• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

मरेको भनेर गाड्नै लागेको बच्चा जिउँदै भएपछि

प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६

सिन्धुली साैगात संवाददाता

जाजरकोट छेरागाड नगरपालिका–९ की कमला अधिकारी शुक्रबार बिहान भेरी अञ्चल अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन ।

बच्चाको जन्मसँगै उनी निकै खुसि भएकी उनको खुसी धेरै बेर रहेन । केही समय पछि लेवर वार्डकी डिउटी इन्चार्ज बसुन्धरा ज्ञवालीले शिशुको मृत्यु भइसकेको खबर सुनाउँदै अभिभावकलाई बच्चा बुझ्न लगाएकी थिइन ।

त्यसअघि बच्चाका बुबा मिलन अधिकारीलाई बच्चा मेरेको भन्ने कागजमा साइन गराइयो । मिलन भन्छन “तपाईंको बच्चा मरिसकेको छ भन्दै बसुन्धरा ज्ञवालीले लैजान भन्नुभयो,” ।

कर्मचारीले मिलनसँग २ हजार रुपैयाँ मागे । तर, मिलनले अस्वीकार गरे र बच्चालाई कालो प्लास्टिकको झोलामा बेरेर नेपालगञ्जको बुलबुलियास्थित हिन्दु मसानघाट पुगका थिए ।

गाड्नका लागि बच्चाको साइजअनुसारको खाल्डो खनियो । गाड्ने बेलामा मसानघाटकी कर्मचारी कलावती नेपालीले एकपटक बच्चालाई हेर्ने बताइन् । त्यसपछि उनले बच्चाको नारी छामेर अनुहार नियालिन् । ‘बच्चा जिउँदै छ, कसले भन्यो मर्यो भनेर ?’ उनले यति भन्नसाथ मिलनले पुनः बच्चालाई तुरुन्तै भेरी अस्पताल नेपालगञ्ज पुर्याए । बच्चाको उपचार अहिले भइरहेको छ ।

मृत्यु भइसकेको घोषणा गरिएको नवजात शिसु जीवतै भेटिएको यो घटनामा लेवर वार्डमा खटिएका कर्मचारीको चरम लापरवाही देखिएको छ । मर्दै नमरेको बच्चालाई मर्यो भनेर पञ्छाउन खोज्ने कर्मचारीले चित्तबुझ्दो जबाफ दिन नसकेको शिशुका आफन्तले बताएका छन् ।

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

तर, भेरी अस्पताल नर्सिङ प्रशासन प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले शिसु मरेको भनेर अस्पतालले प्रमाणित नगरेको दाबी गरिन ।

शिशुका बुबा मिलनले भने अस्पतालले आफूलाई बच्चा मरेको व्यहोरा उल्लेखित कागजातमा हस्ताक्षर र औंठा छाप गर्न लगाएको बताएका छन ।