• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

इमेज खवर लेख्छ रवि लामिछाने पक्राउ पर्दा कयौं भए मालामाल

सिन्धुली सौगात

सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेसँगै उनका समर्थकहरुको मनोदशा र भावना बुझेर केहीले यो समयलाई व्यापार–व्यावसाय बढाउने अवसरका रुपमा लिएका छन् ।

 

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि सञ्चारकर्मी लामिछानेसहित तीन जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । लामिछानेका समर्थकहरु उनी पक्राउ परेलगत्तै विरोधमा उत्रिएका छन् । सामाजिक सञ्जालमा उनका समर्थकहरुले टिका–टिप्पणी गरिरहेका छन् । लामिछानेसँगै उही आरोपमा पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लामिछानेका समर्थकहरुले अन्य दुई जनाको बारेमा खासै चासो राखेका छैनन् तर सामाजिक सञ्जालमा लामिछाने निर्दोष रहेको भन्दै कतिपयले विभिन्न तर्कहरु गरिरहेका छन् ।

 

यसबाट प्रष्ट हुन्छ– एकथरी मानिस सञ्चारकर्मी लामिछानेप्रति ठूलो विश्वास राख्दछन् ।

 

समर्थकहरुको यही भावना र मनोदशालाई राम्ररी बुझेका केही युट्युव च्यानल र फेसबुक पेजका एडमिनहरु अहिले व्यावसायको होडमा लागेका हुन् । कतिपय युट्युव च्यानलका सञ्चालकहरु रवि लामिछानेको नाम जोडेर विभिन्न भिडियो तयार गर्दै युट्युवमा राख्न व्यस्त छन् । फेसबुक पेजका ‘एडमिन’हरु रवि लामिछानेको नाम जोडेर आफ्नो पेजको ‘लाइक’ बढाउन कम्मर कसेर लागेका छन् ।

 

पाँच दिन यता पत्रकार शालिकराम पुडासैनीको आत्महत्या र सञ्चारकर्मी रवि लामिछाने पक्राउको विषयलाई लिएर सयौं भिडियो युट्युवमा ‘अपलोड’ भएको छ । ती भिडियो लाखौं दर्शकले हेरेका छन् । कतिपय भिडियोमा विषयको गहिराइ वा नयाँ जानकारी केही नभए पनि अतिरञ्जित शैलीका शीर्षक राखेर प्रस्तुत गरिएका छन्, जसले गर्दा दर्शकहरु आकर्षित हुन्छन् ।

 

जति बढी दर्शकले भिडियो हेर्छन्, युट्युव च्यानललाई उत्तिकै बढी रकम प्राप्त हुने गर्दछ । त्यसैले रवि लामिछानेको लोकप्रियतालाई कतिपयले आफ्नो आम्दानीको अवसर ठानेर यतिबेला एकपछि अर्को गर्दै भिडियो ‘अपलोड’ गर्ने होड चलेको छ । दर्शकका चासो बढेकै समयमा कतिपय युट्युव च्यानलका सञ्चालक चितवन पुगेरै भिडियो निर्माण गरिरहेका छन् । रविको पक्षमा नारावाजी भएका दृष्य, उनलाई अदालत लगेका दृष्य, जिल्ला प्रहरी कार्यालय अगाडिका दृष्य, स्थानीयबासी तथा प्रदर्शनमा सहभागी बालक, बृद्ध तथा महिलासँगका कुराकानी यतिबेला युट्युव च्यानलका पहिलो रोजाइका विषय बनेका छन् ।

 

 

युट्युवमा राखिएका सबैजसो भिडियोले ठूलो संख्यामा दर्शक पाएका छन् । एकै दिनमा हजारौं दर्शकले भिडियो हेर्ने गरेका छन् । जसले गर्दा युट्युव च्यानलका सञ्चालक अहिले रवि लामिछानेको नाम जोडेर भिडियो निर्माण गर्ने होडबाजीमा लागेका छन् ।

 

फेसबुक पेजहरुमा पनि रवि लामिछानेको तस्वीर राखेर ‘रविको पक्षमा एक लाइक गर्नुस्’ भन्नेजस्ता सन्देश राखिएका पाइन्छन् । व्यावसायिक प्रयोजनका लागि बनाइएका त्यस्ता पेजका ‘एडमिन’हरु रवि लामिछानेका समर्थकहरुको ‘लाइक’ बटुलेर भविष्यमा आफ्नो व्यावसायिक उद्देश्य हासिल गर्ने चक्करमा छन् ।

 

 

रवि लामिछानेको समर्थनमा भइरहेका गतिविधि शान्त बनेको खण्डमा युट्युव च्यानल र त्यस्ता फेसबुक पेजका लागि ‘सस्तो लोकप्रियताको विषय’ समाप्त हुने भएकाले पनि केहीले घटनालाई अतिरञ्जित र परिस्थितिलाई अझ अल्झाइरहने उद्देश्यले सन्देश प्रवाह गरिरहेको पाइन्छ । केहीले भारतको कश्मीरमा भएको घटनासँग सम्बन्धित तस्वीरलाई मृतक शालिकराम पुडासैनीको भनेर ‘उनलाई यातना दिइएको थियो’ भनेर प्रचार गरिरहेका छन् । केहीले पुडासैनीको आँखामा देखिएको आकृति कसको हो भन्दै ‘फोटोसप’ गरिएको तस्वीर पोस्ट गरिरहेको पाइन्छ । सर्वसाधारणमा जति भ्रम छर्न सक्यो, व्यापार उति चम्कने ठान्दै गरिएका यस्ता नियोजित प्रचारमा सर्वसाधारणसमेत फस्न थालेका छन् ।

 

 

हालै, बारा, जितपुरका सागर मैनालीलाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गष्रेको छ । लामिछाने पक्राउको विरोधमा खुकुरी नचाउँदै उच्च तहका नेताहरुलाई गाली गलौज गरेको भिडियो फेसबुकमा राखेका कारण उनलाई प्रहरीले पक्राउ गरेको हो ।

 

लामिछानेको समर्थन गर्दै प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीलाई अमर्यादित शब्द लेखिएको फोटोसहितको सामग्री फेसबुकमा पोस्ट गरेको आरोपमा सोमबार प्रहरीले अछामका शंकर विकलाई पक्राउ गरेको थियो ।

 

प्रचलित कानुन, सामाजिक सञ्जालमा छरिएका भ्रमलाई नै आधार मानेर टिप्पणी गर्दा सर्वसाधारण मानिस ‘साइबर क्राइम’ अन्तर्गत कारवाहीमा पर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले सामाजिक सञ्जालका कयौं पोस्टमाथि अनुसन्धान तथा छानविन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६