• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

कौरवहरुलाई न्याय दिलाउन “अश्वत्थामा”को प्रष्टोक्ती

सिन्धुली सौगात

लेखकःवाई पि विनय

 

ईतिहास जित्नेको पक्षमा लेखिन्छ, कारण स्पष्ट छ, शक्तिमा भएकाले ईतिहास लेख्छन/ लेखाउँछन् । हार्नेहरुको त्यसमा केहि जोड चल्दैन । जित्नेले जितको दम्भमा लेख्ने/लेखाउने इतिहासका पानामा उसका कमि कमजोरीको झिल्को समेत भेटिदैन । हामीले पढेका, सुने÷सुनाईएका ऐतिहासिक पौराणिक, धार्मिक, राजननैतिक, राजा, राणा, जुनसुकैको होस इतिहास विवाद रहित छैन ।

 

समयको कालखण्डमा सत्य तथ्यलाई त्यहि इतिहासको व्याख्या र विश्लेषणबाट फरक ढंगले कारण र प्रमाण सहित पूनःव्याख्या गरिएका छन् । इतिहास लेख्नेले कैफियत राखेरै होला प्रश्न गर्ने प्रशस्तै ठाउँहरु भेटिन्छन् । तर्कसंग प्रश्न गर्दै इतिहास सच्याउने प्रयास गरिन्छ ।

 

पाण्डव र कौरबबीचको महाभारत युद्ध पछि लेखिएको महाभारत युद्धको कथामा पनि थुप्रै यस्ता प्रश्नहरु खडा हुन्छन् । जसले युद्धमा जे भएको थियो कथामा त्यो उल्लेख छैन भन्ने अनुमान लगाउन सकिन्छ ।

 

महाभारतका लेखक भनिएका महर्षी बेदव्यास स्वयं युद्धमा सहभागि भएका र युद्ध देखेका व्यक्ति होइनन् । उनलाई पनि कसैले सुनाएको महाभारतको युद्धगाथा उनले लेखेका हुन । महाभारतको युद्धमा कौरव पक्षबाट युद्ध लडेका अश्वत्थामा, कृपाचार्य र कृतबर्मा बाहेक सबै मारिए । युद्ध जितेका पाण्डवहरुले हस्तीनापुरको राजकाज चलाए । पाण्डवहरुको हजुरबुवा बेदव्यासले लेखेको महाभारत कथा हस्तीनापुरको       राजकाज चलाउने पाण्डवहरुको पक्षमा नभएर आफ्नै नातिहरु नै भएपनि युद्धमा ज्यान गुमाईसकेका कौरवहरुको पक्षमा हुने कुरै भएन । त्यसैले महाभारत कथा भनेर हामी जुन पुस्तक पढ्छौ त्यो जित्नेको पक्षमा लेखिएको युद्धगाथा हो ।

 

 

लेखक कुमार भट्टराईले महाभारतकालिन मिथक र बेदव्यासकै महाभारतका कथाहरुलाई व्याख्या गरेर पुस्तकमा उतारेका छन् । कौरवहरु, विशेष गरि दुर्योधनका बारेमा आम जनमानसमा छाप पारिए जस्तो उनि गलत थिएनन भन्ने कोणबाट उनको कृति आएको छ । कौरव पक्षबाट महाभारत युद्धमा अन्तिम सेनापति भएर युद्ध लडेका दोणाचार्य पुत्र अश्वत्थामाको दृष्टिकोणबाट महाभारत कथाको पुर्नलेखन त नभनौ पुर्नव्याख्या गर्ने जमर्को उनले गरेका छन् । पुस्तकले तर्क र युक्तिसंगत तथा यथार्थपरक धरातलमा उभिएर दुर्योधन र कौरवहरुलाई न्याय दिन खोजेकोे महसुस पुस्तक पढ्दा हुन्छ ।

 

