• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सिन्धुली बहुमुखी क्याम्पसमा घट्दै विद्यार्थी, खस्कँदै नतिजा

कृञ्जला पुलामी (कारोवार दैनिक बाट )

 

सिन्धुली –  सिन्धुली बहुमुखी क्याम्पस जिल्लाकै पुरानो क्याम्पस हो । २०४१ सालमा स्थापना भएको यो क्याम्पसबाट उत्पादित जनशक्ति विभिन्न तह र तप्कामा पुगेका छन् । जिल्लाका अन्य क्याम्पसका प्रमुख तथा प्राध्यापक पनि यहि क्याम्पसका जनशक्ति हुन् ।

लामो समयसम्म एकछत्र राज गरेको यो क्याम्पस अहिले गाउँ–गाउँमा अन्य क्याम्पसहरू सञ्चालनमा आएपछि भने धरासायी अवस्थामा पुगेको छ । ७ वर्षअघिसम्म १५ सय विद्यार्थी रहेकोमा अहिले त्यो संख्या घटेर ९ सयमा झरेको छ । “अरु क्याम्पसको तुलनामा त हामीसँग विद्यार्थी संख्या राम्रै छ,” क्याम्पस प्रमुख दुर्गाप्रसाद अधिकारीले भने, “अझ यो संख्या पनि २ वर्षदेखि बढेको हो । त्योभन्दा पहिले त ६ सयसम्म पनि विद्यार्थी घटेको तथ्यांक छ ।” २०७२ सालमा क्यूएए मान्यता पाएपछि भने केही मात्रामा विद्यार्थीको संख्या बढेको देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा प्लस टूदेखि मास्टर्ससम्म मानविकि, शिक्षाशास्त्र र व्यवस्थापन संकायमा अध्ययन हुन्छ । विद्यार्थीहरूलाई प्रोजेक्टरको माध्यामबाट समेत अध्यापन गराइनुका साथै दक्ष कम्प्युटर शिक्षकबाट निःशुल्क तालिमको पनि व्यवस्था गरिएको क्याम्पस प्रमुख अधिकारीले बताए ।

विद्यार्थीहरूलाई आकर्षण गर्न विभिन्न प्रयास गरिएको भएपनि सफल हुन नसकिएको उनले बताए । “विद्यार्थीहरू नियमितरुपमा पढ्न नै आँउदैनन्, भर्ना गरेका मध्ये २ सय विद्यार्थी पनि क्याम्पस आँउदैनन्,” उनले भने, “क्याम्पसै नआउने विद्यार्थीबाट के राम्रो नतिजाको अपेक्षा गर्नु, दिन प्रतिदिन नतिजा खस्किरहेको छ । २५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन् । त्यो पनि अधिकांश पास डिभिजनमा,” उनले भने ।

आफ्नै भवनमा सञ्चालनमा रहेको क्याम्पसमा पूर्णकालिन र आंशिक तथा करार गरी ४२ जना शिक्षकहरू कार्यरत छन् । “शिक्षक र कर्मचारीलाई क्याम्पसको स्रोतले पाल्नै धौ–धौ छ,” क्याम्पस प्रमुख अधिकारीले भने, “आम्दानी हुने भनेको विद्यार्थीबाट हो, विद्यार्थीहरू घटेको घट्यै छन् । अन्त कहिबाट सहयोग छैन । क्याम्पस चलाउन गाह्रो छ ।”

क्यूएए सर्टिफाइडको अन्तिम तयारीमा रहेको शिद्धज्योती शिक्षा क्याम्पसमा स्नातक र स्नात्तकोत्तर तहमा जम्मा २५० विद्यार्थी छन् । “पहिले एउटै कक्षामा एक सयभन्दा बढी विद्यार्थी हुन्थे,” क्याम्पस प्रमुख अर्जुन दाहालले भने, “२ वर्ष पहिले त झन् विद्यार्थी ह्वात्तै घटेको थियो । अहिले त बरु ठिकै छ ।” शिक्षा संकायको मात्रै अध्ययन हुने भएकाले पनि विद्यार्थीहरूको संख्या घटेको उनको भनाइ रहेको छ । तर नतिजा राम्रो ल्याउन क्याम्पसले भने शिक्षण पद्धति नै परिवर्तन गरेर मल्टिमिडिया मार्फत अध्यापन गराइरहेको जनाएको छ ।

