो बिचार ! म्याक्सिम गोर्कीले आमा उपन्यासमार्फत उक्त प्रयोग र परिणाम खुला संसारका लागि प्रस्तुत गरिदिनु भयो । सर्वहारा वर्गको बिचार सबैभन्दा सहि बिचार, सर्वहारा वर्गको चेतना सबैभन्दा उच्च चेतना, सर्बहारा वर्गको लक्ष्य सबैभन्दा महान, सर्वहारा वर्गको शक्ति सबैभन्दा ठूलो शक्ति भन्ने स्पष्ट भयो । त्यतिबेलादेखि नै प्रतिक्रियावादी शक्ति नाजवाफ छ, दमन र षड्यन्त्रको भरमा अस्तित्व देखाउने अवस्थामा छ । चीनमा त्यस्तै भयो— लु सुनले एउटा नयाँ संसार मनपराउने आहा क्युँ जस्ता सर्वहारा वर्गको प्रतिनिधि पात्रको अजेय शक्ति देखाइदिनुभयो । अहिलेको प्रतिक्रियावादी एकमात्र वर्ग सर्वहारा वर्गको अजेय शक्तिदेखि भयभित छ ।

दर्शन अर्थात बिचारको अभिव्यक्ति मानिसको जीवन व्यवहारमा देख्न सकिन्छ । मानिसमा जुनस्तरको बिचार निर्माण भएको हुन्छ ऊ त्यही अनुसारको व्यवहार गर्न पुग्दछ । माक्र्ससित जुध्न जोजो आए उनीहरुले पनि त्यही अनुरुपको व्यवहार गर्दै गए । पुँजीवादले ग्रस्त र ध्वस्त भएको मानव सभ्यतामा मानिसमा वर्गीयता हावी हुन पुग्यो अर्थात वर्गीय समाज बनेदेखि मानवमा बर्गीय बिचारले ठाउँ लिएको छ । माक्र्स र एङ्गेल्सको बिचार बेग्लै र उच्च छ— यो सर्वहारा वर्गको बिचार हो । यो बिचार भनेको सर्वहारा वर्गको बिचार हो । सर्वहारा वर्गसँगको संघर्षबाट जतिपनि बिचारहरु अस्तित्वमा आए ती सबैको बिचार श्रृंखला देखिएन । यसको मतलव हुन्छ ती बिचारले निरन्तरता पाएनन् । माक्र्सवाद भने मालेमावादको स्तरसम्म विकसित हुँदै गएको छ । माक्र्सवादको सच्चाइको पुष्टि यहीं रहेको स्पष्ट छ ।

सर्वहारा वर्गको बिचार महान् छ । यो बिचारको श्रोत सर्वहारा श्रमजिवी वर्गले भोगेका समस्या र त्यसको सहि समाधान हो । यही नै माक्र्सवाद हो । माक्र्स–एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमार्फत बुर्जुवा वर्ग र सर्वहारा वर्गबीचको संघर्षको युगको घोषणा गर्नुभएको थियो । सर्वहारा श्रमजिवी वर्गले भोगेका समस्या र त्यसको सहि समाधान यी दुई वर्गबीचको संघर्षबाट समाधान हुने निश्कर्ष नै सबभन्दा सहि हुन पुग्यो । पुँजीवादी देशमा हुने यो संघर्षले विश्वव्यापी रुप लिएर सर्वहारा वर्ग मुक्त हुनेछ भन्ने माक्र्सको बिचार पेरिस कम्युनमार्फत पुष्टि भयो । यही बिचार लेनिनको पालामा कमजोर पुँजीवादी देशमा सर्वहारा वर्गको नेतृत्वमा किसान–मजदुरको संघर्ष र मुक्तिको सवाल देखिन पुग्यो । सर्वहारा वर्गको बिचार अझ विकसित र श्रृंखलाबद्ध विकसित अवस्थामा पुग्यो । पुँजीवादले साम्राज्यवादी रुपलिन पुगेपछि अस्तित्व गुमायो ।

पुँजीवादको पतनको क्रममा जन्मिएको साम्राज्यवादले एक चरणमा सामन्तवादसँग संझौता गर्नपुग्यो । यसले उत्पादन गरेको दलाल पुँजीवाद र लामो समयदेखि गढेर बसेको नोकरशाही पुँजीवादसँग सर्वहारावर्गको संघर्ष हुनपुग्यो । यो यही संघर्षको युग हो । चीनीयाँ वर्गसंघर्षमा यसको प्रयोग र विकास भयो । वैज्ञानिक समाज निर्माण र विकासको चरण नयाँ जनवादी क्रान्तिबाट शुरुहुने स्थिति देखियो । दलाल पुँजीवादी र नौकरशाही पुँजीवादी प्रतिक्रियावादी वर्गको सत्ता भएको समाजमा यस्तो खालको क्रान्ति हुने कुरा सर्वहारा वर्गले बुझ्यो । संसारभर सर्वहारा वर्गको अधिनायकवादी नीति बोकेको कम्युनिस्ट पार्टीले नयाँजनवादी क्रान्तिको नेतृत्व लिने पहल गर्नथाल्यो । अहिले तेश्रो विश्वका समस्त सर्वहारा वर्गको नेतृत्वले ती देशहरुले यही नीति लिएका छन् ।

प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६