• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

समय आफैं बोलेको छ

सिन्धुली सौगात

लेखक : विनोद दाहाल

 

माख्लो जातको हुन ऊ जनै लगाउँछ र कम्युनिस्ट हुँ भन्दै जिद्दि गर्छ । बाबुलाई पिण्ड चढाउँछ अनि पुरोहितलाई गोडामा ढोग्छ र भन्छ परम्परा मानेको मात्र हुँ, हुनत म कम्युनिस्ट हुँ । संस्कृति मान्छु तर धर्म मान्दिन भन्न पनि छुटाउँदैन । छोरिलाई कन्यादान दिन्छ र भन्छ रुढीवाडी परम्पराको बिकल्पै हुँदैन ।

 

यहाँ अर्को त्यस्तै थरिको मान्छे पनि छ जो जात र क्षेत्रको गौरवमा रमाएर आफ्ना सबै बाटाहरु बन्द गर्छ । कैदी जस्तो बन्छ र भन्छ कम्युनिस्ट हुँ । रुढी र परम्परा उसलाई प्रीय लाग्छ, पाठपुजा, न्याँसध्यान, तीर्थब्रत, दानधर्म सबैमा उसको ध्यान रहेको हुन्छ र पनि भन्छ म कम्युनिस्ट हुँ । अन्धविश्वासको कुवामा सँधै रमाएर बसेको छ र पनि भन्छ म कम्युनिस्ट नै हुँ । सँधै इमानदार हुन वर्ग लुकाउने र अन्तिममा मात्रै म्याउँ गर्ने यस्ता नवप्रतिक्रियावादीहरुले फैलाएको भ्रमले सर्वहारा श्रमजिवी र न्यायप्रेमी जनसमुदाय भयंकर अप्ठ्यारोमा परेको छन् । वर्गदुस्मन भन्दा यस्ता तत्वहरु कम्तिका घातक हुँदैनन् ।

 

मानिसले अपनाएको दोहोरो मापदण्ड ज्यादै खतरनाक हुन्छ— आफूले त्यही गर्दा ठिक अर्काले गरे बेठिक । असामाजिक कार्य राजनीतिक दलहरुले गर्न रोक लगाएको छ, राज्यले रोक लगाएको छ र समाजले पनि रोक लगाएको छ— जाँडरक्सी, जुवातास, बेस्याबृत्ति, नसालु पदार्थको प्रयोग निषेध आदि । यी कुराले परिवार, समाज र देशलाई सखाप पार्छ वा बिगार्छ । यसमा सबैको स्वीकारोक्ति छ । फेरि हेर्दैगयो समाजमा तीनै खराब कुरा झँगिरहेको, फैलिरहेको, बिषाक्त बन्दै गएको देखिन्छ, किन ? यसको कारण हो मानिसले अपनाएको दोहोरो मापदण्ड र चरित्र । इमान, जमान, बोली, व्यवहार सबै बन्दकीमा राखेर मानिसले व्यवहार गरिरहेका देखिन्छन् । इमानदार छु भन्ने र खराब काम कुरा गर्ने मानिसलाई लातबाहेक अरु उपचार देखिंदैन ।

 

समाजमा एउटा सारै बिषक्त ढंगले संस्कार झांगिएको छ— सेवाको मुल्य । मानिसले मानिसलाई गरेको सेवाको मुल्य, अझ दलाली मुल्य बनेको छ । सेवानै मुल्यमा गएपछि मानिसका सबै व्यवहारहरु बजारका बस्तु बनेका छन् । मानिसले जे गर्छ सबै मुल्यमा गर्छ र अन्ततः मानिस नै बिक्री हुन्छ । दास युगको अवशेष— मानिसलाई बिक्री गर्ने चलन, अझै व्याप्त बन्दै गएको छ । मानौं, एउटाले आफ्नो कुनै सामान उपयोगिताबिहीन भयो र कसैलाई चाहिने भए दिन्छु भन्यो र त्यस्तै अर्कोले खाँचो महशुस गर्‍यो भने बिचौलियाले जुटाइदियो । सारमा उसले सहयोग गरेको हुन्छ तर त्यसबापत रकम लिन्छ र आफूलाई मानवीय सेवाको मुल्य भन्दा घटीया बनाउँछ र आफूलाई बिक्री गर्न पुग्दछ । मानवीय सेवाभाव उसले लिएको मुल्य भन्दा कदापी महान् र ठूलो हुन सक्दैन । समाजमा मानिस यसरि घटीया र चुतीया बन्दै गैरहेको छ । अझ दलाली गरेर त्यो सेवाभावको मुल्य घटाउने गर्दछ । पुँजीवादी समाजको पनि बिकृति बढेर दलालीकरण भएर मानिस बस्तुसरह बन्दै गैरहेको छ ।