दशैमा टिका लगाउँदा दिईने आशिषमा ‘मानश्च दुर्योधने’ भनेर दुर्योधनको जस्तो मान होस् भन्ने गरिन्छ । आखिर किन यसो भनिन्छ ? महाभारतको कथामा त दुर्योधन र उनका एकसय भाई कौरवहरुलाई नराम्रो रुपमा चित्रण गरिएको छ । यति सम्मकी ‘मानश्च दुर्योधने’ भनेर दशैंमा आफन्त मान्यजनलाई आशिष दिने समुदाय आफ्ना सन्ताका नाम दुर्योधन राख्न समेत हिच्कीचाउँछन् । अनि पाण्डव पुत्रहरु युधिष्ठिर, भिमसेन, अर्जुन, नहकुल, सहदेवहरु समाजमा किन बग्रेल्ती फेलापर्छन ? मानश्च दुर्योधनेका एक सय भाईहरुको नाम किन गुमनाम छ ? त्यति नराम्रो के गरेका छन् दुर्योधन र कौरवहरुले ? मामा शकुनी र भाई दुशासनले प्रतिशोध फेर्न खेलाएको जुवामा हारेर युधिष्ठीरले नै दासि बनाएकी द्रौपदीको चिरहरणका बेला मौन बस्नु बाहेक दुर्योधनको अर्को एउटा गल्ती भन्ने हिम्मत छ यो समाज सँग ?

 

पीता धृष्तराष्ट्रको अपाङ्गतालाई जोडेर ‘अन्धाको छोरो अन्धै हुन्छ ’ भनेर अपमान गर्ने द्रौपदी श्रीमानको बेवकुफीका कारण जुवामा हारिन् । दासी भएको मौका छोपि शकुनी र दुशासनबाट दासिलाई गर्ने व्यवहार हुनु र त्यसो हुँदा दुर्योधन लगायत कोहिपनि केहि नबोल्नु यहि गल्ती हैन ? एउटा गल्तीले दुर्योधन सधै र सबैभन्दा नराम्रो हुन्छ ? त्यही पनि त्यहाँ दुर्योधन मात्र थिए र ? भिष्म पितामह, महाराज धृतराष्टू, काका एवं मन्त्री विदुर लगायत विशिष्ठ व्यक्ति सबै थिए । उनिहरुले पनि त किन केहि बोल्न सकेनन ? युधिष्ठीरले गल्ती गरेकै कारणले हैन र ? के हामीले असल भनेका युधिष्ठरले पासा हान्नै नआउने दुर्योधनलाई जर्वजस्ती राखेर जुवा खेलौं भन्नु ठिक थियो ? जुवामा हार्दै गएपछि काका विदुरको अर्ति नमानी नमानी आफ्नो खण्डप्रस्थ राज्य चार भाईहरु र श्रीमतीलाई समेत दास बनाउने गरि जुवामा थापिरहने युधिष्ठीर चाहि असल हुन ? के यो उनको राम्रो प्रजावत्सल राजा हुने गुण हो ? यि र यस्ता प्रश्न महाभारतका प्रत्येक खण्डहरुमा आउँछन् । प्रत्येक घटनाहरुमा देखापर्छन । महाभारतकै युद्धमा पनि अर्जुनको रथमा सारथि बनेका कृष्णले छल गरेर महिलालाई देखाएर महिला विरुद्ध हतियार नउठाउने प्रण गरेका भिष्म पितामहमाथि अर्जुन मार्फत बाण बर्षा गराई मुर्छित पारेका होइनन ?

 

दुर्योधनलाई भिमसेनसँगको युद्धमा युद्ध नियम विपरित सन्नीमा गधाले हानेर मारिएको होइन ? अश्वत्थामा युद्धमा मारियो भनेर गलत सूचना सुनाएर गुरु द्रोणलाई पुत्रवियोगमा मुर्छित पारेर मारेका होइनन पाण्डवहरुले ? धर्म युद्ध भनिएको माहाभारत युद्धमा पाण्डवहरुले कृष्ण मार्फत कति छल गरे गरे ? त्यसको कुनै लेखा जोखा छैन ।

 