“परम्परागत शिक्षण पद्धतिले अब विद्यार्थीलाई टिकाइराख्न सकिन्न,” क्याम्पस प्रमुख दाहालले भने, “अब पनि हामी पुरानै ढर्रामा चल्ने हो भने क्याम्पस बन्द हुन बेर लाग्दैन । त्यसैले समयमा नै हाम्रा कार्यक्रमलाई परिमार्जन गरिनुपर्छ ।” क्याम्पसको २८ प्रतिशत उर्तिर्ण  नतिजा रहेको छ ।

तीनपाटन गाउँपालिका–११ स्थित लाम्पान्टार बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संख्या कम छ । डेढ सय विद्यार्थी क्याम्पस आउँछन् । उनीहरूका नतिजाप्रति क्याम्पस प्रमुख अनन्तराज श्रेष्ठ कत्ति पनि खुसी छैनन् । “चित्त बुझाउने ठाउँ नै छैन,” उनले भने, “अहिले क्याम्पसको नतिजा हेर्दा हामी सबैको समयमात्रै बर्बाद भइरहेको छ । हुन त यसमा हाम्रो पनि कमजोरी छ ।”

विद्यालयको नतिजा खस्कनुमा उनी अध्यापन पद्धति र शिक्षकको नै दोष देख्छन् । “हामी पनि समयअनुसार चल्न सकेनौँ । परम्परागत रुपमा नै विद्यार्थीहरूलाई घोकन्ते शिक्षा नै लादिरहेका छौं,” उनले भने ।

जिल्लामा रहेका १६ सामुदायिक क्याम्पसको समस्या एउटै छ । सामुदायिक विद्यालयसँगै सञ्चालनमा रहेका क्याम्पसहरूलाई आर्थिक समस्या नभए पनि विद्यार्थी नपाउनु जस्ता समस्या झेलिरहेका छन् । पब्लिक क्याम्पस प्रध्यापक संघका अध्यक्ष अर्जुन पौडेल शुद्ध क्याम्पस मात्रै सञ्चालन गरिरहेका क्याम्पसहरू आर्थिक संकटमा रहेको बताउँछन् । “विद्यार्थीहरू प्राविधिक शिक्षातर्फ गइरहेका छन् । अब क्रमश? सामुदायिक क्याम्पसमा विद्यार्थीहरू घट्दै छन्,” पौडेलले भने, “राम्रा विद्यार्थीहरू प्राविधिक पढ्छन्, नभए पनि जिल्ला बाहिर जान्छन् । विद्यार्थीभन्दा क्याम्पस पनि धेरै भयो ।”

उनका अनुसार सामुदायिक क्याम्पसमा अध्ययन गर्ने अधिकांश बी ग्रेडभन्दा तलका विद्यार्थी छन् । त्यस्ता कमजोर विद्यार्थीहरूबाट ल्याएको नतिजा के सन्तोषजनक हुनु ?” उनले भने, “खस्कँदो नतिजाले पनि विद्यार्थीको आकर्षण घट्दै छ ।”

यता जिल्लाकै एकमात्र आंगिक क्याम्पस मरिण प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट सम्बन्धन प्राप्त क्याम्पस हो । २ वर्षदेखि सञ्चालनमा रहेको यो क्याम्पसमा पहिलो र दोस्रो ब्याज गरी ८९ जना विद्याार्थीहरू अध्ययनरत छन् । पहिलो वर्षको नतिजा हेर्दा सन्तोषनक देखिन्छ । ९७ प्रतिशत विद्यार्थी उतिर्ण भएको तथ्यांक छ ।आजको कारोवारमा खवर छ ।

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६