 

प्रायः मानिसहरु सतही चेतनाका हुन्छन् । सानो कुरामा बहकिने, चर्चाको प्रभावमा पर्ने, ठिक र बेठिक छुट्याउन नसक्ने, दोक्लो चरित्र देखाउने, समाजका खराब तत्वहरुले बारम्बार प्रयोग गरेर धोका खाएको अनुभवहरु सुनाउने, तर्कहीन र मुल्यहीन कुरामा रमाएर बस्ने आम मानिसको व्यवहार देखिन्छ । मास निर्णयमा यस्तैको मुख्य हात हुने भएकाले यस्तो निर्णय प्रक्रिया प्रतिक्रियावादीको रोजाइमा पर्दछ । अहिले आबधिक निर्वाचन सहि, बहुमतको निर्णय सहि कस्ले भन्ने र मान्ने गरेको छ भनेर हेर्दा स्पष्ट हुन्छ । प्रतिक्रियावादी वर्गले लोकतान्त्रिक व्यवस्थाका नाममा संसदीय राजनीति अभिन्न बनाउने कुरासित यही नियत राखेका हुन्छन् । स्पष्ट छ कि मास निर्णले मानिसले समाजमा भोगिरहेको कुनै पनि समस्याको समाधान दिन सक्दैन । यस्तो नीति प्रतिक्रियावादी वर्गले किन रोजेका हुन्छन् भने आफ्नो ऐश्वर्य त्यही सतही वा शैतान चेतना भित्र लुकेको छ ।

 

आम मानिसको आवश्यकता र उनीहरुको चेतनाबीच अन्तरबिरोध रहेको देख्न सकिन्छ । यही कारण समाज क्रियाशील, अझ गतिशील भएको देख्न सकिन्छ । आवश्यकता र नयाँको खोजीमा मानिस भौंतारिने स्थितिमा प्रतिक्रियावादी र आर्थिक हैसियत भएको वर्गले झुक्याउँदै उही ठाउँमा पु¥याउने चेष्टा गरेका हुन्छन् भने सर्वहारा वर्ग वा उच्च चेतनाको मानिसले नयाँ ठाउँमा पु¥याउने प्रयत्न गरिरहेका हुन्छन् । समाजको यही प्रयत्न नै वर्ग संघर्ष हो । कहिले यो सुसुप्त अवस्थामा रहेको हुन्छ भने कहिले सशक्त अवस्थामा रहेको हुन्छ । सशक्त भएको अवस्थालाई वर्गयुद्ध भन्ने गरिएको छ । मानिसले भोगेका समस्याहरुको खास पहिचान ती सतही मानिससँग नभै चेतनशील मानिसलाई नै थाहा हुन्छ । र, नयाँ ठाउँमा पुग्न बाटो खोज्ने अनि मानिसको लागि नयाँ संसार देखाउन सक्ने ती सचेत मानिस क्रान्तिकारी हुने गर्दछन् । गहिरिएर हेर्ने हो भने मानव इतिहासभरि यो भैरहेको छ र समाज पनि परिवर्तशील भैरहेको देख्न सकिन्छ ।

 

परिवर्तनले सुधारको माग गर्छ अर्थात समस्याको समाधान खोज्ने मानिस सुधारवादी हुन्छ । सुधारले नपुगेको बुझेपछि बामपन्थी हुनपुग्छ । त्यसले पनि नहुने देख्न पुगेका मानिस क्रान्तिकारी हुनपुग्छन् । क्रान्तिकारीले आफैंले अपनाउँदै आएको पुराना परम्परा, रुढी, अन्धविश्वास, संस्कार, संस्कृति पुराना आदत, भावनाहरु बदल्ने प्रयत्न गर्दछन् । अहिलेको समाजमा क्रान्तिकारी भनिएका मानिसहरु कम्युनिस्ट मात्र हुन्छन् । अझ, कम्युनिस्ट भन्नेहरु पनि अनेक रुप र प्रबृत्तिका देखिएका छन् त्यसैले क्रान्तिकारी हुन माओवादी हुनैपर्छ । आफूलाई क्रान्तिकारी बनाइराख्न नसकेपछि १० वर्ष लामो जनयुद्धको नेतृत्व पनि माओवादी छोडेर पन्छिएको सबैले देखेकै छन् । सबैले यो सच्चाई बुझ्न नसक्लान — चेतनाका हिसाबले सबैभन्दा सहि मानिस क्रान्तिकारी हुन्छन् भने बेठिक मानिस प्रतिक्रियावादी र सतही चेतनाका मानिस हुने गरेका छन् ।

 