के त्यो छल गरेर जितिएको युद्ध होइन ? अनि त्यसरी युद्ध जितेका युधिष्ठीर चै हाई हाई ? सधै सबैको सुख दुःखमा साथ दिने, साथी भनेपछि ज्यान दिन तयार हुने, प्रजाको दुःख बुझ्न सक्ने दुर्योधन चै गलत हुन त ? पिता धृतराष्ट्र हस्तीनापुरको राजा थिए । राजाको छोरो राजा हुने नियम अनुसार हस्तीनापुरको गद्दिको उत्तराधिकारी दुर्योधन मात्र थिए । तर जेठो भएकाले युधिष्ठीरलाई यूवराज घोषणा गरियो त्यसमा दुर्योधनले कुनै विरोध जनाएनन ? पाण्डवहरुको चित्त बुझाउन हस्तीनापुर राज्यलाई नै टुक्राईयो दुर्योधन चुप रहे ? दाजुभाईबीच राम्रो होस भनेर राम्रैको कामना गरे । एकपटक जुवामा जितेको पाण्डवहरुको खण्डप्रस्थ राज्य समेत फिर्ता दिए । अझै गलत हुन दुर्योधन ?

अर्जुनलाई धर्नुधर बनाउन कर्णलाई द्रोणायचार्यले धर्नुविद्या नै सिकाएनन, अपमान गरे, कर्णलाई राज्य नै दिए दुर्योधनले के उनि मानवता नभएका हुन् ? अर्जूनलाई शक्तिशाली बनाउन एकलब्यको बुढिऔलो लिए गुरु दोणचार्यले । तर दुर्योधन त्यो खप्न नसकेर एकलब्यलाई गन्तव्य सम्म पुर्‍याउन गए ।  के यस्ता मानवताका सबालमा पाण्डवहरुले आफ्नो क्षमता देखाउन सकेको कथा महाभारतमा कतै पढ्न पाईन्छ ? यति हुँदा हुँदै पनि दुर्योधनलाई हामी समाजमा किन खलपात्रको रुपमा बुझ्छौ ? यो हाम्रो बुझाई गलत होइन र ? दुर्योधन हामीले बुझे जस्तो गलत छैनन भन्ने कुराको पुष्टि गर्न लेखकले धेरै मेहनत गरेका छन् ।

 

महाभारत कथालाई नयाँ ढंगले विश्लेषण गरिएको छ । सानैदेखि सुनेको पढेको कुरा भएपनि फरक ढंगबाट आएकोले पढ्न अल्छी लाग्दैन । कौरब पक्षको तर्फबाट पूर्नव्याख्या गर्ने क्रममा लेखक भट्टराई वास्तविक धरातलमै उभिने प्रयत्न गरेका छन् । वेदव्यासकै महाभारत कथामै भएका प्रशङ्गमा कौरबको पक्षमा प्र्रश्न उठाएका छन् ।

 

त्यहाँ भएका प्रशंग र घटनाक्रमको विश्लेषणबाट नै दुर्योधन र कौरवहरुलाई नायक बनाउने प्रमाण खोतलेका छन् । यति हुँदा हँुदै हाम्रा गाउँ समाजमा साधु सन्तको भेषमा मन्दिर, देवालय घुम्ने बाबाहरु मध्येकै एकजनालाई अश्वत्थामाको रुपमा उभ्याएर उनको मुखबाट दुर्योधन र कौरवहरु गलत थिएनन भन्ने व्याख्या गराएका छन् । हामीले पढेको महाभारत र कुमार भट्टराईले ‘अश्वत्थामा’ पुस्तक मार्फत प्रष्ट्याउन खोजेको विषय वस्तु मिल्न जान्छन् । फरक त केवल हाम्रो बुझाईमा भेटिन्छ । हामीकहाँ महाभारतको अध्ययन गर्नु अघि नै पाण्डव नायक र कौरव खलनायक भन्ने मानसिकता तयार पारिएको  हुन्छ ।

 