क्रान्तिकारी हुन माक्र्सवादी हुनैपर्छ अर्थात आदर्शवाद र अधिभुतवाद बिरोधि हुनै पर्छ । हेगेल र फायरबाखसँको संघर्षमा माक्र्स र एङ्गेल्सले यही सत्य पत्ता लगाएका थिए जुन मानव जातीको मुक्तिको मार्ग बन्नपुग्यो । क्रान्तिकारी हुनको लागि द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी हुनैपर्छ जुन सर्वहारा श्रमजीवी वर्गले आफ्नो मुक्तिको लागि वर्गसंघर्षमार्फत पाएको बैचारिक हतियार हो । हतियारबिनाको शिकारी जस्तो हुन्छ द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी ज्ञानबिनाको कम्युनिस्ट वा क्रान्तिकारी । क्रान्तिकारीसित वर्गदुस्मनलाई संझौताहीन संघर्षबाट जित्ने पार्टी नीति निर्माण भएको हुन्छ । त्यसैले समाजमा रहेका सर्वहारा, श्रमजिवी र न्यायप्रेमी जनसमुदायलाई मुक्त गर्ने नीति भएको मानिस मात्र महान् मानिस हुन्छ । सतही ज्ञान भएका अर्थात कस्ले कहाँबाट आफूलाई आफैं बिरुद्धको खराब मानिसले प्रयोग गरिरहेका छन् भनेर बुझ्न पनि नसक्ने हल्का मानिसलाई महान् मान्नु भनेको प्रतिक्रियावादको गोटी हुनु नै हो । सचेत मानिस त सत्यको नजिक हुन्छ ।

 

तथ्यले पुष्टि गरेपछिको निश्कर्ष सत्यको नजिक हुन्छ । द्वन्दात्मक तथा भौतिकवादीहरु तथ्यको आधारमा सत्य खोज्ने गर्दछन् । बस्तुलाई विकास र गतिको अन्तरबिरोधमा देख्ने, निर्भरता र रुपान्तरणको अवस्थामा रहेको बुझ्ने हुन्छन् । तथ्यको आधारमा सत्य खोज्न लाग्ने हो भने मानिस कम्युनिस्ट हुन पुग्छ । त्यसैले प्रतिक्रियावादीहरुले (साम्राज्यवाद, सामन्तवाद, विस्तारवाद र दशीय दलालहरुले) रहस्यवाद, अन्धविश्वास र उपभोक्तवादमा फसाउने गरेका छन् । उत्तरआधुनिकतावादी संस्कृतिले गाँजेका भद्दा मानिस उत्पादन गराइरहेको छ । यसको सारपक्ष भनेको सतही चेतनाको मानिस उत्पादन गर्ने र मास वा आममतको निर्णय नै सबैभन्दा सहि हुन्छ भनेर भ्रम दिने हो । यसले मानिसलाई असंगठित पार्ने, एक्ल्याउने, टुटाउने, फुटाउने, शक्तिहीन बनाउने गर्दछ । प्रतिक्रियावादी वर्गले यसकार्यको लागि सम्भव भएको अवस्थामा राज्यसत्ता, आइएनजिओ, लुटको धन, धर्म, सामरिक औजार, भ्रम, षड्यन्त्र जस्ता औजार प्रयोगमा ल्याउने गरेको छ ।

 

समय आफैं बोलेको छ— बाँच्दा सार्थक जीवन बाँच । जीवनको सर्थकता सत्यसँग जोडिएको हुन्छ । सत्य समयको आवज हो । मानिसले मानिस हुन चाहेका छन, यो सत्य हो । मानिस प्रतिक्रियावादीको घेरा तोडेर निस्किन खोजेका छन, यो सत्य हो । मानिस मानिकै बन्धनबाट मुक्त हुन खोजेका छन, यो सत्य हो । मानिस सचेत हुन चाहेका छन, क्रान्तिकारी हुन चाहेका छन् मानिसले मानिसले भोगिरहेका सबै समस्याहरुको जरै उखलेर फाल्नको लागि संगठित भएका छन, यो सत्य हो । सचेत मानिसले यतिखेर सचेतपहलका साथ फेरि पनि धक्का दिनुपर्ने सोचिरेहेका छन, यो पनि सत्य हो । सतही र अचेत मानिसले बुझ्न नसक्लान्, प्रायः नै त्यस्ता मानिसले समयले नेटो काटेपछि बुझ्ने गरेका हुन्छन् तर पनि परिबर्तन नै सबैभन्दा सत्य हुन्छ । आँखाले देखेपछि र व्यवहारमा भोगेपछि मात्र बुझ्ने मानिस वर्गीय समाजमा प्रतिक्रियावादीका हतियार भैसकेका हुन्छन् । समय आफैं बोलेको छ— होहोरेमै कुद्ने र जे टल्किन्छ त्यही हेरेर रमाउने त्यस्ता मानिस समाजका बोझ हुन् ।

 

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६