किनकी समाजले हामीलाई त्यसरी नै सिकाएको छ, त्यहि घोकाएको छ, बुझाएको छ । तर यो त एकपक्षिय बुझाई र व्याख्या रहेछ भन्ने ‘अश्वत्था’मा पुस्तक पढेपछि र्छलङ्ग हुन्छ । ऐतिहासिक विषयबस्तुलाई पूर्ववत कोणबाट मात्रै नभएर फरक कोणबाट हेर्न पुस्तकले अवश्य सिकाउँछ ।

 

लेखक भट्टराईले कौरवहरुको तर्फबाट कथा लेख्ने क्रममा उपन्यासलाई यथार्थ धरातलमा उभ्याउन अश्वत्थामाले महाभारत युद्धको कथा सुनाएको भनेर पात्र खडा गरेका छन् । उनको लेखकीय शिल्पलाई हेर्दा उनले बुझेको माहाभारत नै           कौरवहरुलाई न्याय गर्न प्रंसस्त छ । कथा बाचनका लागि     हजारौ बर्षअघि चिरञ्जीविको आर्शिबाद पाएका अश्वत्थामालाई उभ्याएर उनले महाभारतको पूर्नव्याख्या गरे भन्दा अपत्यारो लाग्न सक्छ । उपन्यास हावादारी छ भन्ने जमात पनि भेटिएला । तर महाभारतका श्लोकहरुको शुक्ष्म अध्ययन र त्यसको निस्पक्ष विश्लेषणबाट पुस्तकमा कौरव र नेतृत्वकर्ता दुर्योधन आम समाजले बुझे जस्तो गलत थिएनन भन्ने प्रशस्त तर्क प्रस्तुत गरिएको छ । मामा शकुनीको हस्तीनापुरसँग बदला लिने खराब सोच र त्यसको चंगुल भित्र रहेका दुर्योधनका गतिविधि भने एक कुटनितिक राजाकै भूमिकामा छ । बरु पाण्डवहरुका थुप्रै गल्ती र कमीकमजोरीहरु महाभारतमा पढिन्छन् तर तिनलाई हामीले वास्ता गरेका हुन्नौं । पुस्तक पढेपछि सोच्न बाध्य बनाउँछ ।

 

द्रौपदीको चिरहरण भएकै कारण कौरवहरुमाथि नराम्रो ढंगले आक्षेप लगाउने काम भयो । यो समाजले द्रौपदीको चिरहरण भयो भन्ने मात्र देख्यो, नारीलाई अवला, बेसाहारा दयाको पात्र बनायो । स्वयम् द्रौपदी र उनका पाँच पाण्डवको कर्म यहाँ सबैले विर्सिए र द्रौपदीको चिरहरण गर्ने कौरवहरु, कौरवहरुको नेतृत्वकर्ता भनेर दुर्योधनको बद्नाम गरियो । द्रौपदीको चिरहरणलाई थाति राखेर एकैछिन कौरवहरुको र पाण्डवहरुको कर्मको विश्लेषण गरौ त को कति सही को कति गलत दुधको दुध पानीको पानी छुट्टिन्छ । त्यहि कष्ट लेखक भट्टराईले अश्वत्थामा पुस्तक लेखनका क्रममा उठाएका हुन् । एक हिसावले महाभारतको पुर्नलेखन नै हो अश्वत्थामा ।

 

 

अन्यायमा परेका कौरवहरुलाई न्याय दिने प्रयास भएको छ । ‘सत्य कहिल्यै ढल्दैन र न्याय कहिल्यै मर्दैन’ भन्ने विश्वास लिने नेपाली समाजले ‘अश्वत्थामा’ पढ्नुपर्ने पुस्तक हो । महाभारतका एक युद्धनायक ‘दुर्योधनले हजारौ वर्ष पछि कलियुगमा न्याय पाए, लेखक कुमार भट्टराईले दुर्योधनलाई न्याय दिलाए भनेर कसैले भन्छ भने त्यसलाई अन्यथा नलिए हुन्छ । सरल र सटिक भाषामा लेखिएको कथा लेखन शैलीले पुस्तकलाई थप पठनीय बनाएको छ ।

 

सफल नेपाल साप्ताहिक साउन १६ गतेको अंकबाट

 

प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६